नगर प्रमुखमाथि कारबाहीको माग गर्दै चक्काजाम

फरक धार

६ साउन २०७५, आइतबार

लहान- कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरूप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् ।

नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुटपिट तथा दुर्व्यवहार गरेको  नगर प्रमुख पासवानमाथि आरोप लागेको छ । स्थानीयवासीले बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटामै रोकिएका थिए ।

स्थानीयवासीले चक्काजाम गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरी बाटो खुलाएको थियो । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसिबी गाडीको भ्याट बिलविना नै भुक्तानीका लागि कागजपत्र तयार पार्न भनेको र नमानेका कारण आफूमाथि नगर प्रमुखले कुटपिट गरेको नगरपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख यादवले आरोप लगाउनुभयो ।

नगर प्रमुख पासवानलाई कारबाही गर्नुपर्ने मागसहित आफूहरूले चक्काजाम गरेको स्थानीयवासी तथा नयाँ शक्ति पार्टीका नेता प्रभात महतोले जानकारी दिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार