पाँच बुँदे सहमतिसँगै चितवनमा अटो रिक्सा चालकको आन्दोलन फिर्ता

फरक धार

१० साउन २०७५, बिहीबार

चितवन– भरतपुर महानगरपालिकाले मुख्य राजमार्गमा तीनपांग्रे सवारी चलाउन प्रतिबन्ध लगाएपछि आन्दोलित भएका अटो रिक्सा चालकले आन्दोलन फिर्ता लिएका छन् । बुधबार राति निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षिय छलफलमा पाँच बुँदे सहमति भएपछि तीनपांग्रे सवारीचालकहरुले आन्दोलन स्थगित गर्न तयार भएका हुन् ।

सहमतिअनुसार यसअघि महानगरपालिकाले कायम गरेको १८ वटा क्रसिङ प्वाईन्ट सहितको सवारी रुट अनुसार नै सवारी सञ्चालन गर्न उनीहरु तयार भएका छन् । उक्त रुटमा सवारी सञ्चालनमा कुनै समस्या भएमा सहजताका लागि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहको संयोजकत्वमा एक कार्यदल समेत गठन गरिएको छ ।

बैठकले बुधबार प्रहरी र सवारी चालकवीच भएको झडपको घटनाप्रति दुख व्यक्त गर्दै गोली लागी घाईते भएका नवलपुरको गैंडाकोट ४ का ३० वर्षीय महेन्द्र सुनारको उपचार भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको समन्वय र व्यवस्थापनमा गर्ने निर्णय गरेको छ ।

यसअघि महानगरको निर्णय विरुद्ध आन्दोलन गर्दै आएका तीनपांग्रे सवारी चालकहरु र प्रहरी बीच बुधबार भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा झडप हुँदा १५ सुरक्षाकर्मी सहित १९ जना घाईते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो भने १ सय ५० भन्दा बढी सेल अश्रु ग्यास छोडेको थियो ।

झडपका क्रममा आन्दोलनकारीले केन्द्रीय बस टर्मिनल नजिकै प्रहरी कार्यालय अगाडी रहेको ना १६ प ९४०७ नम्बरको सर्वसाधारणको मोटसाईकल समेत जलाई दिएका थिए भने पार्किङ गरिराखेको बा १६ च १९३८ नम्बरको कार र ना १ ज ४९७५ नम्बरको म्याजिक भ्यानमा तोडफोड गरेका थिए ।

साउन ५ गतेको निर्णय अनुसार भरतपुर महानगरले भरतपुरको मुख्य सडकमा तीनपाँग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । महानगरको निर्णयविरुद्ध उच्च अदालत हेटौडामा मुद्दा परेकोमा अदालतले महानगरकै पक्षमा फैसला सुनाएको थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार