तीन कारण, जसले ईश्वर पाेखरेललाई रक्षामन्त्री बनायो

फरक धार

१९ फागुन २०७४, शनिबार

काठमाडौं/ मन्त्रीपरिषद् विस्तारको क्रममा सोमबार रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका एमाले महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्ने दौडमा थिए । पार्टीबाट अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयमा विवाद उत्पन्न भइरहेको थियो ।

अर्थ मन्त्रालयबाहेक अन्य मन्त्रालयमा आफू नजाने बताइरहेका पोखरलेलले अन्ततः सोमबार रक्षामन्त्रीको रुपमा सपथ लिए । सपथ लिएको केही समयपछि उनले सामाजिक सञ्जालमा ट्वीट् गर्दै लेखे, ‘चुनौतीका बीच आज रक्षा मन्त्रालयको जिम्मेवारी लिएको छु । साथ, सहयोग र समर्थनमा यो जिम्मेवारी पूरा गर्ने विश्वास लिएको छु ।’

आफूले रोजेको मन्त्रालय नपाए पनि पाएको मन्त्रालयमा राम्रो काम गर्ने लक्ष्य बोकेका उनले अर्थ छाडेर रक्षा मन्त्रालय रोज्नुको ३ कारणहरु हामीले पहिल्याएका छौं । पार्टीको नेतृत्वमा रहेर मन्त्रीको छनौटसम्मको पहुँच भएका उनै पोखरेल आफूले भने रोजेको मन्त्रालय पाउन सकेनन् ।

मन्त्रिपरिषद्मा दोस्रो वरियता

अर्थमन्त्रीमा दाबेदारि प्रस्तुत गर्दै आएका एमाले महासचिव पोखरेललाई रक्षामन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो वरियतामा राख्ने भएकाले पनि उनी अर्थ मन्त्रालय छाड्न तयार भएको हुन् । पोखरेललाई प्रधानमन्त्रीपछि दोस्रो वरियतामा राख्ने सर्तसहित सरकारमा सहभागी गराइएको हो ।

दुई नेताको दावी यथावत हुँदा विकल्पको खोजी

अर्थ मन्त्रालयमा अर्थशास्त्रका विज्ञ व्यक्ति राख्ने प्रधानमन्त्री ओली चाहना र अर्थ मन्त्रालयको दावी गरिहेको महासचिव पोखरेल र एमाले सचिव प्रदीप ज्ञावली दुबैलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता कारण उनी रक्षामन्त्री बन्न पुगे । ओलीले दुई नेतालाई स्वीकार्य हुने गरी अर्थविद् तथा पूर्वगभर्नर युवराज खतिवडालाई अर्थमन्त्रीको प्रस्ताव राखेपछि पोखरेलले दावी छाडेका थिए ।

एकतापछिको नेता व्यवस्थापन

पार्टी एकताको प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रभित्र पार्टी एकतापछि कसको कस्तो भूमिका रहने भन्ने विषयमा बहस चलिरहेको छ । पार्टीको विचारधाराको विषयमा पनि जबज नछाड्ने अडानमा रहेको महासचिव पोखरेल सरकारमा पुगे पनि एकतामा पनि सहज हुने भएकाले ओलीले जसरी पनि मन्त्री बनाउने अडान लिएका हुन् । उनलाई शुरुमा अर्थ मन्त्रालयको नै जिम्मेवारी दिने सोचे पनि अर्थविद् खतिवडालाई बनाएर ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् । पोखरेल सरकारमा गएसँगै एकताका लागि सहज हुने पार्टीभित्रको गुटको पनि ओलीलाई सिफारिस थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार