अब हामी खोल्छौँ ‘असली’ कम्युनिस्ट पार्टी

फरक धार

१९ फागुन २०७४, शनिबार

अब हेर्नुस् त, एमाले–माओवादी नेताका डफ्फा हेर्दा कसले कम्युनिष्ट पार्टीको आकार देख्छ ? नेपालका दलाल पुँजीपति भन्दा त्यो डफ्फा कुन आधारमा फरक छ ?अबको युगमा चाहिने समाजवादी क्रान्ति भनेको भूमण्डलीकृत पुँजीवादको ध्वंससँगै वैज्ञानिक समाजवादको समानान्तर निर्माणको कार्यदिशा लागु गर्नु हो । हामी ध्वंस र निर्माण दुवैको कार्यदिशामा हुन्छौँ ।

एमालेसँग एकता प्रक्रियामा रहेको माओवादी केन्द्रले यो प्रक्रियामा असहयोग गरेको भन्दै तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुति’ र लोकेन्द्र विष्ट मगरलाई पार्टीबाट निष्कासन गर्यो । तर, यी तीनै नेताले केहीअघि देखि नै पार्टी परित्याग गरेको सार्वजनिक गरिसकेका थिए । आखिर किन उनीहरुले पार्टी परित्याग गर्ने घोषणा गरे र अब के गर्छन् ? यही विषयमा आहुतिसँग शिखर घिमिरेले गरेको अन्तर्वार्ता :
फेसबुकमा तपाईंले केही अघि ‘मैले माओवादी छोडेँ’ लेख्नुभयो, तर पार्टीले हिजोमात्र तपाईंलगायत तीन नेतालाई कारबाही गरेको विज्ञप्ति निकाल्यो । खासमा तपाईंले माओवादी छोड्नु भएको हो कि माओवादीले तपाईंलाई छाडेको हो ?

माओवादीको अवसान भयो भन्ने कुरा मैले २१ मंसिरमा नै भनेको हुँ । जब माओवादी केन्द्रले एमालेसँग एकता गर्ने घोषणा ग¥यो, ऊ आफ्नो मूल्यमान्यता, ऐतिहासिकता र सैद्धान्तिक दृष्टिकोणबाट पनि विसर्जन भयो । पार्टी विसर्जन भएको निष्कर्षमा पुगेपछि म स्वतः त्यो जत्थाबाट अलग्गिएँ, मैले सम्बन्धविच्छेद गरेँ ।

कम्युनिष्ट पार्टी भनेको विचारको आधारमा चल्ने पार्टी हो । जब कम्युनिष्ट पार्टी विचारबाट विमुख हुन्छ, उसको पतन सुरु भइहाल्छ । लिएका मूल्यमान्यता र विचारबाट च्यूत भएकाले त्यो पुरानो पार्टी माओवादी केन्द्र अब कुनै पार्टी रहिरहेन, विसर्जन भइसक्यो । त्यसैले त्यो पार्टीका नेताहरुसँग मैले सम्बन्धविच्छेद गरिसकेँ । अब मैले छोडिसकेको पार्टीले कोसँग के गर्छ, कसलाई के गर्छ त्यो मेरो चासोको विषय नै होइन ।

 

तपाईं त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकै नजिक हुनुहुन्थ्यो । यो सम्बन्धविच्छेद हुँदा उहाँसँग भलाकुसारी भयो होला नि ?
होइन, भएन । मैले पनि फोन गरिनँ, उहाँले पनि गर्नु भएन ।

 

त्यसो भने अब के तपाईं राजनीति छोड्नुहुन्छ ? कि नयाँ पार्टी खोल्नुहुन्छ ?
हो । अब कम्युनिष्ट आन्दोलन त चलाउनै पर्छ । नयाँ पार्टी खोल्छौँ ।

 

अब विश्व आर्टिफिसियल इन्टिलिजेन्स (एआइ)मा काम गर्न थालिसकेको छ । यस्तो अवस्थामा नेपालमा जहाँ कम्युनिष्ट पार्टीहरु ‘खासै’ सफल भएका छैनन्, तपाईं नयाँ पार्टी खोल्छु भन्नुहुन्छ । त्यसको के सान्दर्भिकता होला र?
पहिलो कुरा, नेपालमा कम्युनिष्ट आन्दोलन असफल भएका छैनन् । तपाईं उदाहरणकै लागि २००६ साललाई लिन सक्नुहुन्छ । २००६ सालमा कम्युनिष्ट पार्टी हुँदैन थियो भने नेपालको सामन्तवाद विरुद्धको संघर्ष आज यहाँसम्म आई पुग्ने थिएन । कम्युनिष्ट आन्दलोलनकै कारण हामी यहाँसम्म आइपुगेका हौँ, त्यसैले नयाँ पार्टी खोल्न कम्युनिष्ट आन्दोलन विफल हुन्छन् भन्ने कुरा हुँदैन । त्यसमाथि, नेपालका सबै परिवर्तनमा कम्युनिष्ट पार्टीको भूमिका अहम् नै छ ।

दोस्रो कुरा, अबको क्रान्तिकारी आन्दोलन अगाडि बढाउन आजको युगअनुसारको पार्टी चाहिन्छ । विचारको संश्लेषण पनि आजको युग अनुसार गर्न सक्नुपर्ने हुन्छ । कार्यनीति र रणनीति पनि त्यही ढंगले विकास गर्नुपर्छ ।

तर, माओवादी पार्टी टुक्रिएर विभाजन भइरहँदा ती विभाजनहरुले माओवादीलाई एउटै ठाउँमा घुमाइरहेको मात्र हो । त्यसैले पनि माओवादी आन्दोलनको पुनर्गठन सम्भव छैन । जुन आन्दोलन यही समाजमा जन्मियो, हुर्कियो, बढ्यो र अब विसर्जन भयो, त्यसको अब पनि फेरि कुनै अस्तित्व रहन्न, त्यो सकियो । अब त्यसलाई पुनर्गठन गर्न सकिँदैन । त्यसैले अब नयाँ पार्टी बनाउनै पर्छ । पुरानो आन्दोलनबाट आवश्यक सन्दर्भ लिएर नयाँ चिराबाट क्रान्ति सुरु गर्नुपर्छ ।

 

एकातिर तपाईं यसो भन्नुहुन्छ, अर्कोतिर माओवादी र एमाले मिलेर नयाँ वाम दल बनाउँदै छन् । ठूलो दलको अगाडि अब तपाईंले खोल्न लागेको अर्को कम्युनिष्ट पार्टीको के अर्थ होला र ?
अब एमालेसँग माओवादी केन्द्र मिलेर बनेको नयाँ पार्टी पनि कम्युनिष्ट पार्टी रहिरहन्छ र भन्या ? कसले पत्याउने यस्तो कुरा । हो, उनीहरुको संख्या धेरै छ धेरै, प्रतिनिधिसभा र सरकारमा उसको प्रतिनिधित्व होला ।

तर, इतिहासमा हामीले यसो गरौँ, उसो गरौँ भन्दै कामहरुको फेहरिस्त बनाउँदैमा कुनै पार्टी पनि कम्युनिष्ट पार्टी रहिरहँदैन । अब हेर्नुस् त, ती दुई पार्टीका नेताका डफ्फा हेर्दा कसले कम्युनिष्ट पार्टीको आकार देख्छ ? नेपालका दलाल पुँजीपति भन्दा त्यो डफ्फा कुन आधारमा फरक छ ? राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा आत्मसर्मपण गर्ने, देशभित्रै विदेशी बोलाएर आत्मसर्मपण गर्नेहरु, सरकार बनाउन पनि आफै निर्णय गर्न नसक्नेहरुले दुनियाँका अगाडि हामी कम्युनिष्ट हौँ भने भन्दैमा कसले पत्याउँछ र ?

त्यसमाथि उहाँहरु आफैंले भनिसक्नु भएको छ– अब बन्ने पार्टी कम्युनिष्ट पार्टी होइन ।

 

त्यसो भने अहिले आतंक सिर्जना गरिरहेको विप्लव समूह कम्युनिष्ट पार्टी हो ? के तपाईंहरु विप्लव समूहमा मिसिँदै त हुनुहुन्न ?
हेर्नुस्, व्यक्ति विशेषबारे मैले बोल्नु हुँदैन । तर, के हो भने उहाँहरुको दस्तावेज हेर्दा उहाँहरुले पनि अजाको युग अनुसारको कम्युनिष्ट आन्दोलन गर्ने कार्यदिशा तय गर्नु भएको देखिँदैन ।

अब उहाँहरुसँग मिल्ने कुरा । अहिलेसम्म उहाँहरुसँग छलफल भएको त छैन । तर, असम्भव भन्ने कुरा पनि केही छैन । हामी हाम्रो कार्यदिशाका साथ संश्लेषण गर्दैछौँ, दस्तावेज तयार पार्दै छौँ । त्यसलाई लिएर हामी आम जनता र बुद्धिजिवीबीचमा जानेछौँ, छलफल चलाउनेछौँ । अनि के परिणाम आउनेछ, त्यो सबैले देख्नु हुनेछ ।

 

कि उता वैद्य समूहसँग मिल्नुहुन्छ त ? कि बाबुराम भट्टराईसँग जोडिन जानुहुन्छ ?
हेर्नुस्, वैद्य समूहको रणनीति नै नयाँ जनवादीक्रान्ति भन्ने छ । त्यसैले उहाँहरु पुरानै ठाउँमा हुनुहुन्छ, उहाँहरुसँग मेल हुन अलिक गाह्रै पर्ला ।

अब बाबुरामजीले त माक्र्सवाद नै छोड्नु भयो । उहाँले आफैं घोषणा गर्नुभयो । त्यसैले त्यो पार्टी र कांग्रेसबीच कुनै भिन्नता नै छैन ।

 

अहिले हामीकहाँ माक्र्सवादी पार्टीहरुको संख्या पनि उत्तिकै धेरै छ । कतिसम्म भने अब माक्र्सवादी पार्टी खोल्दा ‘सक्कली माक्र्सवादी पार्टी’ भन्नुसमेत पर्ला । माक्र्सको निधन भएको १ सय ३५ वर्षपछि यसको सान्दर्भिकता नेपालमा होला र ?
हो, हाम्रो समाज परिवर्तन भएको छ तर यो परिवर्तित समाजमा माक्र्सका सिद्धान्तहरु झन् धेरै सान्दर्भिक भएका छन् । ‘पुँजीवादले श्रम शोषणको अन्त्य गर्न सक्दैन’ भनेर माक्र्सले भनेका थिए, त्यो त आज सही सावित भएको छ । केही विज्ञान–प्रविधिमा आएका परिवर्तन, उत्पादनमा आएका परिवर्तन र विश्व पुँजीवादले लिएका अनेकन नितीहरुको कारणले क्रान्तिहरु अलमलिएका, ढिला भएका, तुहिएका पनि छन् । कम्युनिष्ट पार्टीले नै थुप्रै गल्ती पनि गरेका छन् । तर, यी सबै केही घटना हुन्, सन्दर्भ हुन् ।

मुख्य कुरा त माक्र्सवाद पद्धती विज्ञान हो । समाजमा वर्गहरु रहेसम्म वर्गसंघर्ष अनिवार्य रहन्छ । संसारभर अहिले पनि श्रमिक वर्गको विशाल हिस्सा जिविकाको निम्ती संघर्षरत छ । पुँजीवादले यसको समाधान दिन सकेन ।

विकसित भनिएका देशहरुले नै प्रकृतिलाई ध्वस्त पार्दै छन्, मानव जातिलाई अप्ठेरोमा पार्दै छन् । उनीहरुको विकासले संसार ध्वस्त हुँदै छ । त्यो सबै विकास औंलामा गन्न सकिने पुँजीपतिहरुका लागि मात्र हो ।

तपाई तथ्यांक नै हेर्नुस्, अहिले पनि ६ हजार मान्छेसँग विश्वभरको ८० प्रतिशत सम्पति छ । यो विश्वमा पुँजीवादले के दियो त ? केही पनि छैन ।

यस अर्थमा हेर्दा माक्र्सवादको सान्र्दभिकता त झन् बढेको छ । अहिलेको चुनौति भनेको आजको युग अनुसारको रणनीति निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने हो । हामी यो रणनीति निर्माणमा लाग्नु पर्छ ।

 

एकातिर माओवादीबाट उछिट्टिएका, माक्र्सवाद अंगिकार गर्छौ भन्नेहरु समाजमा विध्वंस मच्चाइरहेका छन् । अर्कोतिर फेरि तपाईं यस्तै खाले अर्को पार्टी खोल्छु भन्नुहुन्छ ? अब जनता झन् त्रसित हुनु पर्ने भयो हो ?

हेर्नुस्, केही संगठनहरुले अहिले पनि हिजैका जस्ता क्रियाकलाप दोहोर्याइरहेका छन् । यो पुरानो तरिका हो, जुन प्रचण्ड नेतृत्वको पार्टीले पनि गरेको थियो ।

अबको युगमा चाहिने समाजवादी क्रान्ति भनेको भूमण्डलीकृत पुँजीवादको ध्वंससँगै वैज्ञानिक समाजवादको समानान्तर निर्माणको कार्यदिशा लागु गर्नु हो । हामी ध्वंस र निर्माण दुवैको कार्यदिशामा हुन्छौँ । नेपालको हकमा भन्दा दलाल पुँजीवादको ध्वंसिकरणको प्रक्रियासँगै समानान्तर रुपमा समाजवादी व्यवस्था निर्माणको पक्रिया सुरु गरिनु हो । यो नेपाली कम्युनिष्ट आन्दोलनका लागि नयाँ कार्यदिशा र प्रयोग हुन्छ भन्ने हाम्रो ठहर छ ।

 

अनि अब खोल्ने तपाईंको दल पाँच बर्षपछि हुने निर्वाचनमा सहभागि हुन्छ कि हुँदैन ?
हामीले अझै सम्पूर्ण कार्यदिशा निर्माण गरिसकेका छैनौ । हामीले भन्न खोजेको के हो भने संसारमा पुँजीवादी संसदीय व्यवस्थाले निर्माण गरेको साँचोभित्र पसेर कम्न्युष्टहरुले त्यसलाई आंशिक रुपमा उपयोग गर्न सक्ने सम्म त सफलता मिलेको देखिन्छ, तर सिंगै राज्यसत्ता बदलिएको इतिहास छैन । पुँजीवादी संसदीय व्यवस्था भित्रको चुनावको बारेमा पनि आजका कम्युनिष्ट क्रान्तिकारीहरुले नयाँ तरिकाले संश्लेषण गर्नुपर्छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार