एमाले–फोरम वार्ताः सहमतिको अन्तिम मस्यौदा तयार हुँदै

फरक धार

१९ फागुन २०७४, शनिबार

काठमाडौं/   सरकारको नेतृत्व गरेको एमाले र संघीय समाजवादी फोरम संविधान संशोधनको सहमतीका अन्तिम कसरतमा जुटेका छन् । फोरमलाई सरकारमा ल्याउन शुरु भएको छलफलपछि संविधान संशोधन गरेर अगाडि बढ्न एमाले सहमत भएको हो ।

एमाले मधेसको राजनीतिक मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गरी दुईतिहाई बहुमतको सरकार चलाउने दिशामा अघि बढेको छ । फोरमसहित राजपालाई समेत सरकारमा ल्याएर लामो समयदेखि मधेस आन्दोलनले उठाएका राजनीतिक मागलाई सम्बोधन गर्न एमालेले तयार देखिएको छ ।

पार्टी एकता र नयाँ सरकार विस्तारलाई सँगसँगै अगाडि बढाइरहेको एमालेले मंगलबार अनौपचारिक कार्यदल बनाएर फोरमसँग संविधान संशोधनको मिलनबिन्दु खोज्ने कसरतमा छन् । एमालेबाट सुवासचन्द्र नेम्वाङसहितको टोलीले फोरमका नेतासँग भेट गरी संविधान संशोधनको मिलन बिन्दु छलफल गरिरहेका छन् ।

संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले एमालेसँगको छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार मंगलबार साँझसम्म नै सबै विषय टुंग्याउने गरी छलफल चलिरहेको छ ।

‘संविधानको धारा २७४ मै रहेर सहमतीको मिलन बिन्दु खोज्ने प्रयास गरिरहेको छ,’ उनले भने, ‘दुवै पक्षबाट अनौपचारिक कार्यदलले निरन्तर गृहकार्य गरिरहेको छ । चाँडै सहमतीको फाइनल ड्राफ्ट तयार पार्छौं ।’

कार्यदलले तयार गरेको ‘फाइनल ड्राफ्ट’मा दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेपछि फोरम नयाँ सरकारमा सहभागी हुने वातावरण बन्नेछ ।

संविधान संशोधनप्रति असहमति राख्दै आएको एमाले बदलिँदो शक्ति सन्तुलनसँगै संविधान संशोधनमा लचक देखिँदै आएको छ । एमालेसँग पार्टी एकताको निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत मधेसको माग सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने धारणा राख्दै आएका छन् ।

त्यसैको प्रयासस्वरुप संविधान संशोधनमा सहमति गर्दै फोरमलाई सरकारमा ल्याएर दुईतिहाईको सरकार बनाउने वाम गठबन्धनको योजना छ । वाम गठबन्धनले नयाँ सरकारमा परराष्ट्र मन्त्रालयसहित सरकारमा सहभागी हुन फोरम अध्यक्ष उपेन्द्र यादवलाई प्रस्ताव गरिसकेका छन् ।

फोरम अध्यक्ष यादवले नयाँ सरकारमा सहभागी हुन संविधान संशोधनमा लिखित सहमति माग गरेपछि दुवै पक्षबाट अनौपचारिक कार्यदलले सहमतिको प्रयास जारी राखेको हो । संशोधनको मूल विषयमा वाम गठबन्धन र फोरमका शीर्ष नेताबीच सहमती बनेपछि दुवै पक्षका कार्यदल सहमतीको अन्तिम ‘ड्राफ्ट’ तयारीमा जुटेको छ ।

‘आज बेलुकासम्म सहमतिको अन्तिम ड्राफ्ट बनाउने तयारी गरेका छौं’, कार्यदलमा सहभागी एमाले नेताले भने, ‘संशोधनमा दुवै पक्ष सहमती नजिक छौं ।’ उनका अनुसार बुधबार शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार