दीपक विष्ट भन्छन्– मेसीसँग सेल्फी खिचेको डाइहार्ट फ्यान हुँ, यसपाली त अर्जेन्टिना नै हो च्याम्पियन !

फरक धार

३ असार २०७५, आइतबार

मेसीले जुन आत्मीयताका साथ मसँग फोटो खिच्न सहर्ष स्वीकार गरे, आफूले नबुझे पनि म बोलिरहँदा जसरी सुनिरहे, त्यसले मलाई निकै प्रभावित बनाएको हो । यसले म उनको सामन्य फ्यानबाट अपग्रेड भएँ, उनको डाइहार्ड फ्यान भएँ ।

सानैदेखि म फुटबलसँग नजिक भएँ । स्कुलमा पढ्दा स्कुलकै ग्राउन्डमा फुटबल खेलिन्थ्यो हामी । म स्कुले जीवनमा एउटा राम्रो स्कोरोर थिएँ । राम्रो डिफेन्स पनि थिएँ । ठूलो ज्यान परेकाले साथीहरु मलाई डिफेन्समा राख्न प्रिफर गर्थे । तर, म आफूलाई चाहिँ फर्वाडका रुपमा खेल्न मन लाग्थ्यो ।

हुन त हाम्रोमा फुटबलभन्दा धेरै भलिबलका खेल हुन्थे, तर फुटबलको क्रेज पनि कम थिएन ।

०४४/४५ सालको कुरा सम्झन्छु म । गाउँमा दशैंको रमझम सुरु भइसकेको थियो । त्यही दशैंको मौका मानेर गाउँमा गाउँ–गाउँबीच एउटा फुटबल प्रतियोगिता भयो । म पनि हाम्रो गाउँको एउटा टिममा पर्यो । अहिले पनि मलाई सम्झना छ, त्यो म्याचमा म फर्वाडमा थिएँ । फाइनलमा मेरो गोलको सहयोगले नै हाम्रो टिमले जितेको थियो । अनि पुरस्कारमा हामीले खसी पाएका थियौँ ।

तर, त्यस्ता प्रतियोगिताका लागि प्राक्टिस गर्दा हामीसँग साँच्चिकैको फुटबल हुँदैनथ्यो । हामी मोजाको बल लिएर खेल्न बाध्य हुन्थ्यौँ । पुरानो मोजामा कागज र थोत्रा कपडा हालेपछि गोलो बल बन्थ्यो ।

त्यही खेलेर हामी प्राक्टिस गथ्र्यौँ ।

पछि म तेक्वान्दोमा लागेँ । तेक्वान्दोको राष्ट्रिय टिममा परेपछि पनि मेरो फुटबल मोह भने कम भएन । फुटबललाई माया गर्ने भएकाले नै पनि तेक्वान्दोका साथीहरु मिलेर टिम बनाएर पनि हामी खेल्यौँ । त्यति बेला पनि निकै रमाइलो हुन्थ्यो ।

सन् २००८ को कुरा हो । नेपालको प्रतिनिधित्व गर्दै बेइजिङ ओलम्पिकका खेल्न म चीन गएको थिएँ । एक विहान हामी एउटा होटलमा थियौँ । खाना खान बसिरहेका थियौँ । खाना खाँदाखाँदै हामी बसेको होटलको अर्को टेबलमा आएर एउटा समूह बस्यो । बेइजिङ ओलम्पिकमा भाग लिन आएको कुनै टिम होला भन्ने भयो, वास्ता गरिएन । तर, केही बेरमा नै मलाई थाहा भयो– त्यो त अर्जेन्टिनाको फुटबल टिम पो रहेछ ।

अर्जेन्टिनाको फुटबलको म सधैं फ्यान थिएँ । महेन्द्रनगरमा आइए पढ्दादेखि नै फुटबल हेर्दा र विश्वकपको कुरा आउँदा मैले समर्थन गर्ने टिम भनेको नै अर्जेन्टिना हुन्थ्यो । त्यो समयमा अर्जेन्टिनाका म्यारोडना निकै चर्चामा थिएँ, उनी विश्व फुटबलका हिरो बनिसकेका थिए। मलाई पनि उनको खेलकौशल निकै मन पथ्र्यो ।

म तेक्वान्दोमा लागिसकेको थिइनँ, मलाई फुटबलमा भन्दा पनि बढी भलिबलमा चासो थियो । कहिलेकांही मात्र फुटबल खेले पनि अन्तर्राष्ट्रिय खेलहरु छुटाउन मन लाग्दैनथ्यो । अनि त्यस्ता खेलहरुमा म अर्जेन्टिनाको नै समर्थन गर्थेँ ।

बेइजिङको अर्को टेबलमा अर्जेन्टिनाकै टिमलाई देख्दा मेरो मन त्यसै पनि खुसी भयो । खासमा ओलम्पिकमा सबै खेलाडीलाई समान व्यवहार गरिने भएकाले हामी एउटै होटलको एउटै डाइनिङ एरियामा भेटिएका थियौँ ।

यो विहान १० बजेतिरको कुरा हो । हामी खाना खाँदै थियौँ । खाना खाँदाखाँदै अर्को टेबलमा अर्जेन्टिनाको टिम आएर बसेको थियो । उनीहरु पनि खाना खाने तयारीमा थिएँ ।

टिम अर्जेन्टिनालाई देखेपछि मेरा आँखाले मेसीलाई खोज्न थाले । मेसी चर्चामा आइसकेका थिए । तर, त्यो समूहमा मेसी थिएनन् । मलाई टिम अर्जेन्टिना देख्दा जति खुसी लाग्यो, त्यति नै मेसीलाई नदेख्दा मन निरास पनि भयो ।

मैले झट्ट सम्झिएँ– विश्वकप खेल्ने मेसी ओलम्पिक खेल्न नआएका होलान् ।

तर, मेरो सोचाइ गलत रहेछ । त्यहाँको अर्को कुनामा मेसी थिए । उनी त्यहाँ खाना खाँदै गरेको देखेँ ।

खासमा अर्जेन्टिनाको ठूलो समूहले उनलाई छेकेको रहेछ । मैले उनलाई देखेपछि छिटोछिटो खाना खाएँ । अनि उठेर सरासर उनी भएको ठाउँसम्म पुगेँ । उनी खाना खाइरहेका थिए । त्यो सकिँदासम्म मैले उनलाई कुरिरहेँ । त्यो कुराइमा मलाई डर पनि लागिरहेको थियो– कतै मेरो धैर्यता त टुट्ने होइन ?

उनी खाना खाइसकेपछि भाँडाहरु र फोहोर लिएर फोहोर फाल्ने ठाउँमा पुगे । म पनि उनको पछाडि गएँ ।

उनी नजिक पुगेपछि मैले भनेँ, ‘आइ योर बिग फ्यान, क्यान वी प्लिज टेक अ फोटो ?’

तस्वीर: फरक धार ।

‘ह्वाइ नट, ह्वाइ नट,’ उनले भने र फोटोका लागि तयार भए ।

फोटो खिच्ने काम सकिएपछि उनीसँग कुरा गर्न मन लाग्यो ।

‘आइ एम फ्रम नेपाल,’ मैले भनेँ ।

मलाई थाहा छैन उनलाई नेपालबारे केही थाहा थियो या थिएन । तर, उनले टाउकोमात्र हल्लाए । अनि मैले त्यो भेटमा उनलाई नेपालको झन्डा भएको ब्याज दिएँ ।

उनीमा त्यति बेला मैले जुन सद्भाव देखेँ, उनले मप्रति जुन माया देखाए, त्यसले मलाई निकै लोभ्यायो, प्रभावित बनायो ।

राम्रो खेलाडी शालीन पनि हुन्छ र उसले जस्तोसुकै अवस्थामा पनि राम्रो व्यवहार गर्छ भन्ने त्यो उदाहरण थियो । त्यसबाट मैले आफ्नो जीवनमा पनि निकै कुरा सिक्न पाएँ ।

उनले जुन आत्मीयताका साथ मसँग फोटो खिच्न सहर्ष स्वीकार गरे, आफूले नबुझे पनि म बोलिरहँदा जसरी सुनिरहे, त्यसले मलाई निकै प्रभावित बनाएको हो । फोटो खिचिसकेपछि उनले मेरा कुरामा पनि निकै चासो दिएको जस्तो गरे । यसले म उनको सामन्य फ्यानबाट अपग्रेड भएँ, उनको डाइहार्ड फ्यान भएँ ।

अहिले फुटबलको महाकुम्भ मेला विश्वकपले विश्व तातेको छ । त्यो टेम्पेरेचरले नेपाललाई पनि राम्रोसँग नै छोएको छ । देश यसैमा डुबेको छ ।

म पनि यसमा डुबेको छु । अनि मलाई विश्वास छ– यसपटक अर्जेन्टिनाले ट्रफी उचाल्ने छ । यसअघिको विश्वकपमा उसले जर्मनीसँग फाइनलमा हारेको थियो, त्यसको बदला लिन पनि अर्जेन्टिना अहिले रुस पुगेको हो ।

हो, यसअघि आरोप लाग्दै आएको छ– मेसीले क्लबका लागि जति खेल्छन्, त्यति देशका लागि खेल्दैनन् । यसलाई आरोप भन्दा पनि आलोचनाका रुपमा हामीले लिन सक्छौँ र यसपटक उनले देशका लागि पनि जादू देखाउने पूर्वानुमान गर्न सक्छौँ । उनकै पालामा अर्जेन्टिनाले विश्वकप जित्नेमा त्यसैले पनि म त निर्धक्क छु ।

आफूले सपोर्ट गरेको टिमले जितोस् भन्ने कामना कसले नगर्ला र !

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार