पूर्वी तरार्इमा डिएपी मल अभाव

फरक धार

७ साउन २०७५, सोमबार

लहान- किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ ।

धान रोपाइँको बेला मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा हाल दुई हजार पाँच सय बोरा मात्र डिएपी कृषि सामग्रीको गोदाममा छ । डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको प्रमुख चौलागाईंको भनाइ छ । डिएपी मलको अभावकै बीच कृषि सामग्री कम्पनी लिमिटेड लहानले आजबाट मलखाद वितरण सुरु गरेको छ ।

विभिन्न स्थानीय तहमा रहेको डिलर सहकारी संस्थालाई युरिया र डिएपी मल वितरण गर्न सुरु गरेको प्रमुख चौलागाईंले बताए । डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँगाउँका किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको छ ।

पहिलो चरणमा सयवटा सहकारीलाई प्रतिसहकारी ३५ बोराका दरले उपलब्ध गराउने र थप मल आएपछि क्रमशः वितरण गर्ने क्रमलाई निरन्तरता दिने उनको भनाइ छ । कृषि सामग्री कम्पनीले डिएपी प्रतिबोरा दुई हजार एक सय ८८ र युरिया सात सय ३८ का दरले सहकारी संस्थालाई बिक्री गर्दै आएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार