कोमल वलीलाई सन्तोष लामाका प्रश्न

शिखर घिमिरे

१९ फागुन २०७४, शनिबार

कहिलेकांही योजना नबनाइएका कुराहरु नै बढी रमाइला हुँदा रहेछन् । अकस्मात् र आश्चर्यजनक लाग्न सक्ने त्यस्ता केही संयोगले नयाँ कामको थालनी चाहिँ हुनसक्दो रहेछ ।

यो ‘सेलेब्रिटीसँग सेलेब्रिटी’ स्तम्भ पनि त्यही आकस्मिकताले जन्माएको एउटा फरक प्रारम्भ हो । लामो तयारीविना बुधबार अपत्यारिलो ढंगमा यो स्तम्भको जन्म भयो । र, यसको श्रेय जान्छ, राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वली र गायक सन्तोष लामालाई ।

उहाँहरु दुईको बुधबारको भेट एउटा ‘को–इन्सिडेन्ट’ थियो । फरकधारडटकमको न्युजरुममा कोमल दिदीलाई देखेपछि मेरो लामो समयदेखिका निकटका मित्र सन्तोष अचम्ममा पर्नुभयो । किनकि सन्तोषजी ‘बाटो परेकाले’ फरकधारको न्युजरुमसम्म आउनु भएको थियो ।

त्यसको केही मिनेटअघि मात्र उहाँको र मेरो फोन सम्पर्क भएको थियो–

‘सर, एकैछिन बाहिर निस्किनु न ।’

‘होइन सर, अफिसमै आउनु न, एकछिन बसौँ ।’

‘अफिस अगाडि नै छु, कफी खान जाऔँ अनि फर्किऔंला ।’

‘आउनु पहिले, अनि कफीका लागि निस्कौँला ।’

यो संवादमा मैले अफिसमा ‘कोमल दिदी पनि हुनुहुन्छ’ भन्ने जानकारी सन्तोषजीलाई दिइनँ । त्यसैले पनि हुनुपर्छ, सन्तोषजीले कोमल दिदीलाई अफिसमा ‘एक्सपेक्ट’ गर्ने कुरै भएन ।

‘ओहो दिदी,’ देख्नेवित्तिकै सन्तोषजी आश्चर्यमा पर्नुभयो, ‘नमस्कार, अनि बधाई छ दिदी ।’

‘लौ सन्तोष, बस । धन्यवाद,’ कोमल दिदीले लामालाई सोध्नुभयो, ‘के छ तिम्रो खबर ? के गर्दै छौ आजभोलि ?’

‘यसै दिदी,’ सन्तोषजीले आफ्नै ठट्यौली पारामा जवाफ दिनुभयो, ‘त्यस्तो केही गर्न सकेको छैन ।’

हामी यति बेला कोमल दिदीको एउटा सानो ‘सट’ लिन तयारी गरिरहेका थियौँ । क्यामेरा तयार भइसकेको थियो । त्यसैले, हामी ‘एक्सन कट’तिर लाग्यौँ, सन्तोषजी–कोमल दिदीबीचको वार्ता कतै नपुगि सकियो ।

एउटा छोटो ‘प्रोमो’ ‘सुट’ भएपछि सन्तोषजीलाई अनुरोध गरेँ– तपाईं अब क्यामेराअगाडि जानुहोस् ।

‘लौ, क्या फँसियो,’ सन्तोषजीले आफ्नो पुरानै शैलीमा ठट्टा गर्नु भयो । यो पनि अत्यन्त सानो ‘टेक’ थियो, २–४ मिनेटमा नै सकियो ।

त्यसपछि कोमल दिदी र सन्तोषजीबीच २०७२ सालमा गएको भूकम्पपछि रसुवा, गोरखा, नुवाकोटलगायतका जिल्लामा एउटै टोलीमा रहेर कार्यक्रममा गएको प्रसंग निस्कियो ।

‘ती दिनका बात’ सकिएको छनक दिएजस्तै सन्तोषजीले कोमल दिदीलाई सोध्नुभयो– तपाईं त राजनीतिमा लाग्नुभयो दिदी, अहिले त निकै व्यस्त हुनु हुँदो हो?

कोमल दिदीलाई यो प्रश्नको जवाफ दिन दिइनँ मैले ।

क्यामेरमा रहेका रोशन भाइलाई ल रेकर्ड गरौँ भनेँ । अनि सन्तोषजीलाई फेरि अनुरोध गरेँ– अघिकै प्रश्न सोध्नुस् त प्लिज ।

सन्तोषजी क्यामेरातर्फ हेरेर के सोध्न खोज्दै हुनुहुन्थ्यो, मैले फेरि रोकेँ । यो त एउटा कार्यक्रमको एपिसोड नै हो । कार्यक्रमको नाम– सेलेब्रिटीसँग सेलेब्रिटी ।

ल, सन्तोषजी सुरु गर्नुस् । त्यसपछि सुरु भयो, सन्तोषजी र कोमल दिदीबीचको कुराकानी । सन्तोषजीको पहिलो प्रश्न सुरु गर्दा नगर्दै म सुटिङ भइरहेको रुमबाट बाहिर निस्किएँ । त्यसपछि यो स्तम्भको पहिलो अन्तर्वार्ता मैले पनि भिडियोमा नै हेरेँ :

 

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार