गीत सार्वजनिकपछि तर्कियो फिल्म युनिट

फरक धार

७ साउन २०७५, सोमबार

काठमाडौं– ‘कथा काठमाडौं’ नामक फिल्मको पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक गरिएको छ । यस गीतमा प्रियंका कार्की र प्रमोद अग्रहरीले फिचर गरेका छन् । इन्दिरा जोशीको स्वरमा रहेको गीतमा प्रदीप बास्तोलाको शब्द र संगीत रहेको छ ।

यस फिल्मको पहिलो गीत एक रातको कुरालाई बयान गर्दै तयार गरिएको छ । भिडियोमा प्रिंयका कार्की र प्रमोद अग्रहरी निकै कामुक दृश्यमा देखिएका छन् ।

भरखरै इन्गेजमेन्ट गरेका आयुषमान देशराज र प्रियंका यो फिल्ममा छन्, तर जोडीको रूपमा भने होइन । फिल्मको गीत सार्वजनिक गर्नका लागि मुख्य भूमिकामा रहेका ६ जना कलाकारमध्ये तीनजना मात्र उपस्थित थिए ।

प्रियंका, प्रेक्षा अधिकारी र गायिका इन्दिरा जोसी देशबाहिर भएर उपस्थित जनाउन सकेनन् तर आयुषमान किन उपस्थित भएनन् ? निर्माण पक्षले आयुष्मान सुटिङमा व्यस्त भएर आउन नपाएको जानकारी दिएका छन् ।

कार्यक्रमको सुरुवात जुन उत्साहको साथ गरिएको थियो, गीत सार्वजनिकपछि त्यो उत्साह खस्किँदो थियो । गीतमा कामुक दृश्यकै कारण फिल्म मेकर दोस्रोपटक स्टेजमा आउन हिचकिचाइरहेका थिए ।

फिल्म निर्देशक संगीता श्रेष्ठले भनिन्– ‘काठमाडांैको कथामध्येको एक कथा यो पनि हो, यसलाई हाम्ले पर्दामा उतार्न खोजेको हो । एउटा गीतमै पूरै फिल्मको मूल्यांकन गर्न मिल्दैन ।’ उनले ट्रेलर हेरेपछि फिल्मको भाव प्रस्ट हुने बताइन् ।

संगीताले गीतको भिडियोबारे बताइन्– ‘यस गीतमा रोमान्सभन्दा पनि प्रियंका कार्कीको पेन देखाउन खोजिएको छ । सायद यसलाई सेन्सर बोर्डले पनि नकारात्मक रूपमा लिँदैन होला ।’

संगीता श्रेष्ठको लेखन र निर्देशनमा रहेको फिल्ममा विजय राईको लगानी रहेको छ । फिल्ममा प्रियंका कार्की र प्रमोद अग्रहरी, सञ्जोग कोइराला र सन्ध्या केसी तथा आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी तीन जोडीले कथा काठमाडौंमा रोमान्स गर्ने भएका छन् ।

तीन जोडीको छुट्टाछुट्टै प्रेमकहानीमा आधारित फिल्म तयार पारिएको निर्माण पक्षले बताएको छ । लुज सिंहले छायांकन गर्नेछन् भने मित्र गुरुङले सम्पादन गर्नेछन् । फिल्म असोज १२ गते प्रदर्शनीमा आउने निर्माण पक्षले जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार