डेढ महिनाअघि अपहृत बालकको शव भेटियाे

फरक धार

८ साउन २०७५, मंगलवार

वीरगञ्ज/ करिब डेढ महिनाअघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ललनप्रसाद साहका नौ बर्षीय छोरा अंकित कुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ ।

भारत विहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएको सोमबार एक बालकको शव सडेगलेको अवस्थामा भेटिएपछि उनको हत्या भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको हो ।

गत जेठ २२ गते अपहृत अंकितको शव पश्चिमी पर्साको जगरनाथपुर गाउँस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको पुष्टि बाराका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले बताए ।

शव सडेगलेको र पूर्णरुपमा निकाल्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षणका लागि शव गाडिएको स्थानबाट हाड र दाँत मात्र निकालिएको बारा प्रहरीले जनाएको छ ।

वीरगञ्ज रानीघाट बस्ने रामप्रवेश साह पक्राउ परेपछि उनकै बयानका आधारमा शव गण्डक नदीबाट फेला पारिएको थियो । पक्राउ परेका अजय र रामप्रवेशमाथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

अपहरणकारीले बालकका परिवारजनसँग भारतको बेतिया सहरमा भारु १५ लाख फिरौतीवापत बुझेको थियो । अपहृत बालकको आकार र बनोटका आधारमा शव पहिचान गरिए पनि डिएन परीक्षण प्रतिवेदनपछि मात्र पूर्ण रुपमा शव यकिन गर्न सकिने प्रहरीको भनाइ छ ।

यता जीतपुरवासीले प्रहरीको फितलो अनुसन्धानका कारण बालक अंकित बाँच्न नसकेको आरोप लगाएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले अपहरण काण्डमा प्रहरीको भूमिका सन्तोषजनक नदेखिएको र पर्सा तथा बारा प्रहरीबीच समन्वयको अभावको कारण यस्तो घटना भएको बताएका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार