[विचार] शैक्षिक परामर्शमा एफडिआई समृद्धिको बाधक

कुमार कार्की

८ साउन २०७५, मंगलवार

युवाहरु उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेको कसैले पनि नकार्न सक्दैन । यसले बारम्बार चर्चा पनि चलिरहेको हुन्छ– नेपालमा अब क्षमतावान युवाहरु बाँकी रहेनन् । हुन पनि अध्ययन गर्न गएका अधिकांश युवाहरु विदेशमै सेटल हुने परम्परा बढेको छ । यो क्षेत्रको जटिल समस्या यही नै हो ।

पछिल्ला केही वर्ष शैक्षिक परामर्शदाता कम्पनीहरुले विदेशमा अध्ययन गरिसकेका युवाहरुलाई कसरी स्वदेश फर्काउने र त्यहाँ सिकेको ज्ञान नेपालको विकास गर्न प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गरिरहेका छन् । यस विषयमा शिक्षा मन्त्रालय र नेपाल सरकारसँग बारम्बार बहस भइरहेका छन् ।

कुमार कार्की

तर, यी बहसहरुलाई एकातिर पन्छाएर पछिल्लो समय शैक्षिक परामर्शमा नै विदेशी लगानी भित्र्याउने प्रयास भएका छन् । एकातिर देश भित्रका शैक्षिक परामर्श कम्पनीहरुको नियमनमा समस्या परिरहेको छ भने अर्कोतिर विदेशी लगानी भित्रिने विषयले निकै समस्या उत्पन्न हुने निश्चित देखिन्छ । यो अहिले देशले चाहेको समृद्धिका लागि पनि असान्दर्भिक कुरा हो ।

पछिल्लो समय देशको विकासका लागि विदेशी लगानीलाई सरकारले प्रोत्साहन गर्न खोजिरहेको छ । विशेषगरि भौतिक विकासमा यसको आवश्यकता पनि छ । तर, परामर्श भनेको भौतिक विकास होइन । देशभित्रकै लगानीमा देशभरका युवाहरुले रोजगारी पाइरहेको र देशका लागि केही योगदान गरिरहेको यो समयमा यो क्षेत्रमा विदेशी लगानी ल्याइनु देश हितका पक्षमा कदापि हुन सक्दैन ।

यसका लागि केही कारणहरुलाई प्राथमिकताका साथ लिन सकिन्छ । देशभित्रै यो कार्यका लागि पर्याप्त पुँजी नहुँदा, देशभित्रकै जनशक्तिले यसको माग पूरा गर्न नसक्दा विदेशबाट लगानी भित्र्याउनु स्वभाविक हुन आउँछ । तर, दुइ चार लाख वा करोडको लगानीका लागि परामर्श क्षेत्रमा विदेशी कम्पनी आउनुले देशको अर्थतन्त्रलाई थप समस्याग्रस्त बनाउने निश्चित छ । हो, देशको अर्थतन्त्रमा यो क्षेत्रले त्यति धेरै योगदान नगरेको होला तर जति योगदान गरेको छ, त्यसमा विदेशी चलखेल हुँदा यसको अवस्था झन् कुरुप हुन आउँछ ।

विदेशी लगानी किन पनि आवश्यक छैन भने यसले नेपाली युवालाई विदेश जान झन् बढी आकर्षित गर्न सक्छ । अर्कोतिर नेपाली विद्यार्थीलाई विदेशमा परामर्शका लागि पठाउँदा कलेजले काउन्सिलिङ गरेवापत् केही पैसा परामर्शदाता कम्पनीलाई पठाउँछन् । यसको अर्थ अध्ययनका नाममा विदेशिएको केही पैसा पुनः नेपाल भित्रिन्छ ।

परमार्शदाता कम्पनीले यसको कर तिरेको हुन्छ, विदेशिएको पैसाको पनि केही प्रतिशत नेपाल नै भित्रिन्छ । जसका कारण नेपालीले नै रोजगार पाइरहेका छन् । तर, विदेशी लगानी आउनु भनेको उनीहरुको बिलिङ विदेशी संस्थामा नै हुनु हो । यसले नेपाली पैसालाई सधैंका लागि विदेश पुर्याउँछ । त्यसैले पनि शिक्षा परामर्श क्षेत्रमा एफडिआइ अनावश्यक मात्र होइन, देशको समृद्धि सपनालाई घातक हुन्छ ।

सन् २००८/२००९ का बेलायत अध्ययन गर्न जाने सन्दर्भलाई हामीले लिन सक्छौँ । त्यति बेला बेलायत पुगेका कतिपय विद्यार्थी यहाँबाट आफू भर्ना भएको कलेज त्यहाँ पुग्दा बन्द भएका कारण समस्यामा परे । तर, यहाँबाट एकल तथा संयुक्त प्रयासमा कन्सल्टेन्सीहरु लागे ।

बन्द भएका कलेजका संस्थापकलाई बेलायतमै गएर मुद्दा हाल्न पनि हामी एक भयौँ । अन्ततः त्यस्ता कलेजहरुले नेपाली विद्यार्थीबाट शुल्कवापत् लिएको अधिकांश पैसा फिर्ता गरे । यसको अर्थ त्यहाँ नेपाली पैसा यत्तिकै फसेन । अब भोलि विदेशी लगानीको कम्पनी नेपाल आउँदा यस्ता समस्या आए भने नेपाली अभिभावक र विद्यार्थी क्षतिपूर्तिका लागि कहाँ जाने ? के अर्को देशमा गएर नेपाली विद्यार्थी र अभिभावकले क्षतिपूर्ति दाबी गर्न सक्ने अवस्था हाम्रो बनिसकेको छ ? यसमा गम्भीर भएर सोच्नु पर्ने अवस्था अहिले आएको छ ।

अर्कोतिर, के हाम्रो बजारमा विदेशी कलेज र विश्वविद्यालयबारे बुझाउन सक्ने, त्यो शिक्षा लिँदा भोलि नेपालमा के गर्न सकिन्छ, कुनै विषय पढ्दा त्यसको अन्तर्राष्ट्रिय र नेपाली स्कोप कस्तो छ भन्ने हामी आफैंले बुझ्ने समय आइसकेको छ । हामीसँग विद्यार्थीको अवस्था हेरेर काउन्सिलिङ गर्न सक्ने एक्स्पर्टिज निकै धेरै हुनुहुन्छ । यो क्षेत्र सुधार गर्दै आगडि लैजान हामीसँग पर्याप्त पुँजी छ । त्यसैले हाम्रोजस्तो विकासोन्मुख देशमा अहिले शैक्षिक परामर्शको क्षेत्रमा विदेशी लगानी भित्र्याउनु मुर्खता सिवाय केही हुँदैन ।

वैदेशिक लगानी ती क्षेत्रमा आवश्यक हुन्छ, जुन क्षेत्रमा देशको पुँजी र जनशक्तिले लक्ष्य हासिल गर्न परिपूर्ति गर्न सक्दैन । शैक्षिक परामर्शको क्षेत्रमा अहिलेको अवस्थालाई हेर्ने हो भने यस्तो अवस्था आइसकेको छैन जहाँ हामीले हारगुहार गरेर विदेशी लगानी भित्र्याऔँ र नेपाली पैसालाई बाहिर पठाऔँ ।

र, यो विषयले अहिले देशको वृहत विकास योजनामा लागेको सरकारले निकै ध्यानपूर्वक अवलम्बन गर्न जरुरी छ । नेपालीले चाहेजस्तो नेपाल बनाउनु भनेको विदेशी लगानीलाई थोर्पनु मात्र होइन । सरकारले पहिलो प्राथमिकता देशकै लगानीलाई दिने हो भने मात्र देशले फड्को मार्न सक्छ ।

हो, अहिले विदेशी कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई कसरी नेपाल फर्काउने तथा नेपालको विकासमा उनीहरुको ज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण कुरा हो । यसको अर्थ हामी नेपाली परामर्शदाताले पछिल्ला वर्ष नेपाली विद्यार्थीलाई नेपाल फर्किन प्रोत्साहित गरिरहेका हुन्छौँ ।

अर्कोतिर नेपाली लगानीकर्ताले सुरु गरेका परामर्श कम्पनीहरुमा नेपाली नै रोजगारी पाएका छन् । अब विदेशी लगानीलाई नेपाल भित्र्याउने हो भने यो रोजगारीमा पनि समस्या देखिने निश्चित छ ।

र, विदेशी लगानीका कारण यो क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा झन् मौलाउँदै जाने छ । एउटा विदेशी लगानीकर्ताले अर्को विदेशी लगानीकर्तासँग प्रतिस्पर्धा गर्ने नाममा अनेक प्रपोगान्डा गर्न सक्छ । यसले नेपाली विद्यार्थीलाई झन् चर्को शुल्क तिर्न बाध्य त बनाउने नै छ र नेपाली युवाको विदेश पलायनमा पनि बढावा दिने छ ।

त्यसैले अहिलेको समय विदेशी लगानी भित्र्याउने होइन, यहाँ नै भएको यो क्षेत्रलाई थप शुद्धिकरण गर्दै अगाडि बढाउने हो ।

समृद्धिका लागि आर्थिक क्रान्ति अहिलेको आवश्यकता हो । आर्थिक वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ । सरकारले यो आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट तथा नीति तथा कार्यक्रममा पनि देशभित्र लगानीको वातावरण झन् बढाउने र लगानीमैत्री वातावरण बनाउने उद्देश्य लिएको उल्लेख गरिएको छ । तर, विदेशी प्रत्यक्ष लगानीका नाममा देशको एउटा महत्वपूर्ण क्षेत्रमा जथाभावी विदेशी लगानीलाई प्रश्रय दिनु सरकारको लक्ष्यका लागि नै बाधक हुने निश्चित छ ।

(कार्की इन्टरनेसनल एजुकेसन रिप्रिजेटेटिभ्स इनिसियटिभ अफ नेपाल आइरिनका अध्यक्ष हुन् ।)

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार