पाकिस्तानको चुनावी मतपरिणामः पूर्वक्रिकेटर इमरानको पार्टी पिटिआईको अग्रता

फरक धार

१० साउन २०७५, बिहीबार

पाकिस्तान– पाकिस्तानमा बुधबार सम्पन्न संसदीय र प्रान्तीय चुनावको मतगणना जारी छ । बुधबार बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म मतदान भएकोमा रातिदेखि नै मतगणना थालिएको थियो ।

४७ प्रतिशत मतदान केन्द्रको प्रारम्भिक मतगणनाअनुसार पूर्वक्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इस्लाम (पिटिआई) ले ११३ सिटमा अग्रता लिएको छ ।

भ्रष्टाचारको अभियोगमा जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले (पिएमएल–एन) ले ६४ सिटमा अग्रता लिँदै पिटिआईभन्दा निकै पछि छ । यस्तै, पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले ४३ सिटमा अग्रता लिँदै तेस्रो स्थानमा हुँदा १४ सिटमा अन्य दलको अग्रता छ ।

प्रारम्भिक रुझानले पिटिआईको अग्रता देखाएपछि सर्मथकहरू खुसी मनाउन लाहोर र रावलपिन्डीका सडकमा उत्रिएका छन् । पाकिस्तानमा अहिले ट्वीटरमा #JeetayGaKaptaan ट्रेन्डिङमा छ ।

नतिजा घोषणामा ढिलाइ गरेको भन्दै आलोचना भएपछि पाकिस्तानको निर्वाचन आयोगले प्राविधिक र मौसम प्रतिकूलकताका कारण मतगणनामा ढिलाइ भइरहेको बताएको छ । मुस्लिम लिग नवाजले निर्वाचन आयोगमाथि धाँधलीको आरोप लगाएको छ । तर निर्वाचन आयोगका प्रमुख सरदार रजा खानले धाँधलीको आरोप आधारहीन भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘कसैले अपेक्षा गरेजस्तो नहोला, नतिजा त्यही हुनेछ, जुन हामीले घोषणा गर्नेछौं ।’

पाकिस्तानको चुनावसँग जोडिएका केही तथ्य

  • संसदको २७० सिटका लागि मतदान भएकोमा ७० सिट आरक्षित छ । कम्तीमा पाँच प्रतिशत भोट ल्याउने दलहरूबीच ५० सिटमा महिला र १० सिटमा अल्पसंख्यक कोटामा बाँडफाँट हुनेछ ।
  • चुनावमा ९५ पार्टीबाट ११ हजार ६ सय ७६ उम्मेदवार मैदानमा थिए ।
  • पाकिस्तानका चारै प्रान्त र केन्द्रीय राजधानीसहित कुल १० करोड ६० लाख नागरिकसँग मताधिकार थियो ।
  • पाकिस्तानका स्थानीय सञ्चारमाध्यमहरूको विवरणअनुसार करिब ५० प्रतिशत मतदाताले आमनिर्वाचनमा भोट खसालेका छन्
  • मतदानको सुरक्षा र तालिबानको खतरालाई मध्यनजर गर्दै ३ लाख ७० हजार सेना र ४ लाख ७० प्रहरी परिचालन गरिएको थियो
  • मतदानका दौरान क्वेटाको एक निर्वाचन केन्द्रनजिक भएको आत्मघाती विस्फोटमा ३१ जनाको मृत्यु भयो भने अन्य केही स्थानमा समेत हिंसात्मक घटना भए ।
 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार