[अन्तर्वार्ता] मन्दीर उद्‌घाटनमा जान्नँ, नीति बनाउँछु, एक्सनमा उत्रन्छु: पर्यटनमन्त्री अधिकारी

फरक धार

१७ जेठ २०७५, बिहीबार

अहिले सर्वाधिक चर्चामा रहेका मन्त्रीमध्ये एक हुन्, संस्कृति, पर्यटन तथा उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी । अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टासम्म सुचारु मात्र गरेनन्, वर्षौसम्म उडान नभएर थन्किएका विमानस्थलमा पनि उडान सुरु गरिदिए । आन्तरिक उडानमा उनी आक्रामक भएर काम गरिरहेका छन् । तर, यही विषयलाई लिएर उनको ‘आलोचना’ पनि सुनिँदै आएको छ । केही दिनअघि अधिकारीले आफू मन्त्री भएपछि १०० दिनका काम तथा योजना सार्वजनिक गरे । सिर्जनात्मक आलोचना र सटिक टिप्पणीका कारण मन्त्री हुनुभन्दा पहिले नै चासो र अपेक्षा बटुलिसकेका अधिकारीसँग फरक धारका शिखर घिमिरेरोशन सिग्देलले गरेको कुराकानीः

निर्वाचनमा जाँदा जेजस्ता प्रतिबद्धता भएका थिए, जनताले ती प्रतिबद्धता अनुभूत गर्न पाएका छैनन् । तर, सरकारले सय दिनका उपलब्धिमा निकै धेरै विषय समावेश गरेको छ । सरकारले यी सय दिनमा साँच्चिकै आशानुरुप काम गरेको हाे र ? 
खासमा सरकारले सय दिनमा नै सबै काम सक्ने होइन । त्यो सम्भव पनि हुँदैन । तर, सरकारले अबका दिनमा कसरी काम गर्छ भन्ने छनक सय दिनमा दिनसक्छ, यो सरकारले पनि दिएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको यो सरकारले केही गर्छ भन्ने जनताले विश्वास लिनु भएको छ र सरकारले पनि जनताको अपेक्षाअनुसार नै काम गरेको छ ।

यी सय दिनलाई मूल्यांकन गर्ने हो भने जनतामा सरकारले सुशासन कायम गर्छ, समृद्धिको यात्रामा देश बढ्छ भन्ने विश्वास छ । त्यो आशा यी सय दिनमा झन् बलियो भएको छ । भौतिक पूर्वाधारका कामबाट होस् या सामाजिक न्याय दिएर होस्, वैदेशिक लगानी भित्र्याउने हिसाबले होस् या देशमा उत्पादन बढाउने कुरामा होस्, सबै कुरामा सरकारले ठूलो फड्को मार्ने संकेत यी सय दिनमा मिलेको छ । त्यसैले, सरकारले यी दिनमा काम गरेन भन्न सकिँदैन ।

 

तर, जुनदेखि केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिनुभयो, त्यो दिनदेखि केहीअघिसम्म बालुवाटारमा सरकारका कामबारे डिस्कसन गर्ने, नीति बनाउने भन्दा पनि पार्टी एकतामा नै फोकस्ड मिटिङ बढी भए । अहिले पनि एकोहोरो सरकार आफ्ना कुरा राख्छ, न जनताका कुरा सुनिएको आभास भएको छ । आलोचना सुन्नै नसक्ने सरकार हो जस्तो लाग्दालाग्दै पनि जनताले यो सरकारले केही गर्छ भनेर विश्वास चाहिँ गर्नैपर्ने ?
यसलाई नकार्नु हुँदैन, बालुवाटारमा सुरुमा पार्टी एकताका सन्दर्भमा मिटिङहरु भए । तर, बिर्सनु पनि के हुँदैन भने हामीले हाम्रो घोषणा पत्रमा पनि निर्वाचनलगत्तै पार्टी एकता गर्ने भनेका थियौँ । हाम्रो राजनीतिक अन्योल र अस्थिरता चिर्न बलियो वाम शक्ति हुनुपर्छ, बलियो कम्युनिस्ट पार्टी हुनुपर्छ, बलियो सरकार हुनपर्छ भन्ने कुरामा त जनता निर्वाचनमा नै कन्भिन्स्ड भएको निर्वाचन परिणामले देखायो । जनताले दिएको त्यही म्यान्डेटअनुरुप पार्टी एकता एउटा महत्वपूर्ण काम थियो, त्यो भयो ।

तर, त्यसका लागि मात्रै बालुवाटार प्रयोग भएको चाहिँ होइन । बालुवाटार र सिंहदरबारमा हामीले पार्टी एकताबाहेक हाम्रा मन्त्रालय कसरी अगाडि बढाउने, सरकारका कामहरु कसरी बढाउने, पोलिसी कसरी बनाउने, कुन मन्त्रालयले के कुरालाई फोकस गर्ने, विगतमा भएका कमीकमजोरी कसरी सच्याएर आउने बाटो तय गर्ने भन्ने सन्दर्भमा पनि व्यापक छलफल भएका छन्, प्रशस्त गृहकार्य भएका छन् ।

यति हुँदहुँदै पनि पार्टी एकटा राष्ट्रिय अजेन्डा भएकाले दुई पार्टीको मिलनबारे थोरबहुत चर्चा चल्यो, चल्नु पनि पथ्र्यो ।

 

त्यसो हो भने, तपाईं अहिले आफू सम्मिलित यो सरकारका सय दिनलाई नम्बर दिनुपर्यो भने १० मा कति नम्बर दिनुहुन्छ ? किन ?
म त १० मा १० नै दिन्छु । किनकि जनताका जुन अपेक्षा थिए, हामीले ती अपेक्षा पुरा गरेका छौँ, जे काम गर्ने भनेका छौँ, त्यो गरेका छौँ । यो अवधिमा सकिने काम हामीले गरेका छौँ, केही त अझ बढी पनि गरेका छौँ, केही अब गर्दै जानेछौँ ।

 

अब तपाईंको मन्त्रालयमा आऔं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सन्चालन गर्नुभयो । जुन सहरमा नौ बजे होटल बन्द गर्न प्रहरी उर्दी जारी गर्छ, सार्वजनिक यातायात आठै बजे बन्द हुन्छन्, ट्याक्सीहरुको भाडादरमा मनोमानी छ, त्यो सहरमा २१ घन्टा विमानस्थल चलाउने कुरा अलिक असहज भएन र ? अनि फेरि राती काम गर्ने स्टाफहरुको तलबदेखि लिएर विमानस्थल सन्चालन खर्चका कारण यो कति फिजिबल छ ?
होइन, खासमा यो २१ घन्टा होइन, २४ घन्टा नै फिजिबल छ । बरु दुःखको कुरा अहिले विमानस्थल २४ सै घन्टा चलाउन सकिएन । २४ घन्टा विमानस्थल चलाउनुस्, विहान पाँच बजेदेखि हामी उडान भर्न तयार छौँ भन्ने एयरलाइन्स पनि छन् ।

अर्को कुरा, काठमाडौंको भिजिबिलिटी सबैभन्दा राम्रो विहान ४ बजेदेखि ९ बजेसम्मको समयमा रहेछ, त्यति बेला काठमाडौंमा कुहिरो देखिँदैन । फेरि हाम्रो विमानस्थलमा डोमेस्टिक पनि अन्तर्राष्ट्रिय पनि उडान भर्नु पर्ने छ । हेलिकोप्टर पनि यहीँ छन् ।

त्यसैले पनि हामी २१ घन्टाबाट २४ घन्टामा नपुगी सुखै छैन ।

अर्कोतिर हामीले अध्ययन गरेका छौँ, यसको इन्कमका हिसाबले पनि यो उपयुक्त नै छ । खर्च धान्न गाह्रो होला कि भन्ने त कुरै छाडौं, विमानस्थलले नाफा नै कमाउन पनि सक्छ ।

हो, २४ घन्टा सर्भिस दिँदा थोरै खर्च पनि बढ्छ । अझ रातीको समयको सर्भिस खर्चालु हुन्छ । तर, बिर्सनु हुँदैन खर्चसँगसँगै हामीले कस्ट कभर पनि सजिलै सक्छौँ ।

अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको ट्राफिक कम गर्नु हो, कन्जेसन घटाउनु हो, कुनै पनि विमान होल्ड हुनु भएन । त्यसैले यो समय बढाएका हौँ । कोही विहान, कोही दिउँसो, कोही राती चले भने न समयको व्यवस्थापन हुन्छ । हामीले यही हिसाबमा समय व्यवस्थापन मात्र गरेका हौँ, नत्र त हाम्रो आकाश जामैजामले भरिन्छ । यो सबै अध्ययन गर्दा हामी अब २४ घन्टा नै विमानस्थाल सुचारु गर्ने लक्ष्य लिएका छौँ ।

 

हो, खोलिदिअाैँ, चलाऔं भन्दा त विमानस्थाल चल्ला तर एउटा यात्री सुन्धारा, ठमेल, कलंकी र काठमाडौंका अन्य ठाउँबाट राती विमानस्थल कसरी पुग्ने वा विमानस्थलमा उत्रिएर गन्तव्य कसरी पुग्ने ? यस्ता कुराको प्लानिङ नभइ विमानस्थलमात्र चलाउनुले फाइदा होला ?
अहिले तत्कालका लागि विमानस्थलमा प्रिपेड ट्याक्सीको व्यवस्था हामीले गरेका छौँ । प्रिपेड ट्याक्सीहरु २१ घन्टा नै विमानस्थालमा उपलब्ध छन् । हो, उनीहरुले पनि केही बदमासी गरे भने, केही कमजोरी देखियो भने हामीलाई गुनासो गर्नुहोस् । तत्काल कार्यान्वयनमा गएर समस्या समाधान गर्न म प्रतिबद्ध छु ।

अर्को कुरा, हामीले काठमाडौंजस्ता सहरहरु राती १/२ बजेसम्म पनि चलाउन सक्नुपर्छ, खोल्नु पर्छ ।

संसारमा त्यस्तो कुनै देश विकसित छैन जहाँको वर्किङ आउर दिनमा ७/८ घन्टामात्र हुन्छ । हामी अहिले पनि त्यही वर्किङ आउरमा छौँ, बढीमा ८ घन्टा हामी काम गरिरहेका छौँ । अब यो परिवर्तन गर्नुपर्छ । एक सिफ्टको कामले कुनै पनि देश विकास भएको छैन । कम्तिमा तीन सिफ्टमा काम सुरु गर्न थाल्ने हो भने हाम्रो देश पनि विकासको यात्रामा अगाडि बढ्छ । कतिपय अपरेसनल काम हामीले पनि चार सिफ्ट गरेर २४ सैं घन्टा गर्न सक्छौँ ।

अनि पो देश बन्छ ।

त्यसैले अब काठमाडौंलाई राती पनि जागा बनाउनुपर्छ, त्यसका लागि कामहरु भएका छन् । जस्तो, हाम्रै मन्त्रालय अहिले हाम्रा सम्पदाहरु राती आठ बजेसम्म घुम्नका लागि खोल्ने योजनामा काम गरिरहेको छ । हामी त्यस्ता ठाउँहरुमा लाइटको व्यवस्थापन गर्दै छौँ, त्यहाँको सुरक्षाको विषयमा काम गरिरहेका छौँ । अब कम्तिमा पनि काठमाडौंमा नेपालीको वर्किङ आउर बढाउनु पर्छ । जबसम्म हाम्रो वर्किङ आउर धेरै हुँदैन, तबसम्म देश धनी हुन सक्दैन ।

 

चर्चा त अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा चलाएर भन्दा पनि जहाँजहाँ पुग्नुहुन्छ, त्यहाँत्यहाँ विमानस्थल चलाउँछु भनेर पनि पाइरहनु भएको छ नि ?
होइन, मैले त्यस्तो कहाँ भनेको छु ?

मैले त तीन ठाउँमा मात्र प्रतिबद्धता जनाएको थिएँ । ती तिनै ठाउँमा काम भएका छन् । राजविराज चलाउँछु भनेको थिएँ, चलाएँ । साँफेबगर निर्माण गर्छु भनेको थिएँ, त्यो पनि भएको छ । अब त्यहाँ पनि चल्छ ।

अनि अर्को, नागीडाँडा । नागीडाँडा अहिलेका लागि सबैभन्दा आवश्यक विमानस्थल पनि हो । अहिले त्रिभुवन विमानस्थलमा डोमेस्टिक, हेलिकोप्टर सबै छन् ।

अब एउटै हाइवेमा रिक्सा, साइकल, टेम्पु, ट्याक्सी, कार, जिप, भ्यान, बस, ट्रक हिँड्न थाल्यो भने त्यो हाइवे रहिँरहँदैन । नेचरका हिसाबले पनि र त्यसको कार्यशैलीका कारणले पनि ।

त्यसैले अहिले त्रिभुवन विमानस्थलको पनि त्यस्तै सबै साधन चल्ने हाइवेको जस्तो हालत छ । अनि हामीले काठमाडौंबाट नजिक पर्ने सबैभन्दा उपयुक्त ठाउँ नागीडाँडा खोजेका हौँ । त्यो मात्रै बन्दा पनि अहिले ठूलो परिवर्तन देखिन्छ, विकास हुन्छ, काठमाडौंमा एयर ट्राफिक कम हुन्छ, कन्जेसन कम हुन्छ ।

हामीले त्रिभुवन विमानस्थल नै काभ्रे सार्न खोजेका त होइनौँ नि, माउन्टेन फ्लाइट, हेलिकोप्टर, पूर्वी पहाडतिर जाने विमान र अन्य केही डोमेस्टिक विमानलाई त्यहाँ लगियो भने यताको चाप घट्छ भन्ने न हो ।

अहिलेसम्म देशमा एउटा पनि जहाज नचल्ने ठाउँमा त विमानस्थल बनेका छन्, भने नागीडाँडा त्यस्तो होइन । फेरि यो ठाउँबाट काठमाडौंको कनेक्सन पनि सहज छ, त्यसैले त्यहाँ लगानी गर्न लागेको हो । जहाँ आवश्यक छ, त्यहाँ लगानी त गर्न पाउनु पर्यो नि ।

 

हिजो त्यसै भनेर बनाइएका दर्जनभन्दा बढी विमानस्थल अहिले बन्द छन्, तपाईंले बनाएको यो विमानस्थल पनि बनिसकेको पाँच/सात वर्षमा बन्द नहोला भन्ने के आधार छ र ?
खासमा यो अध्ययनको विषय हो, किन पहिले विमानस्थाल हचुवाका आधारमा बनाइए, अनि बन्द भए ?

किन अहिलेसम्म हामीले राजविराज विमानस्थल २२ वर्षदेखि बन्द भएको विषयमा सोच्दैनौँ ? किन विमानस्थल बन्द भए भन्ने कुरामा हामीले यसअघि ध्यान किन दिएनौँ ? के विमानस्थल भनेको काठमाडौंमा मात्र चाहिने कुरा हो ?

होइन, म के कुरामा क्लियर छु भने जहाँ विमानस्थल चाहिँदैन, त्यहाँ नचलाऔँ । तर, जहाँ आवश्यक छ, त्यहाँ चलाउनै पर्छ । हेर्नुस्, अतिआवश्यक केही ठाउँमा हाम्रा विमान नपुग्नुको कारण हाम्रा एयरलाइन्स काठमाडौं केन्द्रीत हुनु हो । अब एयरलाइन्सहरुलाई पनि डिसेन्ट्रलाइज गर्नुपर्छ, त्यही अवधारणामा चलाउनु पर्छ ।

अब विमानहरु भैरहवा, नेपालगन्ज, पोखराजस्ता ठाउँमा राख्नुपर्छ । विराटनगरमा १ जुनदेखि बुद्ध एयरले नाइट स्टे गर्दै छ । सिता र अरु एयरले नेपालगन्जमा स्टे गर्दै छन्, बुद्ध र यतिले पोखरामा स्टे गर्दै छन् । त्यसपछि हामी अन्तरप्रादेशिक संरचनामा पनि विमानहरु उडाउनेमा केन्द्रीत हुनेछौँ । अहिले भरतपुरबाट पोखरा उडान छ, अब पोखराबाट विराटनगर पनि उडान भएको छ । यसरी प्रदेश टु प्रदेश उडान गर्न सक्ने हो भने यो क्षेत्रमा विकास छिटो हुन्छ ।

हामीले त राष्ट्रिय प्लान बनाएर आवश्यकतालाई अध्ययन गरेर विमानस्थलबारे काम गर्दै छौँ, हचुवाको आधारमा होइन । मैले त बरु जहाँ पायो त्यहीँ विमानस्थल बन्नबाट रोकेको छु, त्यसैले जहाँ गए पनि विमानस्थल बनाउँछु भनेको छैन ।

हेर्नुस्, म अर्थशास्त्र र व्यवस्थापनको विद्यार्थी भएकाले नाताले पनि यो कुरामा सिरियस छु । मलाई थाहा छ, कतिपय ठाउँमा विमानस्थल सन्चालन अप्ठ्यारो होला तर त्यस्ता ठाउँमा राज्यले सब्सिडी दिएर पनि विमान लैजानु पर्छ । किनकि जहाँ बाटो पुगेको छैन, स्थलमार्ग सहज छैन, त्यहाँका जनताका लागि हवाइ यात्रा बाध्यता हुन्छ, आवश्यकता हुन्छ । बाटो नभएकैले र जहाज पनि नहुँदा कोही व्यक्ति कुनै पनि ठाउँमा बिरामी पर्यो भने उपचार नपाउन सक्छ, उसका लागि बाध्यताको हिसाबमा पनि त विमानस्थल चाहियो ।

 

अर्कोतिर, के नेपालीहरुको पर्चेजिङ पावर यति धेरै बढिसकेको छ कि उनीहरु विमानमा यात्रा गर्न सकुन् ? यतातिर पनि तपाईंहरुको अध्ययन भएको होला ?
यो खासमा पर्चेजिङ वा एक्सपेन्स क्षमताका आधारमा मात्र हुँदैन, आवश्यकता पनि हुन्छ । अब कहिलेकांही कोही बिरामी होला, उसलाई अस्पतालसम्म पुग्न सहयोग गर्नका लागि पनि विमान चाहिन्छ । अर्को, सुविधाको कुरा पनि हुन्छ । त्यसैले पनि एकपटक जहाज पुगिसकेको ठाउँमा फेरि जहाज पुग्दा देश नै बर्बाद भयो भन्ने तर्क सुहाउँदैन ।

फेरि केही ठाउँमा जहाज लैजाँदा हुने खर्चलाई व्यवस्थापन पनि सहजै गर्न सकिन्छ । किनकि एक ठाउँमा कमाउने हो र अर्को ठाउँमा सेवा सुविधा दिने हो । विराटनगर, पोखरा वा लुक्लाबाट कमाउन सकिन्छ, अनि डोल्पामा थोरै खर्च गर्न सकिन्छ । यही आधारमा पनि एयरलाइन्स कम्पनीहरुले काम गर्दा देशकै भलो हुन्छ, सबै क्षेत्रमा विकासको लहर समान रुपमा पुग्छ ।

 

तपाईं त उड्ड्यन मात्र होइन, संस्कृति र पर्यटन मन्त्री पनि हुनुहुन्छ । तर, किन यति धेरै विमानस्थलकै पछाडि मात्र लागिरहनु भएको छ ? सम्पदा, पर्यटनका क्षेत्रमा चाहिँ कहिलेदेखि काम सुरु गर्नुहुन्छ ?
वास्तवमा भन्ने हो भने मैले सबैभन्दा धेरै काम नै सम्पदा र संस्कृतिको क्षेत्रमा गरेको छु । मैले जिम्मेवारी सम्हालेको यो छोटो समयमा कामको रिजल्ट पनि यीनै दुई क्षेत्रमा धेरै आएको छ ।

तर, अहिले समस्या उड्ड्यनको क्षेत्रमा थियो, त्यसैले त्यसको चर्चा बढी भयो । हाम्रो एयर ट्राफिक बढी थियो, त्यसको चर्चा बढी भयो । उड्ड्यनमा अनेकौं समस्या थिए, त्यसलाई मानिसहरुले बढी वाच गरिरहेका थिए, त्यसले मानिसहरुलाई बढी छोयो ।

तर, मैले हाम्रा सम्पदाको पुनर्निर्माणमा पनि काम गरिरहेको छु, टुरिजमको सेक्टरमा पनि राम्रो काम भएको छ, हामीले योजना बनाएका छौँ र अगाडि बढिरहेका नै छौँ । एउटा उदाहरणकै रुपमा पर्यटक भित्र्याउने कुरामा हामी काम गरिरहेका छौँ, त्यसलाई भिजन बनाएर, लक्ष्य बनाएर अगाडि बढेका छौँ ।

 

तपाईंले भनेजस्तो १५ लाख पर्यटक भित्र्याउन सम्भव छ त ?
कागजमा मात्र १५ लाख हो, मनमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ र त्यो सम्भव छ ।

 

नम्बर अफ टुरिस्टमात्र ठूलो कुरा हो कि खर्च गर्नसक्ने ‘क्वालिटी’ टुरिस्टमा पनि ध्यान दिनुपर्छ ?
हो, हामीले मास टुरिस्ट ल्याएर मात्र पनि हुँदैन । हामीले क्वालिटी टुरिस्ट ल्याउनै पर्छ । क्वालिटी टुरिस्ट मात्रै भएर पनि हामीलाई पुग्दैन, मास टुरिस्ट पनि फेरि चाहिन्छ ।

अहिले हामी विराटनगर र नेपालगन्जबाट छिमेकी देश भारतमा उडान भर्ने तयारी गरिरहेका छौँ, एयर रुटको कुरा भइरहेका छ । त्यसैले पर्यटक आउने ठाउँमा अन्य सेवासुविधाबारे पनि हामी सचेत छौँ ।

अब पर्यटकहरुलाई रारा ताल, खप्तड लैजाने योजनामा हामी काम गरिरहेका छौँ, नैनीताल र कर्णाली जोड्न खोजिरहेका छौँ । त्यसैले, हाइसाउन्डिङ कुरा अर्कै हुन्छ, प्यारलल्ली क्वालिटी र मास टुरिस्ट भित्र्याउनु नै अहिलेको आवश्यकता हुन्छ ।

तर, सँगसँगै के ख्याल पनि गर्नुपर्छ भने क्वालिटी टुरिस्टलाई नेपालका कुन कुन ठाउँ लैजान सकिन्छ त ? आज क्वालिटी टुरिस्ट आउँदा हाम्रा होटल तथा अन्य पूर्वाधारहरु कुन स्तरका छन् भन्ने पनि ख्याल गर्नुपर्छ ।

अहिले पर्यटकका लागि काठमाडौं, पोखर र चितवन मात्रै चर्चामा छन् । अब विस्तारै लुम्बिनी, नेपालगन्जतिर पनि पर्यटकको फ्लो बढाउन हामी काम गरिरहेका छौँ । त्यसपछि एभरेष्टका लागि गृहकार्य गर्ने छौँ । यी ठाउँहरुमा हामीले पूर्वाधार विकास गर्न सक्यौँ भने वास्तवमै राम्रो हुन्छ ।

र, पूर्वाधारहरु निर्माणका लागि मैले मन्त्री भइसकेपछि धेरै जनालाई इनकरेज गरिरहेको छु । अब ठूलो आशा बनाएर हामी गएका छौँ, अगाडि बढ्ने छौँ ।

 

सम्पदा, पुनर्निर्माणको कुरा आउँदा सबैले सम्झिने धरहरा चाहिँ कहिलेसम्म बनिसक्छ ?
धरहरा निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अबको पाँच वर्षभित्र धरहरा बनिसकेको हुन्छ । अझ भनौँ, पाँच वर्ष नै लाग्दैन, ३ वर्षमा धरहरा रेडी हुन्छ । अहिले बोलपत्र आह्वान भएको छ, कस्ता कम्पनी आउँछन्, कन्ट्र्याक्ट कोसँग हुन्छ त्यसपछि म ठ्याक्कै यो मितिमा धरहरा बनिसक्छ भन्न सक्छु ।

 

अहिले तत्कालका लागि तपाईंले गर्नुभएका कामहरुको फेहरिस्त केही अघि सार्वजनिक गर्नुभयो । यी सर्ट टर्म प्लान र काम भए, अबको पाँच वर्षपछि तपाईंले यी सबै क्षेत्रमा के–के परिवर्तन गरेर देखाउँदै हुनुहुन्छ ?
पाँच वर्षमा थुप्रै काम हुनेछन् । त्रिभुवन विमानस्थलमा पार्क निर्माण हुनेछ, प्यारलल ट्याक्सी वे र पार्किङ, आयल निगमको भण्डारण अन्डर ग्राउन्ड हुनेछ ।

भैरहवा एयरपोर्ट चलिरहेको हुनेछ । पोखर एयरपोर्टबाट उडानहरु भइरहेका हुनेछन् । निजगढ पनि सकिनै लाग्यो है भन्ने समाचारहरु आउने छन् । नागीडाँडा पनि सन्चालन हुनेछ ।

अब टुरिजमको सेक्टरमा नेपालमा २०–२५ लाख पर्यटक आइसकेका हुनेछन् । पर्यटकका लागि नयाँ गन्तव्यहरु पहिचान भएर त्यहाँ पर्यटकहरु पुगेका हुनेछन् । पश्चिम नेपालमा नयाँ डेस्टिनेसनको खोजी हुनेछ, त्यही अनुरुप ती ठाउँहरुमा पूर्वाधारको विकास पनि हुनेछ ।
भूकम्पले भत्काएका सबै सम्पदाहरु पूर्ण रुपमा बनिसकेका हुनेछन् । राष्ट्रिय संग्राहलयको विकास सोचेभन्दा राम्रो हुनेछ ।

सबैभन्दा महत्वपूर्ण कुरा त नेपालको जिडिपीमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने सोचका साथ अगाडि बढेका छौँ, कम्तिमा पनि १० प्रतिशत चाहिँ हासिल हुन्छ भन्नेमा पनि ढुक्क छौँ । अहिले त नेपालको जिडिपीमा यसको कन्ट्रिब्युसन नै छैन । हुन त डब्लूटीले यसको योगदान ८ प्रतिशत भनेको छ, तर हाम्रै तथ्याङ्क हेर्ने हो भने अहिले जिडिपीमा ३ प्रतिशतमात्र योगदान छ । पाँच वर्षमा त्यसलाई २५ प्रतिशत पुर्याउने प्रयास अत्यन्त धेरै हुनेछ ।

पाँच वर्षमा नेपालमा वर्षेनी ५० लाख पर्यटक भित्र्याउने लक्ष्य पनि मिट हुन्छ । हुन त नेपालमा ५० लाख पर्यटक ल्याउँछु भन्दा मान्छेहरु उडाउँछन् । तर, फेरि लाओस्, कम्बोडिया गएर नेपालमा ५० लाख पर्यटक ल्याउने कुरा गर्ने हो भने उनीहरु पनि उडाउँछन् । यताकाले कहाँ सकिन्छ भन्छन्, उताकाले नेपालजस्तो देशमा जम्मा पचास लाख भन्छन् !

 

यी त तपाईंका योजना भए । तर, अहिले मन्त्री भएपछि तपाईं एयरपोर्ट अनुगमन गर्न गएको, एक्सनमा मात्र बढी फोकस भएको भन्दै आलोचना पनि व्यापक हुन्छ नि ? अन्य मन्त्रीहरुबारे पनि यस्तै कुरा उठेको हुन्छ । संघीय सरकारको एउटा मन्त्रीले फिल्डमा गएर याक्सनमा उत्रिने कि नीति बनाएर कार्यान्वयन पक्षमा जोड दिने ?
मेरो सन्दर्भमा कुरा गर्नुपर्दा पहिला संघीय सरकारको क्षेत्रबारे बुझ्नुपर्छ । एभियसन त आखिर संघीय सरकारको क्षेत्रभित्रकै कुरा हो नि । न यो प्रदेश सरकारको हो, न स्थानीय सरकारको । जब यो मेरो सरकारको क्षेत्र हो भने म नगएर फिल्डमा को जाने त ?

अब संस्कृतिको कुरा गर्दा म कुनै स्थानीय निकायमा बन्न लागेको मन्दीरको उद्‌घाटन गर्न त पुगेको छैन नि ? हो, त्यो पनि मेरो जिम्मेवारी हो तर स्थानीय सरकारको क्षेत्रमा मेरो हस्तक्षेप हुँदैन । म मन्दीर उद्‌घाटनमा जान्नँ, तर नीति मात्र बनाएर पनि बस्दिनँ, एक्सनमा पनि उत्रिन्छु ।

मलाई थाहा छ, सबैभन्दा पहिले सिस्टमले काम गर्ने बनाउनु पर्छ । तर, जब म पब्लिकका कुरा सुन्छु, त्यसलाई कार्यान्वयन नगरी पनि सक्दिनँ, नहेरी चुपचाप बस्न पनि सक्दिनँ ।

यसमा केही उदाहरण छन् । जस्तो, त्रिभुवन विमानस्थलको डोमेस्टिक सेक्सनमा फिजिकल्ली पनि अहिले धेरै परिवर्तन आएका छन्, त्यो म त्यहाँ गएकाले मात्र सम्भव भएको हो । अर्को, हाम्रो इमिग्रेसनमा नेपालीले भरिरहेको फर्म भर्न नै नपर्ने रहेछ, मलाई ट्विटरमा मेन्सन आएपछि त्योबारे मैले बुझेँ, अहिले भर्न नपर्ने त्यो फर्म नेपाली नागरिकले भर्नै पर्दैन । अब यो कुरा म आफैं नलागेको भए थाहा हुने थिएन ।

जस्तो त्रिभुवन विमानस्थलको ट्राफिक म्यानेजमेन्ट खासमा मेरो काम होइन, तर राम्रै होला, छिटो होला भनेर म त्यो काममा पनि इन्भल्भ भएँ, त्यो काम पनि गरेँ । यसले चेन्ज ल्यायो, मलाई त्यहाँका कर्मचारी र अन्य मानिसहरुले पनि यो चेन्जको कुरा गर्नु भएको छ । परिवर्तन र सुधारका लागि म उपस्थित हुँदा फिल्डमा गएर याक्सनमा उत्रिने काम गर्नु पनि नराम्रो हो भन्ने लाग्दैन ।

तर, यसको अर्थ के होइन भने मैले नीति नै बनाएको छैन । म नीति पनि बनाइरहेको छु, एयरपोर्ट पोलिसी बनाइरहेको छु, बिजनेस प्लानिङमा काम गरिरहेको छु । नागरिक उड्ड्यन प्राधिकरणलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा काम गरिरहेको छु । एनएसीको विकासमा लागिरहेको छु, त्यसका लागि पनि योजना बनाएको छु ।

हो, नीतिगत कुरामा लागिरहेको छु भनेर म फिल्ड एक्सनमा नजान चाहिँ सक्दिनँ किनकि त्यसो गर्यो भने काम गरेको देखिँदैन । एकैपटक पोलिसी मेकिङमा र एक्सनमा लाग्नु त झन् राम्रो हो । तर म के कुरामा विश्वस्त छु भने मैले बनाएका यी प्लान र पोलिसी सबै मन्त्रालय तथा साथीहरुको सपोर्टमा मात्र सफल हुन्छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार