नेपाली साहित्य अतिवादी सोचको शिकार भएको छ

फरक धार

१९ फागुन २०७४, शनिबार

कविता लेख्नु एकपटक एउटा रेखामा हिड्नु जस्तै हो । तर उपन्यास लेखन एकैपटक धेरै रेखाहरुमा हिड्नु रहेछ ।

वैचारिक रुपमा समान लेखकहरु एक समूहमा हुनु नराम्रो मान्दिनँ, तर आफ्नो विचार इतरका सबै लेखकहरुको अस्तित्व स्वीकार नगर्नु चाहिँ डरलाग्दो कुरा लाग्छ । नेपाली साहित्य पछिल्लो समय यस्तै अतिवादी सोचको शिकार भएको छ ।

नेपाली साहित्यिक वृत्तमा अहिलेकी ‘टक अफ दी टाउन’ हुन्– सरस्वती प्रतीक्षा । पोखरामा रहेर नेपाली कवितामा कलम चलाइरहेकी प्रतीक्षाको पछिल्लो लेखन उपन्यास ‘नथिया’ अहिले चर्चामा छ । यही सेरोफेरोमा फरक धारले सरस्वतीसँग गरेको कुराकानी:

पछिल्लो समय उपन्यास नथिया लिएर आउनु भएको छ । पहिले कवितामा काम गरिरहेकी तपाईंलाई उपन्यास लेखन र कविता लेखनमा के भिन्नता लाग्यो, कस्तो महसुस भयो ?
पहिले अनुभव, अनुभूति, ज्ञान र चेतनाको दायरा सानो थियो । आफूले भन्नु पर्ने कुरा कवितामै अटाए जस्तो लाग्थ्यो । उमेरजन्य विकाससँगै आफ्ना अनुभव, अनुभुति बढ्दै गयो । चेतना बढ्दै गयो । बिस्तारै भन्नु पर्ने कुराको दायरा पनि बढ्दै गयो । आफूले भन्नु पर्ने कुराहरु कविताको क्यानभासमा अटाउदैन भन्ने लागेपछि कविताबाट उपन्यास तर्फ लागेकी हुँ । उपन्यासको क्यानभास कविताको भन्दा धेरै ठूलो हुनाले नै उपन्यासतर्फ लम्किएकी हुँ ।

कविता लेख्नु एकपटक एउटा रेखामा हिड्नु जस्तै हो । तर उपन्यास लेखन एकैपटक धेरै रेखाहरुमा हिड्नु रहेछ । कविता लेख्दा एकपटकमा एउटा मात्र तरंग समाते पुग्छ । उपन्यास लेख्न एकैपटक धेरै तरंगहरुलाई समात्ने धैर्यता र कला दुबै चाहिँदो रहेछ । तर विधा फरक भए पनि कविताको आफ्नै स्पेस हुन्छ र उपन्यासको आफ्नै । फरक लेखन प्रक्रियामा छ, तर दुबै विधाको ओज आ–आफ्नै खालको छ ।

 

पछिल्लो समय नेपाली उपन्यास लेखनको ट्रेन्ड कस्तो भइरहेको छ जस्तो लाग्छ ?
ठ्याक्कै एउटै यही ट्रेन्ड हो भन्न सकिने अवस्था नै छैन । यहाँ एकातिर कुमार नगरकोटी जस्ता सर्रियल लेखकहरुले पनि उपन्यास लेखिरहेका छन्, अर्कोतरि बुद्धिसागर जस्ता अति सामाजिक यथार्थवादी लेखकहरु वा राजन मुकारुङ जस्ता पहिचानवादी उपन्यासकारहरु पनि जमिरहेकै छन् । यी सबका बाबजुद एउटा कुरा चाहिँ सत्य हो, यतिबेला प्रयोगवादी उपन्यासहरु लगभग छँदै छैनन् भन्दा पनि हुन्छ । सरल सरस सामाजिक उपन्यासहरु नै बढी लेखिइरहेका पाइन्छन् ।

 

के तपाईं आफूले पाउनु भएका प्रतिक्रियाबाट खुसी हुनुहुन्छ ? प्रतिक्रियाले एउटा लेखकको लेखकीय जीवनमा कस्तो प्रभाव पार्ने रहेछ ? 
किताब निस्किएपछि तीन खालका प्रतिक्रिया पाएँ । पहिलो, जो किताब साँच्चै नै मन परेर बेहिसाब तारीफमा आइरहेछन् । त्यस्ता प्रतिक्रियाहरु पढेर आनन्दपूर्वक ग्रहण गरिरहेछु । केहीका संतुलनयुक्त आलोचनात्मक टीप्पणीहरु पनि आइरहेका छन्, जुन एक लेखकको रुपमा पाउनु मेरो लागि महत्वपूर्ण र दुर्लभ पूँजी पाउनु बराबर हो । त्यस्ता प्रतिक्रिया म गम्भीरतापूर्वक ग्रहण गरिरहेुछु ।

तर, केही यस्ता प्रतिक्रिया पनि छन्, जसको पहिलो वाक्य पढ्नासाथ पूर्वाग्रह ठ्वास्स गन्हाउँछ, रीस, जलनले लेखकमाथि खनिन र प्रायोजित रुपमै खोट देखाउन मात्र लेखिएका त्यस्ता प्रतिक्रियाहरु पढेर चाहिँ सुरुमा फिस्स हाँसिदिन्छु र ती ग्रहण गर्न योग्य छैनन् सोचेर धन्यवाद दिएर टारिदिन्छु ।

इमान्दार भएर भन्नु पर्दा मलाई आजकल न तारिफहरुले उति बिध्न छुन्छन्, न आलोचनाहरुले नै । तारिफले फुरुङ्ग हुने र आलोचनाले तिरमिराउने स्टेजबाट उहिल्यै माथि उक्लिसकेकी हुँ । मेरो शक्ति र सीमा मलाई भन्दा बढी अरु कसैलाई थाहा छैन भन्नेमा स्पष्ट छु । नजिकका साथीहरु मलाई तिमी मोक्षको नजिकनजिक पुग्यौ कि क्या हो भनेर पनि जिस्काउँछन् । फेरि पनि खुसी यस अर्थमा चाहिँ लागेको छ कि नथिया बजारमा आइसकेपछि पाठकहरुले यसलाई निकै स्वागत गरे । पाठकहरुमाझ किताब स्वीकृत भयो । नथिया स्वीकृत भयो । यस मानेमा खुसी छु ।

 

नेपाली उपन्यासमा पछिल्लो समय स्टोरी टेलिङ र भावुकतालाई बढी प्राथमिकता दिन थालिएको छ । के यसले नेपाली लेखन सस्टेनेबल बनाउँछ जस्तो लाग्छ ?
उपन्यास भन्नु एक अर्थमा स्टोरी टेलिङ नै हो , तर तपाईले सुनाइरहेको कथामा दम छ कि छैन, त्यो महत्वपूर्ण कुरा हो । तपाई कुनै मुद्दामाथि लेखिरहनु भएको छ भने पनि त्यो मुद्दालाई स्थापित गर्न तपाईसँग बलियो कथा हुनैपर्छ ।

यहाँनेर स्टोरी क्रिएट गर्ने कुरा उठ्न पनि सक्छ । म भन्छु– अहिलेको समय भनेको कथा उत्खनन्को समय हो । बाहिरबाट झट्ट हेर्दा देखिने कथा त जसले भन्दा पनि हुन्छ, तर भित्र गएर कथा खोतल्ने हिम्मत उपन्यासकारमा हुनुपर्छ । प्रयोगको नाममा काल्पनिक कथाहरुको उडान भर्न नपाइने होइन , तर काल्पनिक कथाको नाइटो कता न कता समाजको नाइटोसँग जोडिएकै हुनुपर्छ । नत्र त्यहाँ प्राण हुँदैन , नत्र त्यो बकम्फुसे शब्द विलास भन्दा बढी केही हुँदैन । भावुकताले मात्र लेखन सस्टेनेबल पक्कै हुँदैन ।

 

उपन्यासमा कल्पनाशीलता बढी आवश्यक हुन्छ कि कुनै एउटा घटनाको वर्णनलाई व्याख्या गरिदिँदा पनि हुन्छ जस्तो लाग्छ ?
सरासर घटनाको वर्णन वा व्याख्या मात्र गर्ने हो भने त पत्रकार बने भइहाल्ययो नि किन उपन्यासकारको जरुरत हुन्छ र त्यहाँ ? एउटा उपन्यासकारमा कुनै घटनालाई गह्रण गर्न सक्ने जति क्षमता हुन जरुरी छ, त्यसलाई पस्कन त्यति नै कल्पनाशीलता पनि चाहिन्छ । जति नै राम्रो धागो भए पनि बुन्ने कला छैन भने स्वेटर राम्रो बन्दैन । जति नै राम्रो कथा भए पनि लेखकसँग कल्पनाशीलता छैन भने ऊ त्यसको बुनोटमै चिप्लन्छ । लेखक हावी नहोस् , तर किताब पढिरहदा किताबमा लेखकको आफ्नै गन्ध आउनै पर्छ । लेखकको औरा हुनैपर्छ त्यहाँ । नत्र त कुनै किताब पढ्नु वा कुनै पत्रिकामा कुनै समाचार पढ्नुको बीचमा कुनै अन्तर नै हुँदैन ।

 

भनिन्छ– नेपाली साहित्यमा गुटहरुको राज छ, तपाईंलाई के लाग्छ ?
गुट हुनु आफैमा नराम्रो कुरा लाग्दैन , तर गुट स्वस्थ छ कि अस्वस्थ छ भन्ने कुरा चाहिँ सोचनीय कुरा हो । वैचारिक रुपमा समान लेखकहरु एक समूहमा हुनु नराम्रो मान्दिनँ, तर आफ्नो विचार इतरका सबै लेखकहरुको अस्तित्व स्वीकार नगर्नु चाहिँ डरलाग्दो कुरा लाग्छ । नेपाली साहित्य पछिल्लो समय यस्तै अतिवादी सोचको शिकार भएको छ । चार, पाँच जनाको समूह बनायो, प्रत्येक कार्यक्रममा सँगसँगै हिड्यो । एकले अर्कोको मात्र तारीफ गर्यो र बाँकी सबको आलोचना । यो खालको गुटबन्दीले लेखकलाई कही पु¥याउँदैन ।
यस्तोमा तपाईं कुन गुटको भन्ने प्रश्न गर्न सक्नुहुन्छ । मैले पहिले पनि भनेकै हुँ– मेरो गुटमा एउटा मात्र मान्छे छ र त्यो म आफैं हुँ ।

 

नथिया लेखेपछि के पाएँ जस्तो लाग्छ ? यो उपन्यास तपाईंले नलेखेको भए अरुले लेख्ने थिएनन् ?
साहित्यिक रुपमा उपलब्धिको लेखाजोखा समयले गर्ने नै छ । एक लेखकको रुपमा भने नथिया मेरो निम्ति किताब मात्र होइन, मेरो प्यासनको दस्तावेज पनि हो । लेखक बन्न मैले चुकाएका मूल्यहरुको क्षतिपूर्ति पनि हो । आफैंले आफैंलाई दिएको क्षतिपूर्ति । म चाहन्थेँ, उपन्यासकारको रुपमा जन्मिँदा आफ्नै अनुहार लिएर जन्मूँ, अनुहारविहीन नजन्मूँ । नथियाले मलाई केही दिएको छ भने त्यही अनुहार दिएको छ । यही विषयवस्तुमा त धेरैले लेख्थे होलान्, तर यही रुपमा नथिया चाहि लेखिन्थेन पक्कै ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार