नरेन्द्र मोदीको हत्या योजना ! भारतीय गृहमन्त्रालयमा आन्तरिक समीक्षा, पाँच पक्राउ

फरक धार

३० जेठ २०७५, बुधबार

प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना बनाएको विषय मंगलबार अबेर भारतीय मिडिया र सामाजिक सन्जालमा व्यापक चर्चामा रह्यो । तर, यसबारे अत्यन्त कम जानकारी प्राप्त भएको छ जसलाई आधिकारिक मान्न सकिन्छ ।

भारतीय प्रहरीले यो योजना बनाएको आरोपमा केही व्यक्तिहरुलाई पक्राउ गरेको छ । उनीहरुबाट एउटा चिठी बरामद गरिएको छ जसमा मोदीको हत्याको योजना बनाएको उल्लेख छ । यो चिठी भारतीय कम्युनिष्ट पार्टी (माओवादी)ले सर्कुलर गरेको अनुमान छ ।

यसले भारतीय राजनीतिमा पनि ठूलो हंगामा पैदा गरेको छ । भारतीय जनता पार्टी र विपक्षी पार्टीले एकअर्कालाई राजनीति गरेको आरोप लगाएका छन् । तर, उनीहरुले पनि यसबारे खासै धेरै जानकारी बाहिर दिएका छैनन् ।

दिल्लीमा सोमबार मोदीमाथि माओवादी हमलाको षडयन्त्रबारे केन्द्रीत भएर गृह मन्त्रालयले आन्तरिक सुरक्षाको समीक्षा पनि गरेको थियो ।
भारतीय प्रहरीले गिरफ्तार गरेका व्यक्तिहरुलाई माओवादीका सम्पर्क सूत्र तथा उनीहरुको सहरी नेटवर्कका सहयोगी भनिएको छ । उनीहरुले मोदी हत्याको योजना तयार पारेको अनुमान भारतीय प्रहरीको छ ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, गृहसचिव, जासुसी संस्थाका प्रमुख तथा माओवादी हिंसाबाट प्रभावित क्षेत्रका प्रहरीसँग सोमबार नै लामो बैठक गरेको खुलासा भएको छ । यो बैठक माओवादी विरोधी अभियान चलाउने योजना बनाएको भारतीय मिडियामा उल्लेख छ ।

प्रहरीले छानबिनको क्रममा एल्गार परिषद्का नेताको इमेल पनि जाँच गरेको र त्यहाँ पनि मोदीको हत्या योजना बनाएको खुलेको बताएको छ । प्रहरीको दाबी अनुसार इमेलमा राजीव गान्धी हत्याकान्डजस्तै प्रधानमन्त्री मोदीमाथि पनि आक्रमण गर्ने योजना इमेलमा आदनप्रदान भएको थियो । पुणे प्रहरीका अनुसार यो इमेल कमरेड प्रकाश नाम भएका माओवादी नेतालाई एम नामबाट आएको थियो ।

यो पुरै मुद्दामा पाँच विभिन्न व्यक्तिलाई विभिन्न ठाउँबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले यो गिरफ्तारीबाट माओवादीको सहरी सन्जालबारे धेरै खुलासा भएको दाबी गरेको छ ।

प्रक्राउ पर्नेमा सुधीर ढवले, शोमा सेन, सुरेन्द्र गडलिङ्ग, महेश राउत र रोना विल्सन छन् ।

पक्राउ परेका ढवले दलित अधिकारका लागि संघर्षरत थिए, उनी मराठी पत्रिका विद्रोहीका सम्पादक पनि हुन् । प्रहरीले उनलाई माओवादीको सहरी सन्जालको प्रमुख व्यक्ति भएको आरोप लगाएको छ ।

त्यस्तै, शोमा सेन अंग्रेजीकी प्रोफेसर हुन् । उनलाई प्रहरीले नागपुरबाट पक्राउ गरेको हो । उनका पति तुषार भट्टाचार्यलाई अघिल्लो वर्ष नै प्रहरीले पक्राउ गरेको थियो । सेनमाथि प्रहरीले माओवादीलाई समर्थन र सहयोग गरेको आरोप लगाएको छ ।

पक्राउ परेका सुरेन्द्र गडलिङ्ग पेसाले वकिल हुन् । पुणे प्रहरीले सुरेन्द्रले माओवादीलाई कानुनी सहयोग मात्र गर्ने नभएर उनी माओवादी सहरी सन्जालका महत्वपूर्ण सदस्य भएको आरोप लगाएको छ ।

पक्राउ परेका अर्का व्यक्ति रोना विल्सन पनि माओवादीको सहरी सम्पर्क सुत्रका विशेष व्यक्ति भएको प्रहरीले आरोप लगाएको छ । उनलाई दिल्ली विश्वविद्यालयका प्रोफेसर जिएन साईबाबाका सहयोगी भनिएको छ । जिएनलाई यसअघि नै माओवादी भएको आरोपमा प्रहरले प्रक्राउ गरिसकेको थियो ।

यी गिरफ्तारी र प्रहरीले छापा मारेपछि रिपब्लिकन पार्टी अफ इन्डियाका नेता तथा केन्द्रीय मन्त्री रामदास अठावलेले दलित कार्यकर्तालाई माओवादी भनेर गिरफ्तार गरिनु गलत भएको बताएका छन् । उनले प्रधानमन्त्रीले यो मुद्दामा हस्तक्षेप गर्नु पर्ने माग पनि राखेका छन् ।

अठावलेको यो भनाइपछि भारतीय कांग्रेसका प्रवक्ताले यसको चर्को आलोचना गरेका छन् । सामाजिक सन्जाल ट्विटरमा उनले लेखेका छन्, ‘को झुठ बोलिरहेको छ ? मन्त्री कि महाराष्ट्रको सरकार ?’

राष्ट्रवादी कांग्रेस पार्टीका नेता शरद पवारले पनि प्रगतिशिल कार्यकर्तालाई माओवादी आरोपमा पक्राउ गरेर फसाइएको अभिव्यक्ति दिएका छन् ।

उनलाई महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले जवाफ दिएका छन्, ‘शरद पवार राजनीति गरिरहेका छन् ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार