लोडसेडिङ नभएकाे भए नेपालको आर्थिक विकास ७ प्रतिशतले वृद्धि हुन्थ्योः विश्व बैंक

रोशन सिग्देल

१९ असार २०७५, मंगलवार

काठमाडौं– केही वर्षअघि धेरै नेपालीको घरमा एउटा तालिका टाँसिएको हुन्थ्यो । त्यो हातले लेखेर होस् वा पत्रिकाबाट काटिएको सानो टुक्रा नै किन नहोस्, घरको भित्तामा वा ढोकापछाडि यसले राम्रो स्थान पाएको हुन्थ्यो । जसमा एउटा छेउमा बारको नाम हुन्थ्यो । अर्काेतिर समय हुन्थ्यो । समयलाई पनि दुई भाग लगाइएको हुन्थ्यो– बिहान वा बेलुका ।

हो, यो समय तालिका थियो लोडसेडिङको । यस्तै, मोबाइलमा पनि भर्खरै एन्ड्राइडको प्रचलन सुरु भएको थियो । र हरेकको मोबाइलमा लोडसेडिङ एप हुन्थ्यो ।

त्यो कुनै दिन थियो, जब नेपालीहरू अँध्यारोमै निकै समय बिताउने गर्थे । आज त्यो इतिहास भइसकेको छ । नेपालीले एक दिनमा २१ घन्टासम्म पनि विद्युत्विना जीवन निर्वाह गरेका थिए । बिजुलीले नै गर्नुपर्ने काम तालिका हेरेर समय निकालिन्थ्यो । औसतमा नेपालीले त्यो समय १४ घन्टाको दरले लोडसेडिङको सामना गरे । यसले मानिसकै दैनिकीमा त निकै ठूलो असर पा¥यो नै, सँगसँगै यसले देशको अर्थतन्त्रमा पनि निकै ठूलो धक्का दियो ।

नेपालमा सन् २००७ सम्म मागको तुलनामा विद्युत्को आपूर्ति धेरै थियो । त्यसपछि भने कहिल्यै माग थोरै भएन । त्यो समय नेपालमा लोडसेडिङ नभएको भए नेपालको आर्थिक अवस्था कस्तोे हुन्थ्यो त ? विश्व बैंकले केही दिनअघि यस्तै रिपोर्ट निकालेको छ । जसमा सन् २००८ देखि २०१६ सम्ममा नेपालले लोडसेडिङका कारण गुमाएको तथ्यांकको विश्लेषण गरिएको छ ।

रिपोर्टअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा लोडसेडिङले निकै ठूलो असर पारेको थियो । यदि नेपालमा त्यो नौ वर्षसम्म लोडसेडिङ नभएको भए प्रत्येक वर्ष सात प्रतिशतभन्दा बढीको कुल गार्हस्थ उत्पादनमा वृद्धि हुन्थ्यो ।
लोडसेडिङले सबैभन्दा ठूलो असर गरेको क्षेत्र हो लगानी । लोडसेडिङले गर्दा लगानीको वातावरणमा ४८ प्रतिशतसम्म कम भएको छ ।

लोडसेडिङले गर्दा नेपालको कुल गार्हस्थ उत्पादनमा ११ अर्ब अमेरिकी डलरबराबरको घाटा लागेको छ । लोडसेडिङको कारणले गर्दा नै नेपालमा धेरै विद्युत् खपत गर्ने उद्योग खुल्न सकेनन् । आज नेपालमा आद्योगिक विकास नहुनुको एक कारण भनेको लोडसेडिङ नै हो ।

आयात र निर्यातमा असर

लोडसेडिङले नेपालको वैदेशिक व्यापारमा निकै ठूलो असर पारेको छ । यदि नेपालमा लोडसेडिङ नभएको भए अहिले भएको भन्दा ५.४ प्रतिशतले आयात बढ्ने थियो । सन् २००८ देखि २०१६ सम्ममा लोडसेडिङले गर्दा निर्माण क्षेत्रको आयातमा ३१.३ प्रतिशतले कमी आएको छ भने खनिज वस्तुहरूको आयातमा २७.३ प्रतिशतले कमी आएको छ ।

यस्तै, खाद्यान्नमा ०.७ प्रतिशतले कमी भएको छ । तर, सेवा क्षेत्रको आयातमा लोडसेडिङका कारण ५.२ प्रतिशतले वृद्धि भएको छ । सेवा क्षेत्रमा वृद्धि हुनुको कारण भनेको लोडसेडिङले गर्दा एलपि ग्यासमा भएको वृद्धि हो ।

यस्तै, लोडसेडिङले सेवा क्षेत्रको निर्यातमा ०.८ प्रतिशतले कमी आएको छ भने खनिज पदार्थको निर्यातमा १५.९ प्रतिशतले कमी भएको छ । तर, कृषि तथा वन क्षेत्रको निर्यातमा ०.१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, यो समयमा सरकारको आम्दानीमा २.५ प्रतिशतले कमी भएको छ । लोडसेडिङले गर्दा नेपालमा लगानीको मागमा ३२.६ प्रतिशतले कमी आएको छ । अध्ययनअनुसार लोडसेडिङले नेपालको औद्यौगिक उत्पादनमा ६.९ प्रतिशतसम्म कमी आएको छ ।

प्रतिव्यक्ति विद्युत् खपतमा नेपाल

विश्वको सबैभन्दा धेरै विद्युत खपत गर्ने देशमा सबैभन्दा अगाडि आइसल्यान्ड आउँछ । आइसल्यान्डमा भन्दा नेपालमा ४ सय २७ गुणा कम विद्युत खपत हुने गर्छ । यस्तै, अमेरिकामा भन्दा १०१ गुणा र दक्षिण कोरियाभन्दा नेपालमा प्रतिव्याक्ति ८१ गुणा कम विद्युत खपत गर्ने गरिन्छ ।

छिमेकी देश चीनमा भन्दा नेपालमा ३१ गुणा कम विद्युत खपत हुन्छ भने भारतमा भन्दा ६ गुणा कम विद्युत खपत हुने गरेको छ । नेपालमा अहिले प्रक्तिव्यक्ति ९३ युनिट विद्युत खपत हुन्छ ।

विश्व बैंकले प्रकशन गरेको उक्त रिपोर्टमा जनरल इक्विालिटी मोडलको प्रयोग गरिएको थियो । यो रिपोर्ट गोविन्दराज तिमिल्सिना, प्रकाशराज सापकोटा र जिभ्गेनिज स्टेलबुक्सले गरेका थिए ।

तर, एक वर्ष यतादेखि नेपालमा लोडसेडिङ भने शून्यजस्तै भएको छ । बसोवास क्षेत्रहरू लोडसेडिङमुक्त भइसकेका छन् । अहिले औद्योगिक क्षेत्रमा भने लोडसेडिङ बाँकी छ ।

पछिल्लो समय भइरहेको लोडसेडिङको अन्त्यको श्रेय नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दिइरहेका छन् । त्यसो त कोही आलोचकले भने भारतबाट विद्युतको आयात गरेर लोडसेडिङ अन्त्य गरेको आरोप पनि लगाएका छन् ।

तर, घिसिङले भने प्राधिकरणको बेथिती अन्त्य गरेर लोडसेडिङ अन्त्य भएको दाबी गर्दै आएका छन् । जसले योजना भए पनि देशमा लोडसेडिङको अन्य भएको छ, यो निकै ठूलो खुसीको कुरा हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार