#farakक्षमताः ह्विलचियर लेखकः कृष्णप्रसाद भण्डारी

समिक्षा अधिकारी

३२ असार २०७५, सोमबार

आफूले पहिले नै बालबालिकासम्बन्धी किताब निकालिसकेका थिए । अब परामर्शको पाटो पनि सँगै लैजाने विचार दिमागमा क्लिक भयो । तत्काल निर्णय लिए– अब म पनि यही काम गर्छु । साथीसँगको त्यो भलाकुसारी नै उनका लागि टर्निङ पोइन्ट बन्न पुग्यो ।

हामी सोच्छौं– अपांगता भएका व्यक्ति समस्याका द्रष्टा मात्र हुन् । तर, समाजका यस्ता व्यक्ति पनि छन् जो स्रष्टा पनि हुन् । र, आफ्नो क्षमताले भ्याएसम्म समाजलाई सत्मार्गमा हिँड्न अभिप्रेरित गर्ने यी सर्जक सबलांगका पनि मार्गदर्शक र पथप्रर्दशक हुन् ।

धेरैलाई लाग्न सक्छ– अपांगता भएपछि जीवन ओइलाउँदै जान्छ । गन्तव्य अनिश्चित हुन्छ । समस्याको खाडलमा पर्छ जिन्दगी ।

तर, कृष्णप्रसाद भण्डारी यस्ता पात्र हुन्, जसले अपांगतालाई अवसरमा बदलेका छन् । र, जीवनमा बाटो नपाएर अलमलिएकाहरूलाई बाटो देखाउन कुनै कसर बाँकी राखेका छैनन् ।

झन्डै दुई दशक पढाएरै बिताए उनले, देशका सुदूर कुनाकाप्चा । शिक्षक–विद्यार्थी, अभिभावक–बालबालिका, पाठ्यवस्तु–शिक्षण सिकाइबीच ठूलठूला खाडल देखे । लेखेरै त्यो खाडल पुर्ने र सिकाइमा नवीन आयाम थप्ने प्रयत्नमा लागेका छन् उनी ।

अपांतापूर्वको जीवन र अपांगता भइसकेपछि विकलांगतालाई अवसरमा बदल्नले उनले गरेका प्रयत्न अरूका लागि पनि मार्गदर्शन बन्न सक्छन् ।

०००

०२७ असार ७ गते कन्चनपुरको विकट गाउँ बेलौरीमा जन्मिए । तर, बाआमा त्यहाँ धेरै बसेनन् । झापाको केचना गाविसमा बसाइँ सरेपछि उनको बाल्यकाल त्यतै बित्यो । एसएलसी झापाबाटै दिए ।

त्यतिबेलासम्म दैनिकी सामान्य नै थियो । १८औं वसन्त सहजै पार गर्दै थिए । जीवन पहिलेजस्तो सहज नभएको महसुुस हुन थाल्यो उनलाई । समस्या केही पनि थिएन । सामान्य रूपमा लिए सुरुमा त । कमजोरीले पो हो कि भन्ने पनि लाग्यो ।

बाटोमा हिँड्दाहिँड्दै अनायासै खुट्टाले भर दिनै छाड्यो । बाटैमा लड्नुपर्ने स्थिति सिर्जना भयो । न कुनै रोग न त कुनै दुर्घटना नै, एकाएक दुवै खुट्टाले धर्म छाड्दै गएको भान भयो । परिवारमा अत्यास छायो ।

‘भूतप्रेतले पो छोयो कि, नत्र त्यसै त सात गाउँमा कसैलाई नभएको आफ्नै छोरालाई मात्र किन दशा लाग्न परेको,’ बाआमाका दुःख आफ्नै थिए ।

आफूलाई पनि हो जस्तो लागेर धामी–झाँक्री कति धाइयो आफैंलाई सम्झना छैन । नपुगेको अस्पताल पनि कुनै बाँकी रहेन । अहँ, कतै गए पनि समस्यामा बीसको उन्नाइस भएन । बरु थपिँदै गयो ।

कतै पत्ता नलागेको समस्या अन्ततः पटना पुगेर पत्ता लाग्यो । बोन टिभी भएको रहेछ । सुन्दै नसुनेको कस्तो रोग यो ? शरीरभरि प्लास्टर गरिदिए डाक्टरले ।

‘जीवनको सुरुवात नै यसरी भएको हुन्थ्यो भने सायद पीडा पनि कम हुँदो हो । तर, मध्यान्तरमा आएर अचानक जीवन खाडलमा पुग्दा समस्या झन् चर्को भयो । भविष्य बनाउने समयमा झन् भएको पनि भत्किन लाग्दा आफूलाई लागेको दुःख बयान गरेरै सकिँदैन,’ भण्डारी सम्झन्छन् ।

शरीरभरिको प्लास्टर । ठीक हुने हो कि होइन अझै पनि दुविधा थियो । तर दैवको चमत्कार भनांै कि परिवारको आस्था, विस्तारै ठीक भयो ।

पढ्नमा सामान्य थिए उनी । एसएलसीपछि छुटेको पढाइलाई निरन्तरता दिन थाले । मेची क्याम्पसबाट स्नातक पास गरे । त्यसपछि उनी काठमाडौं आए । मास्टर डिग्रीसमेत सिध्याए । त्यसपछि अध्यापन पेसामा आबद्ध भए । लामो समय रोगलाई जितेर जीवन सामान्य बनाए उनले । तर, ०६० सालमा आएर फेरि रोग बल्झिन थाल्यो ।

कतिबेला कहाँ गएर लड्ने हो आफैं लाई थाहा नहुने । शल्यक्रिया नगरे ढाडको हड्डी बांगिएर कुप्रिँदै जाने र फोक्सोमा समेत असर पर्ने हुनाले थप समस्या आउने भयो । शल्यक्रिया गर्न ज्यानकै जोखिम थियो । स्पाइनल कड इन्जुरीको समस्याले गाँज्यो । जीवनलाई घिसारेर हिँड्नु भन्दा उनी कि वार चाहन्थे कि त पार नै ।

शल्यक्रिया गरेर रोगलाई फैलनबाट रोक्न चाहे, तर त्यो जोखिम मोल्न कुनै डाक्टर तयार भएनन् । अन्ततः धुलिखेल अस्पतालका डाक्टर दीपक श्रेष्ठले हिम्मत गरे । १२ घण्टाको प्रयासपछि ०७२ मा माघमा शल्यक्रिया सफल भयो । नयाँ जीवन पाएझैं भयो उनलाई । त्यसपछिको दिनमा उनी ह्विलचियरमा हिँड्डुल गर्छन् ।

टर्निङ पोइन्ट

जीवनबाट निराश बनेका उनी पुनस्थापना केन्द्रमा पनि भर्ना भए । आफूलाई सबल बनाउँदै थिए । अध्यापन छोडिसकेका थिए । के गर्ने भन्ने अन्योल छँदै थियो ।

एक दिन साथी सँग भेट भयो । उनले सोधे– ‘के काम गर्नुहुन्छ ?’ साथीले बच्चाहरूलाई काउन्सेलिङ गर्छु भन्ने जवाफ दिए ।

उनले फेरि सोधे– ‘के हो यो भनेको ?’

साथीले नालीबेली बताए ।

आफूले पनि आधा जीवन अध्यापन पेसामा बिताएका थिए । बच्चाहरूको स्कुल र पढाइसम्बन्धी धारणा र पारिवारिक झमेलामा परेका बालबालिकालाई नियाल्ने मौका पनि पाएका थिए ।

आफूले पहिले नै बालबालिकासम्बन्धी किताब निकालिसकेका थिए । अब परामर्शको पाटो पनि सँगै लैजाने विचार दिमागमा क्लिक भयो । तत्काल निर्णय लिए– अब म पनि यही काम गर्छु । साथीसँगको त्यो भलाकुसारी नै उनका लागि टर्निङ पोइन्ट बन्न पुग्यो ।

त्यसपछि उनले बुद्धनगरबाट तीन महिनाको सहयोगी परामर्श कोर्स र एक वर्षको पिजिटी कोर्स गरे । जसले उनीमा एक किसिमको आत्मविश्वास जगायो ।

उनी सोही बाटोमा लागे जसले उनलाई सफल पनि बनायो ।

लेखनयात्रा

यतिबेला आफैंले पढ्दा र पढाउँदादेखि नै एउटा कुरा मनमा खड्किरहेको थियो उनलाई । बालबच्चाले विनाकसुर नै अभिभावक र शिक्षकबाट अनाहकमा सजाय भोगेका हुन्थे ।

विद्यालयमा पढाइको राम्रो वातावरण नभएको र अभिभावकले बच्चाको भावना नबुझेको समयमा उनी आफैं कतिपटक विद्यार्थीको दुःखको साथी बनेर सल्लाह दिएको सम्झन्छन् ।

विनागल्तीको सजायले बाल मस्तिष्कमा नकारात्मक असर परेको उनलाई राम्रोसँग महसुस भएको थियो । त्यसै समस्यालाई आधार बनाएर समाधानस्वरूप अभिभावक केन्द्रित ‘बालबालिकालाई कसरी असल बनाउने ?’ नामक किताब प्रकाशन गरे । किताबले राम्रो प्रतिक्रिया पायो । अहिले आठौं संस्करणमा बजारमा उपलब्ध छ ।

यसरी सुरु भएको लेखनयात्राबाट ०७४ सालमा ह्विलचियरको जिन्दगी नामक अर्को पुस्तक प्रकाशनमा आयो ।

आफू ह्विलचियर प्रयोगकर्ता हुँदै गर्दा आफूजस्तै धेरै मानिस देखेका थिए उनले । तर उनीहरू काम पनि राम्रोसँग गर्न सक्थे । सुरुमा उनी सोच्थे अब जिन्दगी गयो ।

आफूले सकारात्मक सोच्न नसकेका बेला अरूले भने उदाहरणीय काम गरेको देख्दा उनलाई छुट्टै प्रेरणा मिल्यो ।

अरू अपांगता भएका व्यक्तिहरूमा उनले निराशाको कुनै छनक पाएनन् । त्यस्ता मानिसहरू खोजी गरे र उनीहरूको उदाहरणीय कामलाई लिपिबद्ध गरे । जुन वास्तवमा नै निकै प्रेरणदायी छ ।

उनले ०६४ फागुनमा दृष्टिविहीनहरूका संघर्षका कथा समेटेर ‘मनका आँखा’ नामक पुस्तक पनि प्रकाशनमा ल्याए । सामाजिक सञ्जालमा दृष्टिविहीनहरूको सफलताका प्रेरक प्रसंगले उलनाई यो पुस्तक लेख्न हौस्याएको उनी बताउँछन् ।

पुस्तकमा उनले २१ जना दृष्टिविहीनको कथाव्यथा र सफलता समेटेका छन् । यसबाट उनी यो कुरामा पनि विश्वस्त भएका छन् कि अपांगता भएका व्यक्ति हरेकमा फरक क्षमता लुकेको हुन्छ ।

हौसला नै जितको आधार

हौसला नै जितको आधार हो भन्ने उनको ठम्याइ छ । यो नै उनको सिद्धान्त पनि हो । यही सिद्धान्तले उनलाई सफलतातर्फ डोर्याएको छ ।

यही प्रसंगको एउटा किस्सा सम्झनछन् उनी– पंकज कुमार नाम गरेको ४ कक्षामा पढ्ने बालक आए । पढ्न पनि नआउने । कसरी ४ कक्षामा पुग्यो आफैंलाई अचम्म लाग्ने ।’ बच्चाको पढाइ देखेर बा–आमामा पनि एक किसिमको मानसिक समस्या नै देखे उनले । र सुधार्ने जिम्मा आफैंले लिए ।

ऊ अहिले बी प्लस ल्याएर पास भयो । पाँच कक्षामा पढ्ने भएको छ । उनले ‘तिमी गर्न सक्छौ, तिमी पढ्न सक्छौ’ भनेकै भरमा बिद्यार्थीले बी प्लस ल्याएको हुने भन्नेमा उनी ढुक्क छन् ।

त्यस्ता बच्चा उनकोमा धेरै आउने बताउँछन् । अपांगलाई मात्र नभई सांगका लागि पनि उनी मार्गनिर्देशक बनेका छन् ।

भण्डारी भन्छन्– ‘बालबच्चालाई सधैं हौसला र प्रेरणा दिनुपर्छ । दबाब दिनु हुँदैन । म आफैंलाई पनि परिवारले सहयोग र हौसला नदिएको भए आज सायद यो ठाउँमा हुन्न थिए ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार