गायक विनोदको नयाँ गीत ‘पार्वती’

फरक धार

८ साउन २०७५, मंगलवार

पोखरा– कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाँले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिलामाथि तयार पारिएको यो गीतको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ ।

गीतमा आसुँमा डुब्ने र एक्लो महसुस गर्ने होइन, हाँस्न र बाँच्नका लागि संसार ठूलो छ भन्ने भाव व्यक्त गरिएको छ ।

पछ्यौरीको फेरोले आँसु पुछ पार्वती
सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती

हरि लम्सालको संगीत रहेको यो भिडियो यतिबेला युट्युबमा समेत अधिक मन पराइएको छ ।

गायक बानियाँ यो गीत स्तरीय बनेको बताउँछन् । ‘यो एकल माहिलामाथि लेखिएको गीत हो,’ उनले भने, ‘सबै एकल आमा र महिलाको समर्पणमा यो गीत तयार पारिएको हो ।’

एकपटक खुसी खोसिएपछि दुखी भइरहनु पर्दैन र फेरि खुसी आउन सक्छ भन्ने भावमा गीत बनेको बताउँदै कवि तीर्थले भने, ‘गायक बानियाँले गीतलाई न्याय गरेका छन् । भिडियो पनि एकल महिलाको संवेदनालाई न्याय गर्दै बनेको छ ।’ यो गीत लमजुङको भुजुङ गाउँमा देखिएको दृश्यले जन्माएको कवि श्रेष्ठले बताए ।

दुई दशकदेखि संगीत कर्म गरिरहेका गायक बानियाँले चर्चामा रहेको ‘म त बलेनीमा’ गीतपछि यो गीत बजारमा ल्याएका हुन् । यसअघि उनको मान्छे, डाउड, प्रोफाइल एल्बम बजारमा आइसकेका छन् ।

एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा विकास लामिछाने, सिर्जना जिसी, अनिल लामिछानेले अभिनय गरेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार