#farakक्षमताः ह्विलचेयरमा जिन्दगी होइन सफलता कुदिरहेको छः प्रविन श्रेष्ठ

समिक्षा अधिकारी/फरक धार

२४ असार २०७५, आइतबार

‘म नै किन यस्तो भएँ, भगवानले मलाई नै किन यो पीडाका लागि छनोट गरे भन्ने कहिलेकाहीँ लाग्छ, तर यावत दुःखका बाबजुद पनि आज जे–जस्तो छु, खुसी छु ।’

०५४ सालतिरको कुरा हो । त्यतिबेलाको माहोल नै त्यस्तै थियो । सामूहिक भिडन्त हुन खासै ठूलो निहुँ चाहिँदैनथ्यो । घुरेरै हेरे मात्र पुग्थ्यो ।

साधारण मानिसमा डर फैलाएर आफूलाई श्रेष्ठ बनाउन र डन कहलाउन ग्याङ फाइट र गुन्डागर्दी प्रवृत्ति हावी हुँदै थियो ।

थाहा छैन– उनले पनि त्यसरी कसैलाई कुनैबेला हेरे होला । या नहेरेका पनि हुनसक्छन् ।

त्यो दिन पनि त्यस्तै भयो– अर्थात् २०५४ असोज १८ गते ।

रातिको समय । प्रविन श्रेष्ठ र उनका साथीहरू कन्सर्ट सकेर घर फर्किंदै थिए । कोही कार्यक्रममा गाएको गीत गुनगुनाउँदै थिए त कोही कन्सर्टमा भएको गतिविधिबारे चर्चा गर्दै थिए ।

कन्सर्ट सकिए पनि मनको रौनक सकिएको थिएन उनीहरूको ।

कुरैकुरामा उनीहरू नारायणगोपाल चोकनजिक आइपुगेका थिए । केही मानिसको समूह उनीहरू भएतिरै आयो । त्यो समूह मोटरसाइकलमा आएको थियो । बाइकको लाइटका कारण कतिजना थिए ठम्याउन सकिने अवस्था थिएन ।

त्यो समूहले हठात् प्रविन लगाएत सबैलाई कुटपिट गर्न थाल्यो । के भएको हो किन यस्तो गरेको कसैले अनुमान लगाउन नै भ्याएनन् ।

साथीहरू कसोकसो भाग्न सफल भए तर प्रविन भाग्न सकेनन् । उनीहरूले प्रवीणलाई जथाभावी कुट्न थाले ।

हातहतियार समेत प्रयोग गरे । प्रविन पीडा सहन नसकी रन्थनिएर भुइँमा पछारिए । प्रहारको आवाज सुने पनि प्रतिकार गर्न सकेनन् । हतियारधारीले लगातार प्रहार गरे र भागे ।

गहिरो चोट लाग्ने गरी पछाडिबाट उनको कम्मरमा हानिएको थियो । त्यतिबेलासम्म उनी अचेत भइसकेका थिए ।

योजनाबद्ध रूपमा गरिएको सांघातिक हमला थियो त्यो । त्यसपछि के भयो उनलाई थाहा भएन । ब्युँझँदा आफूलाई शिक्षण अस्पतालको बेडमा पाए । पैतालादेखि कम्मरसम्म कुनै ठाउँ बाँकी थिएन जहाँ छुराको चोट नलागेको होस् ।

उनले विस्तारै आफूमाथि भएको आक्रमणबारे याद गर्न खोजे । आफू किन अस्पतालको बेडसम्म आउने अवस्था सिर्जना भयो भन्ने कुरा उनले मनन गरे ।

घटनाले उनको जीवनमा ठूलो उथलपुथल ल्यायो । निकै कठिन परिस्थिति सृजना भयो उनीमाथि ।

कम्मरमुनिको भागसँगै खुट्टा चलाउन गाह्रो भयो । भाँचिएको र नचलेको होला भन्ने सोचाइमा आयो । तर पछि कम्मरमुनिको भाग नै नचल्ने अवस्था भएको प्रवीणलाई थाहा भयो ।

१९ दिनसम्म उनी अस्पतालमा बसे, तर स्वास्थ्यमा सोचेजस्तो सुधार भएन । त्यहाँबाट उनलाई वीर अस्पताल सारियो । त्यहाँ पनि करिब डेढ महिना राखियो ।

स्वास्थ्यमा कुनै उल्लेखनीय सुधार आएन । परिवारमा झन् निराशा छायो । वीर अस्पतालको उपचारबाट पनि उल्लेखनीय सुधार नभएपछि उनी घर फर्किए ।

सुरुवाती दिनमा डाक्टरले दुई वर्षपछि बिस्तारै ठिकै हुँदै जाने बताएका थिए । डाक्टरको यो भनाइले प्रविनमा पनि आशा पलाएको थियो । समयको वेगसँगै दुई वर्ष कष्टपूर्ण बित्यो । तर डाक्टरले भनेअनुसार खासै सुधार भएन ।

बैसाखी टेकेर हिँड्नसम्म सकिन्छ कि भनेर प्रयास पनि गरेका थिए । तर, शरीरलाई निकै असजिलो हुने भएकाले त्यो आशा पनि मरेर गयो ।

अन्ततः प्रवीण पूर्ण रूपमा शारीरिक अपांग बने । उनले ह्विलचियरको सहारामा जीवन बिताउनुपर्ने भयो । अर्थात् उनी स्पाइनल कड इन्जुरीको सिकार भए ।

जन्मजात नै शारीरिक अपांगता भएको भए त्यति पीडा हुँदैनथ्यो होला, जति हिँड्ने बानी परिसकेपछि भयो । घरमा बस्दा उनलाई निकै सकस हुन थाल्यो । साथीभाइले पनि कति दिन साथ दिन सक्थे र, सहानुभूतिबाहेक अरू केही दिन सकेनन् ।

साथमा भएका साथीभाइ पनि बिस्तारै टाढिन थाले । पहिले २० जनाभन्दा धेरै भएका साथी पछि गएर दुईजना पनि साथमा नहुने स्थिति आयो । सबै आआफ्नै भविष्य बनाउन व्यस्त हुन थाले ।

प्रविनले आफ्नो भविष्य अन्धकार देख्न थाले । सम्भावनाका मुहानहरू सबै सुकेका थिए उनका लागि । शारीरिक अवस्था र भविष्यप्रतिको चिन्ताले उनी डिप्र्रेसनको सिकार हुन पुगे ।

जहाँ जान, जे गर्न पनि अरूको सहयोग चाहिने भएपछि आफ्नै जीवन बोझ लाग्न थाल्यो उनलाई । भरखरै उड्न थालेको चरिको पखेटा काटिएजस्तो भएको थियो उनलाई ।

एकाएक एउटा कोठामा खुम्चिन पुगेपछि उनको मनमा अनेक तर्कना आउन थाल्यो । त्यतिबेलासम्ममा पुनस्थापना केन्द्र त्यति प्रचलनमा आएको थिएन । उनलाई त्यहाँसम्म पुर्याउने साथी पनि भएनन् ।

यस्तो बोझ लिएर बाँच्नु भन्दा मर्नु नै निको मानेर पटक–पटक असफल आत्महत्याको प्रयास गरे उनले ।

तैपनि ठीक हुन्छ कि भन्ने आशाले उनका साथीहरू घरमा आइरहन्थे र उनलाई उभ्याएर हिँडाउने कोसिस गर्थे । अभ्यास गर्ने क्रममा एक दिन उनी भुइँमा लडे ।

साथीहरूले उठाउने कोसिस गर्दा उनीहरूमध्ये एकजनाले रोके र भने, ‘हामी सधैं प्रविनको साथमा हुँदैनौं, त्यसैले लड्दा उसले आफैं उठ्न सक्नुपर्छ ।’

त्यो कुरा सही थियो, तर साथीको त्यस्तो कुराले प्रवीणलाई निकै चोट पुग्यो । प्रविन साथीहरूसँग रिसाए । र सबैलाई गाली गरेर घरबाट निस्कन भने । सोचे– जिन्दगी निख्रियो । शरीर होइन, जीवन विकलांग भयो ।

तर, जीवन उनले सोचेजस्तो होइन रहेछ ।

त्थो समय उनी निकै रोए, कराए, चिच्च्याए । अन्ततः दुई फिट अग्लो खाटमा आफैं उठेर बस्न सफल भए । जीवनमोहले मृत्युमोहलाई पराजित गराएरै छाड्यो ।

उनले मनबाट मर्ने निर्णय त्यागे । मर्न भनेर उनले स्लिपिङ ट्याबलेटहरू सँगालेर राखेका थिए । सँगालेर राखेका ती निद्राको औषधि पनि नष्ट गरिदिए ।

त्यो घटनाले उनको जीवन नै परिवर्तन गरिदियो । जहाँ लडेका थिए, त्यहीँबाट उठाए जीवनलाई । जहाँ भाँचिएका थिए, त्यहीँबाट बाटो बदले जिन्दगीको । जीवनलाई संघर्षतर्फ उन्मुख गराउने टर्निङ पोइन्ट नै त्यही थियो ।

सफलतातर्फ

कार्यकक्षमा छिर्नासाथ तीनवटा ठूलाठूला मोनिटर देखिन्छ । र त्यसको अगाडि देखिन्छन् प्रविन । उनी आफ्नो काम त्यहीँ बसेर सम्पन्न गर्छन्, खुसीसाथ ।

संगीतमा उनको लगाव निकै थियो । संगीतले दिएको चोट संगीतबाट नै निको बनाउने ध्याउन्नमा थिए, तर सफल भएनन् । पहिलेजस्तो यत्रतत्र हिँड्ने, डुल्ने र चर्चा कमाउने स्वतन्त्रता खोसियो ।

प्रविन बाहिर निस्कनै छाडे । कतै गीत गाउन गए पनि आम्दानीभन्दा खर्च धेरै हुन थाल्यो । त्यसमा त्यति मन रमाउन सकेन । तर व्यवसायलाई निरन्तरता दिन संस्था नै खोले निर्णय गरे ।

सांगीतिक भिडियो सम्पादन र निर्देशनसम्बन्धी विभिन्न तालिम लिए । संस्थाको प्रचार नहुँदा सुरुवाती दिनमा निकै संघर्ष पनि गर्नुपर्यो । तर, पनि उनी निरन्तर लागिरहे । आज उनको सफलता उनकै अगाडि पछाडि घुमिरहेको छ ।

आफू मात्र होइन, अरूलाई पनि रोजगारी दिन सक्ने भएका छन् उनी । कुनै बेला खाजा खानेसम्म पैसा हुँदैनथ्यो उनीसँग ।

आफ्नै जीवनकथाको चलचित्र निर्माण

प्रविन भिडियो सम्पादनमा दक्ष थिए । सम्पादनको कामले नै उनको दैनिकी सहज बनाइरहेको थियो । तर, उनी घरबाट बाहिर निस्कन रुचाउँदैनथे । शारीरिक अपांग भइसकेपछि उनलाई समाजमा घुलमिल हुन निकै समस्या भएको थियो ।

सन् २०१० तिरको कुरा हो । प्रवीणका एक मिल्ने साथी थिए रबिन । प्रवीण घरबाट बाहिर ननिस्किएको रबिनलाई पटक्कै मन परेन । उनी चाहन्थे प्रविनले गरेको कामका बारेमा अरू धेरैले जनकारी पाऊन् र प्रेरण लिऊन् ।

एक दिन प्रविनलाई जबरजस्ती भए पनि रबिनले जोरपाटीस्थित पुनस्थापना केन्द्र लिएर गए । जब त्यहाँ पुगे प्रवीण अचम्ममा परे । एकातिर उनी आफू कहिल्यै घरबाट बाहिर निस्कन नमान्ने, अर्कातिर भेटिएका मानिस सबै एकअर्कासँग हाँस्ने, बोल्ने आफ्नो काम सबै आफैं गरिरहेका थिए ।

उनीहरूलाई हेर्दा यस्तो लाग्थ्यो केही भएकै छैन । अन्य अपांगता भएका व्यक्तिलाई प्रेरणा दिन गएका उनी आफैं प्ररित भएर फर्किए ।

प्रविनले त्यसपछि बल्ल आफ्नो वास्तविकता र महत्वलाई नजिकबाट बुझ्न सके । अन्य साथीहरूको आग्रहमा उनले मिडियामार्फत अपांगतासम्बन्धी आवाज उठाउन सहयोग गरे ।

त्यसै क्रममा अपांगता भएका मानिसले पनि यस्तो उदाहरणीय काम गर्न सक्छ भनेर देखाउने निर्णय भयो । अरू अपांगता भएका मानिसको डकुमेन्ट्री बनाउन धेरै जानकारी थिएन ।

प्रविनलगायत उनको टिमले सुरुमा प्रवीणको जीवनकहानीको डकुमेन्ट्री बनाउने कि भन्ने विचार उठाए । तर डकुमेन्ट्री मात्र निर्माण गर्दा मानिसले किन हेर्ने भन्ने प्रश्न उठ्छ कि भन्ने भयो ।

पछि उनी फिल्म निर्माण गर्ने निष्कर्षमा पुगे । फिल्ममा कथा उनको भए पनि समस्या सबैको समेटिने भयो । अन्ततः उनले आफ्नै निर्देशनमा ‘मोक्ष’ नामक नेपाली फिल्म निर्माण गरे ।

व्यावसायिक हिसाबले फिल्मले लगानी उठाउन नसके पनि विभिन्न विधाबाट अवार्ड भने पाउन सफल भयो । जसले गर्दा प्रविनको मनोबल पनि बढ्यो ।

२०३५ सालमा काठमाडाैंको बालुवाटारमा जन्मिएका हुन् प्रवीण । काठमाडौंको रैथाने परिवार, नपुग्दो केही थिएन । पढाइमा पनि राम्रो भएकाले बाल्यकाल सुखद नै बिताए ।

जीवनको मध्यान्तरमा आइपुग्दा सुख वा दुःख आउने जाने प्रक्रिया स्वाभाविक भएको उनको बुझाइ छ । तर उनी भन्छन्, ‘खुसी भन्ने कुरा आफैंले महसुस गर्ने हो ।’

‘म नै किन यस्तो भएँ, भगवानले मलाई नै किन यो पीडाका लागि छनोट गरे भन्ने कहिलेकाहीँ लाग्छ, तर यावत दुःखका बाबजुद पनि आज जे–जस्तो छु, खुसी छु ।’

यसो भनिरहँदा प्रविन प्रफुल्ल देखिन्छन् । र उनी अहिले ह्विलचेयरमा जिन्दगी होइन, सफलता धकेलिइरहेका छन्– निरन्तर, निरन्तर ।

 

(जन्मजात वा विभिन्न दुर्घटनामा परेर शरीरका अंग गुमाउन बाध्य व्यक्तिले पनि यो समाजका लागि केही गर्न सक्छन्, उनीहरू उदाहरणीय हुन सक्छन् । उनीहरूलाई हेर्ने समाज र हाम्रो नजरचाहिँ म्याचुएर्ड हुनुपर्छ । आफ्ना लागि मात्र नभएर समाजसँग जोडिएर सुन्दर सपना बनाइरहेका व्यक्तिहरुबारे  #farak क्षमता शृंखलामा हामी नियमित प्रकाशन गर्नेछौँ । तपाईं पनि यो स्तम्भमा समाजमा योगदान दिइरहेका अपाङ्गता भएका व्यक्तिहरुबारे पढ्न चाहनुहुन्छ भने हामीलाई त्यसबारे खुलाएर [email protected] मा इमेल गर्नुहोस्– सम्पादक)

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार