यौन शोषणले कङ्गाल बने हलिउडका शक्तिशाली निर्माता हार्वी

फरक धार

१९ फागुन २०७४, शनिबार

काठमाडाैं/ हलिउडका शक्तिशाली निर्माता मानिने हार्वी वाइन्स्टीन कङ्गाल हुने अवस्थामा पुगेका छन् ।

“द न्युयोर्क स्टुडीयो”को सह-संस्थापक समेत रहेका हार्वीले आफैलाई कङ्गाल घोषणा गर्ने फैसला गरेका हुन् । अन्तर्राष्ट्रिय मिडियमा प्रकाशित समाचार अनुसार उनले एक लगानीकर्ता समुहलाई आफ्नो सम्पत्ति बेच्ने प्रयास गरेका थिए । तर उनको उक्त प्रयास विफल भएको छ ।

दुई हप्ता अगाडी मात्रै उनको कम्पनी माथि न्युयोर्कको अदालतमा मुद्धा दायर गरिएको थियो । उनी माथि दर्जनौँ यौन शोषणका आरोप लगाईएका छन् । तर उनले आरोपहरुको खण्डन गर्दै आईरहेका छन् । कम्पनी बिरुद्ध दायर गरिएको मुद्धामा वाइन्स्टीनले धेरै बर्ष देखि आफ्नी महिला सहकर्मीलाई यौन शोषण गर्दै आएको र उनलाई हत्या गर्ने धम्कि समेत दिएको आरोप लगाईएको छ ।

उनका भाई रोबर्ट सहित कम्पनीका वरिष्ठ अधिकारीले उक्त यौन शोषण रोक्न कुनै कदम नचालेको आरोप लगाईएको छ । हार्वीले यौन शोषण गरेको प्रमाण थाहा पाएर पनि कुनै कारवाही नगरेको अरोप उनीहरुमाथि लगाईएको छ । न्युयोर्क अटर्नी जनरलले आरोपको पुष्टि भएमा पीडित महिलालाई जसरी पनि न्याय दिलाउने बताएका छन् । तर वाइनस्टीनका एक वकिलका अनुसार निष्पक्ष अनुसन्धानबाट हार्वी माथि लगाईएका आरोपहरु प्रमाणीत हुनै नसक्ने दाबी गर्दै आएका छन् ।

वाइनस्टीनको यौन शोषणको फेहरिस्त गत वर्ष अक्टुबरमा द न्युयोर्क टाईम्समा प्रकाशित भएपछि उनले गरेका यौन शोषणको श्रृङ्खलाहरु सार्वजनिक भएका थिए । उनीमाथी ८४ भन्दा धेरै महिलालाई यौन शोषण गरेको आरोप छ । आरोप लगाउनेहरुमा हलिउडका प्रसिद्ध अभिनेत्री पनि सामेल छन् ।

उनी बिरुद्ध जोली, ग्वीनेथ प्लात्रोव र जेनीफर लरेन्स जस्ता कयौँ अभिनेत्रीले यौन शोषणको आरोप लगाएका छन् । भारतीय अभिनेत्री ऐश्वर्या रायसँग पनि उनले एक्लै भेट्न चाहेको रायका म्यानेजरले खुलासा गरेका छन् । यस्ता आरोपहरु सार्वजनिक भए पछि उनको कम्पनीको निर्देशकीय टोलीले उनलाई कम्पनीबाट निकाला गरेको थियो । उनी बिरुद्ध अमेरिका र बेलायतको प्रहरीले जाँच गरिरहे पनि अझैसम्म कुनै पनि अपराधिक मुद्धा भने दर्ता गरेको छैन् ।

वाइनस्टीन हलिउडका चर्चित सिनेमा निर्माता हुन् । ६५ वर्षिय वाइनस्टीन पल्प फिक्शन र क्लक्र्स जस्ता चर्चित सिनेमा उत्पादन गर्ने कम्पनी मीरा म्याक्सका सह संस्थापक पनि हुन् । उनले ‘शेक्सपियर इन लव’ सिनेमाको लागि ओस्कार अवार्ड पनि हात पारेका छन् । उनलाई सन् २००४ मा बेलायती राजपरिवारको तर्फबाट प्रदान गरिने अर्डर अफ द ब्रिटिश एम्पाएर(सीबीई)को उपाधी पनि प्रदान गरिएको थियो ।

दुई विवाह गरेका वाइनस्टीनको पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भईसको छ । दोस्रो श्रीमती ४१ बर्षिया अभिनेत्री एवंम फेसन डिजाईनर जर्जीना चेपमेनले पनि उनलाई छाड्ने घोषण गरिसकेकी छिन् ।

आरोपहरु

एम्बेर एन्ड्रेसन :- गत अक्टोबर १६ मा एम्बेरले इन्स्टाग्राममा पोष्ट गर्दै लेखिन् “उनले मेरो हात समाएर आफ्नो तिघ्रामा राख्न खोजे ।”

लेस्ट्री एन्थनी :- द सन्डे टाईम्सका अनुसार वाइनस्टीले १९८० को अन्त तिर एन्थनीकै घरमा उनको बलात्कार गरेका थिए ।

एसिया अरेगेन्टो :- यी इटालीयन अभिनेत्रीले द न्युयोर्करलाई दिएको अन्तर्वार्तामा वाइनस्टीनले फ्रान्सको एक होटलमा जबर्जस्ती मुख मैथुन गर्न लगाएको आरोप लगाएकी छिन् ।

एन्जेलिना जोली :- टाईम्स सँगको कुराकानीमा जोलीले वाइनस्टीनले होटल रुममा बस्नको लागि दिएको एड्भान्स फिर्ता गरेको बताएकी छिन् । यतिखेर उनि २३ बर्षकी थिईन् । उनको ‘प्लेइङ बाई हर्ट’ नामक सिनेम सार्वजनीक हुँदै थियो । यो सिनेमा वाइनस्टीन सह संस्थापक रहेका कम्पनी मिराम्याक्सले वितरण गरेको थियो ।

उनीमाथि यस्ता ८४ वटा विभिन्न आरोपहरु लागेका छन् । वाइनस्टीनका यी कर्तुतहरु बाहिरीएसँगै हलिउड सिनेमा क्षेत्रमा कार्यरत महिलाहरुले ‘टाइम्स अप’ नामक नयाँ अभियान संञ्चालन गरेका छन् । न्युयोर्क टाइम्समा एक पेजको विज्ञापन गर्दै भनिएको छ, ‘मनोरञ्जन जगतका महिलाको तर्फबाट हरेक क्षेत्रमा रहेका महिलाको परिवर्तनका लागि एकजुट हुन अपिल गरिन्छ ।’

वाइनस्टीनको यौन शोषणको बारेमा लगातार बाहिरीरहेका समाचारले विश्वभरका महिला अधिकारकर्मी आक्रोशित भएका छन् । यो अभियानमा हालसम्म एक करोड ३० लाख अमेरिकी डलर जम्मा भईसकेको छ । यो रकम औद्योगिक र मनोरञ्जनको क्षेत्रमा उत्पिडनमा परेका महिला तथा पुरुषको कानूनी सहयोगका लागि प्रयोग गरीने बताईएको छ ।

यससँगै गत वर्ष टाइम म्यागेजिनले ‘मि टु ह्यास ट्याग’का अभियन्तालाई ‘द साईलेन्स ब्रेकर’को उपमा दिँदै वर्ष व्यक्ति घोषण गरेपछि संसार भर यौन उत्पिडन र शोषणमा परेकाहरु आफ्नो शोषणको बारेमा खुलेर सामाजिक सञ्जालमा लेख्न थालेका छन् । सन् २०१७ को अक्टोबर र डिसेम्बरको बीचमा मात्रै ‘मि टु ह्यास ट्याग’ फेसबुक र ट्विटरमा ६० लाख भन्दा धेरै पटक प्रयोग भएको बताईन्छ ।

-एजेन्सीकाे सहयाेगमा

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार