चर्काे अालाेचनापछि राजीनामाकाे तयारीमा कानुनमन्त्री

फरक धार

८ साउन २०७५, मंगलवार

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नै अभिब्यक्तिका कारण विवादित बनेका कानुनमन्त्री शेरबहादुर तामाङलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।  मेडिकल शिक्षाका लागि बंगलादेश गएका नेपाली छात्राले आफूलाई नसुम्मिएसम्म प्रमाणपत्र नपाउने भनी अति गैरजिम्मेवार र लज्जास्पद अभिब्यक्ति दिएको भन्दै मन्त्री तामाङको चौतर्फी आलोचना भएको थियो ।

मन्त्री तामाङले आफ्नो उक्त अभिब्यक्तिले जनमानस, महिला समुदाय र सम्बन्धितमा चोट पर्न गएको भन्दै क्षमायाचना गरेका थिए । तथापि उनले बंगालदेशमा अहिले पनि दुई हजारभन्दा बढी नेपाली विद्यार्थी भएको र उनीहरुले कुनै न कुनै रुपमा समस्या बेहोरिएको दाबी गरेका थिए । आफूले उनीहरुले भोगेको समस्या मात्रै उठाउन खोजेको मन्त्री तामाङकाे तर्क छ ।

राजनीतिक र जनस्तरबाट समेत मन्त्री तामाङलाई बर्खास्त गर्नुपर्ने आवाज चर्किएपछि सत्तारुढ नेकपाले राजीनामा दिन लगाएर ‘सेफ ल्यान्डिङ’ रोजेको हो । एकपछि अर्को गर्दै ओली क्याबिनेटका मन्त्री विवादित बन्दै गएपछि सरकारमाथि औंला तेर्सिने क्रम बढेको छ ।

मन्त्री तामाङको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरुले छलफल गरेकोमा बैठकमा सहभागी अधिकांश नेताले राजीनामा दिन भनेका थिए । पार्टीको निर्देशनपछि मन्त्री तामाङले आजै दिउँसो पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी गरेका छन् ।

स्राेतका अनुसार नेकपाले भानुभक्त ढकाललाई कानुनमन्त्री बनाउने तयारी गरेकाे छ । पूर्वएमालेबाट उम्मेदवार बनेका ढकाल मोरङ ३ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

अनेरास्ववियुको महासचिवसम्म भएका ढकाल विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशील भएका हुन् । २०४५ सालमा तत्कालीन माले पार्टीको सदस्यता प्राप्त गरेका उनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक तर्फबाट सभासद थिए । उनी दोस्रो संविधान सभापछिको संसदमा एमालेका प्रमुख सचेतक पनि भएका थिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार