#farakक्षमताः प्रेरणाकी पर्यायः लक्ष्मी

समिक्षा अधिकारी

२६ असार २०७५, मंगलवार

अपांगता कुनै रहर होइन । न बाध्यता नै हो । यो त केवल भवितव्य हो । जो कोहीलाई पनि अपांगता हुन सक्छ । विश्वभरको तथ्यांक केलाउने हो भने जन्मजातै भन्दा दुर्घटना या भवितव्यमा परेर ज्यान जोखिममा हुने र अपांगता बेहोर्नेको संख्या ज्यादा छ ।

काठमाडौं उपत्यकाको व्यस्त क्षेत्र कुपन्डोल । गाडीको गाइँगुइँ र मानिसको आवतजावत बाक्लै छ । त्यसबाट केही अगाडि बढेपछि दायाँतर्फ सुरु हुन्छ– मैत्री मार्ग । त्यस्तै सय मिटर अगाडि बढेपछि बायाँतर्फ विवेकशील साझा पार्टीको मुख्य कार्यालय देख्न गाह्रो हुँदैन ।

शारीरिक अपांगता भएका नागरिकको पहुँचयुक्त कार्यालय । गेटबाटै देख्न सकिन्छ र्याम्प । कार्यालयको अगाडिपट्टि फ्रन्ट डेक्समा भेटिन्छिन्– लक्ष्मी घिमिरे ।

झलक्क हेर्दा देखिने गहुँगोरो वर्णको हँसिलो अनुहार र खाइलाग्दो शरीरकी घिमिरेलाई कसैले पनि अपांगता भएको भन्दैनन् । झन् कम्मरभन्दा मुनिको भाग चल्दैन भन्दा त पत्याउनै गाह्रो पर्छ ।

‘यस्तो पुष्ट शरीर र दृढ आत्मविश्वास छ, स्पाइनल कर्ड इन्जर्ड हुन् भनेर कसरी पत्याउनू ?’ कार्यालयमा कामविशेषले आउने–जाने नेता कार्यकर्ता भन्छन् ।

सोह्र वर्षको कलकलाउँदै उमेरमै भिरबाट लडेर स्पाइनल इन्जुरी भएपछि उनले अपांगताको ट्याग भिर्नु पर्यो । सबलांगबाट एकैपटक विकलांगमा झर्नुपर्यो । तर, यसले उनलाई कमजोर बनाएन । दृढ आत्मविश्वास र कडा मेहनतका कारण उनले अपांगता र शारीरिक अशक्ततालाई जितिन् । त्यसैले त उनी आज खेलाडी भएकी छिन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमै उनको चर्चा छ ।

‘सांग नै भएको भए आज यो अवस्थामा हुने थिएँ कि थिइनँ,’ कहिलेकाहीँ आफैँ द्विविधामा पर्छिन् उनी । ह्विलचेयरमा जिन्दगी गुड्न बाध्य छ । ह्विलचेयर नभए जीवन साँच्चै अपांग हुन्छ । ह्विलचेयरमा बसेको भनेर के गर्नु, उनी असाधारण छिन् ।

लक्ष्मी ह्विलचियर खेलाडी हुन् । उनको ह्विलचेयर सडकमा मात्रै होइन, बास्केटबलको कोर्टमा पनि उसैगरी फुर्तीका साथ दौडन्छ र उपाधि नलिई कहिल्यै रित्तो हात फर्किंदैन ।

त्यसो त उनी कर्मचारी पनि हुन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा पुग्ने जो–कोहीले पनि सबैभन्दा पहिला लक्ष्मीलाई भेट्नुपर्छ । कार्यालयका बारेमा सम्पर्क गर्ने पहिलो व्यक्ति हुन् उनी ।

अपांगता कुनै रहर होइन । न बाध्यता नै हो । यो त केवल भवितव्य हो । जो कोहीलाई पनि अपांगता हुन सक्छ । विश्वभरको तथ्यांक केलाउने हो भने जन्मजातै भन्दा दुर्घटना या भवितव्यमा परेर ज्यान जोखिममा हुने र अपांगता बेहोर्नेको संख्या ज्यादा छ ।

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यो आँकडा झनै डरलाग्दो छ । दिनहुँ बढेको सडक दुर्घटना, प्राकृतिक विपत्ति र प्रकोपजन्य घटनाले अपांगता हुनेको संख्या दिनहुँ थपिइरहेको छ ।

अतः यसरी अपांगता हुने र जन्मँदै शारीरिक अपांगता उपहार लिएर आउने व्यक्तिका लागि लक्ष्मी प्रेरणाकी पर्याय हुन् । आत्मविश्वासकी सगरमाथा हुन् ।

यसमा उनी सहमत छिन् । भन्छिन्, ‘कुनै पनि मानिस रहरले अपांग हुन चाहँदैन । अपांग हुनु भनेको जिन्दगी नै सकिनु पनि होइन । यो त अवसरका नयाँ–नयाँ ढोका खुल्ने सुरुवात हो ।’

यसको उदाहरण उनी आफैं हुन् ।

यो सबै यसै सम्भव भएको भने पक्कै होइन । पूर्णिमााको त्यो कालो दिन उनको जीवनमा नआएको भए सायद उनी यति लोकप्रिय र प्रेरणाको पर्याय बन्ने थिइनन् ।

जीवनको ‘कालो पूर्णिमा’

०५० सालमा रामेछापको बेतालीमा जन्मिएकी हुन् लक्ष्मी । अहिलेको गोकुलगंगा गाउँपालिका–४ । परिवारको कान्छी सदस्य । एसएलसी उतै सकिन्, श्री जनाजागृति माविबाट । उच्च शिक्षा पनि उतै पढ्ने मनसाय थियो । पारिवारिक अवस्था सामान्य नै थियो । बुबा नेपाल आर्मीबाट अवकाश प्राप्त थिए ।

२०६६ सालको कोजाग्रत पूर्णिमाको दिन थियो । दसैंको चहलपहल कम भइसकेको थियो । गाउँले जीवन । घाँस–दाउरा नगरी धरै नपाइने । दसैंको रमझम ओझेल परिसकेको थिएन । तथापि त्यो दिन लक्ष्मीलाई बारीमा गएर घाँस काटौं भन्ने लाग्यो । बुबा त नजाऊ भन्दै हुनुहुन्थ्यो । तैपनि मनले घाँस काट्न डोर्यायो उनलाई ।

दाजु–भाउजू र बहिनीको साथमा बारीतिर लागिन् । बारीबाट अलिक पर खाल्टेभिर थियो । हेर्दा अत्यासलाग्दो अक्करे भिर । पाइला त्यतै गयो उनको ।

घाँस त त्यति रहेनछ । तर पनि आधा डोकोजति घाँस काटिन् । बहिनी पनि त्यतै आइपुगिन् । घर जाऊँ भन्दै थिइन् बहिनी । गफको तालमा दिदी–बहिनी केही दूरीमा घाँस काट्दै थिए ।

अचानक केहीमा अल्झिएजस्तो भयो । के भयो भनेर हेर्न नभ्याउँदै खुट्टाले भुइँ छोडिहाल्यो । करिब पाँच सय मिटर तल खसिन् । त्यसपछि के भयो उनलाई केही थाहा भएन । आँखामा केवल अँध्यारो छायो ।

भिरको फेदमा घाँस काट्दै गरेकी भाउजूले देखिन्, तर केही बोल्न नसकेर इशारा मात्र गरिन् । दाजुले नै भाउजूले भन्न खोजेको कुरा अड्कल काटे र खोज्न हिँडे ।

हातेबार काँडाको झ्याङमा अड्केको अवस्थामा फेला पारेको भन्थे रे पछि देख्नेहरूले पनि ।

दाजुले हारगुहार गरेर एक घण्टापछि गाउँकै एक अस्पताल पुर्याए । अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने बताएपछि काठमाडौं ल्याए र बिएन्डबीमा भर्ना गरे । पाँच दिन त्यहाँ राख्दा पनि होस आएन । अस्पतालले लामो समय लाग्छ भन्ने भयो । त्यसपछि छाउनीमा सारे ।

जब होस आयो

छाउनीमा पनि लामो समयसम्म होस आएन । बाँच्ने नबाँच्ने यकिन थिएन । तैपनि परिवारमा आशा जीवितै थियो । २६ दिन राखेपछि मात्र होस आयो । होस आउँदा के भएको थियो भन्ने कुरा नै भुलिन् उनले । सबैलाई सोधिन् तर कसैले पनि साँचो कुरा बताएनन् । ज्वरो आएर ल्याएको, के भएको रिपोर्ट आएको छैन भनेर उनलाई ढाँटे ।

केही दिनपछि भिनाजुले भेट्न आउनेसँग कुरा गरेको सुनेर मात्र उनले थाहा पाइन् । अस्पताल आउनुको कारण त थाहा भयो तर आफूलाई के भएको भन्ने अझै पनि थाहा भएन । खुट्टा चलाउन खोज्छिन्, तर चलेन । जोडले खुट्टाका औंला चलाउन खोज्छिन्, तर असमर्थ भइन् । भावी जीवनको ‘च्याप्टर क्लोज’ भएझैं लाग्यो उनलाई ।

लक्ष्मी निराश भएर रुन्थिन् । चिकित्सक सान्त्वना दिन्थे– ‘एक वर्षमा आफैं ठिक हुन्छ ।’ तर, त्यस्तै केही भएन ।

स्पाइनल कड इन्जुरीबारे उनले सुनेकी पनि थिइनन् । आफ्नो समस्या थाहा पाएपछि उनी निकै आत्तिइन् । ह्विलचेयरमा बस्नुपर्छ, हिँड्डुल गर्न सकिन्न भन्ने लाग्दा रोइन् पनि । तर, बिस्तारै आफूलाई सम्हाल्दै लगिन् । अस्पतालमै रहँदा उनले जीवन बुझिन् । त्यसपछि रामेछाप नै फर्किइन् ।

एक वर्ष घर बस्दा पनि समाजमा समायोजन हुन निकै गाह्रो भयो उनलाई । गाउँलेका ‘कठै–विचरा’ले झन् आलो घाउमा नुन छरेको जस्तै भयो । अन्ततः घरमा बसेर मात्रै हुँदैन भनेर बुबाले नै काठमाडौं लिएर आए ।

काठमाडौं आएर स्पाइनल कड इन्जुरी पुनस्र्थापना केन्द्रमा भर्ना भइन् । त्यहाँ जीवन जिउने कलाकोबारेमा सिप सिकिन् । घरको सामान्य काम गर्ने, खाना बनाउने, कपडा धुने आदी काम सिकेपछि थोरै आसा पलायो । जीवनको अर्को टर्निङ पोइन्ट नै बन्यो । एक महिना सम्म त्यहाँ बसिन् ।

त्यसलगत्तै कीर्तिपुरमा कम्प्युटर र कार्यालय व्यवस्थापनसम्बन्धी ६ महिने तालिम पनि लिइन् । जसबाट पनि जीवनयापनमा अझ उर्जा थपियो ।

बास्केटबलप्रतिको मोह

एसएलसीपछि रोकिएको पढाइलाई पुनः निरन्तरता दिइन् । कलेजमा नै अरू पनि ह्विलचियर प्रयोगकर्ता भेटिन् । उनीहरू पहिल्यैदेखि बास्केटबल खेल्दा रहेछन् ।
लक्ष्मीलाई म पनि सक्छु भन्ने लाग्यो र त्यसैतर्फ आकर्षित भइन् । स्पाइनल कड इन्जुरी एसोसिएसनका तर्फबाट उनले धेरै गेम खेलिसकेकी छिन् । वर्षमा हुने चार–पाँचवटा खेलमा उनकै समूहले जित्दै आएको छ ।

पावरलिफ्टिङमा पनि उनको मोह बसेको छ । त्यसकै सिलसिलामा वल्र्ड कपसम्म सहभागिता जनाएकी छिन् उनले ।

नेपालमा भएको राष्ट्रियस्तरको पावरलिफ्टिङमा उनले दोस्रो उपाधि हात पारिन् । थपिँदै गएको सफलतासँगै दिन–प्रतिदिन खेलप्रति उनको मोह पनि बढ्दै गएको छ ।
००
लक्ष्मी अहिले आफूलाई बास्केटबल खेलाडीका रूपमा परिचित गराउँछिन् । साथमा एक वर्षदेखि विवेकशील साझा पार्टीको कार्यालयमा डेक्स अफिसर ।

अपांगता भएकालाई भाग्यको खेल मात्र ठानेर बेतालीमा नै बसेको भए भाग्यलाई खेलाउन सक्ने थिइनन् । उनका लागि यति धेरै सम्भावनाका ढोका पनि सायद नै खुल्थे होलान् । तर उनको अथक प्रयास र लगनशीलताले आफूलाई सफलताको रोलमोडलका रूपमा स्थापित गरेरै छाडिन् ।

अपांगमैत्री भौतिक संरचना नहुँदा उनलाई निकै समस्या पर्छ । त्यसमा पनि स्पाइनल कड इन्जुरी भएका व्यक्तिको चोट लागेभन्दा तलको अंग नचल्ने हुँदा पुनः घाउ लागेको खण्डमा निको हुन नै समस्या पर्छ ।

कतिपय अवस्थामा चोट लागेको नै थाहा हुँदैन । तर यो व्यक्तिगत समस्या हो ।

पहुँचयुक्त भौतिक संरचना निर्माण हुने हो भने अपांगता कुनै समस्या नहुने लक्ष्मी बताउँछिन् । उनीहरू पनि आफ्नो आवश्यकता आफैं पूर्ति गर्न सक्षम बन्न सक्छन् भन्ने उनको तर्क छ । तर परिवारबाट भरपुर साथ हुनुपर्छ । उनी भन्छिन्, ‘पारिवारिक साथ बलियो भयो भने समाजका नकारात्मक धारणा आफैं पर हुन्छन् ।’

 

(जन्मजात वा विभिन्न दुर्घटनामा परेर शरीरका अंग गुमाउन बाध्य व्यक्तिले पनि यो समाजका लागि केही गर्न सक्छन्, उनीहरू उदाहरणीय हुन सक्छन् । उनीहरूलाई हेर्ने समाज र हाम्रो नजरचाहिँ म्याचुएर्ड हुनुपर्छ । आफ्ना लागि मात्र नभएर समाजसँग जोडिएर सुन्दर सपना बनाइरहेका व्यक्तिहरुबारे  #farak क्षमता शृंखलामा हामी नियमित प्रकाशन गर्नेछौँ । तपाईं पनि यो स्तम्भमा समाजमा योगदान दिइरहेका अपाङ्गता भएका व्यक्तिहरुबारे पढ्न चाहनुहुन्छ भने हामीलाई त्यसबारे खुलाएर [email protected] मा इमेल गर्नुहोस्– सम्पादक)

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार