अनशनरत डा. केसीको स्केच बनाएर जो चर्चामा आए

पुष्पराज चाैलागार्इं

१० साउन २०७५, बिहीबार

डा. गोविन्द केसीले १५औँ अनशन सुरु गरेदेखि नै मेरो दैनिकी बनेको थियो, उनीबारेको रिपोर्टिङ । सधैँजस्तो बुधबार पनि म दिउँसो १ बजेतिर अफिसबाट निस्केँ ।

सडकदेखि सदनसम्म डा. केसीकै अनशनले चर्चा पाइरहेको थियो । अधिकांशले उनको अनशनप्रति सकारात्मक टिप्पणी गरिरहेको भेटिन्छ भने केहीले नकारात्मक टिप्पणी पनि गरिरहेका छन् ।

जुम्लाबाट सुरु गरेर टिचिङ अस्पतालसम्म पनि केसीको आमरण अनशन निरन्तर चलिरहेको छ । बुधबार वार्तालाई निष्कर्षमा पुर्याउने भन्दै दुवै पक्षले अघिल्लै दिन संयुक्त विज्ञप्ति प्रकाशित गरेका थिए । त्यसबारे बुझ्न म पनि अस्पतालतिर लागेको थिएँ ।

जब म त्रिवि शिक्षण अस्पताल (महारगन्ज)को गेटबाट प्रवेश गरेँ । अस्पातलबाट साइरन बजाउँदै एम्बुलेन्स एउटा बाहिर निस्कियो । अस्पतालको वरिपरिको वातावरण हेर्दा अघिपछिभन्दा अलि भिन्न देखिन्थो । मानिसहरूको चलहलपहल पनि अघिपछि कम थियो । अस्पतालको गेटबाट अलि माथि सवारी पार्किङ गर्ने ठाउँमा पुगेपछि हुलका हुल मान्छे देखेँ ।

त्यहाँ पुग्दाको परिदृश्य मैले सोचेको भन्दा फरक थियो । जहाँ, सेतो कपडा लगाएका डाक्टरहरूको एक झुण्ड बसिरहेका थिए । केहीबेरमा मैले त्यहाँको यथार्थ थाहा पाएँ । जहाँ, त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू सामूहिक अनशनमा बसिरहेका रहेछन् ।

ठूलो टेन्टमुनि रातो कार्पेटमा झन्डै १ सय डाक्टरहरू अनशन बसिरहेका थिए । २५ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै र उनका समर्थक चिकित्सकहरूले सामूहिक अनशन सुरु गरेका रहेछन् ।

उनीहरू डा. केसीप्रति पूर्ण रूपमा समर्पित भएका देखिन्थे । केहीले भन्दै थिए– ‘डा. केसीको माग पूरा नगरी सरकारलाई सुखै छैन ।’ शान्तिपूर्ण रूपले आफ्ना विरोध कार्यक्रम अझै कसरी सशक्त बनाउन सकिन्छ भनेर उनीहरू छलफल गर्दै थिए ।

सामूहिक अनशनमा बसेका डाक्टरहरू आ–आफ्नै धुनमा थिए । केही गीत गाउँदै थिए भने त कसैले कविता, गजल वाचन गर्दै थिए ।

यसैबीचमा मेरो ध्यान एकजना डाक्टरमाथि मोडियो । उनी अरूले भन्दा भिन्न काम गरिरहेका थिए । खाली पानामा अनशनरत केसीका विभिन्न मुद्राका चित्र कोर्दै थिए । वरिपरिका मान्छेहरू एकाग्र भएर उसको पेन्टिङ हेरिरहेका थिए । उनको पेन्टिङ यस्तो आकर्षक थियो कि नजिकै पुग्ने जोकोही पनि एपटक टक्क अडिएर त्यसमा नजर लगाइहाल्थ्यो । मेरो पनि ध्यान त्यतै मोडियो ।

यसरी पेन्टिङ गरिरहेको दृष्य मेरा लागि नौलो थियो । किनकि, कसैले पेन्टिङ गरिरहँदा मैले यसअघि यति समय दिएर हेरेको थिइनँ । एउटा काठको फल्याकमा टाँसिएर उनी चित्र कोरिरहेका थिए । हातमा कालो र अन्य रङका साइनपेन लिएर उनी त्यो चित्रलाई मूर्त रूप दिनमा तल्लीन देखिन्थे ।

स्केच हेर्दा जति रोमाञ्चक थियो । त्यसको पृष्ठभूमि बुझेपछि मेरो मनमा अझै खुलदुली उजिब्यो । अनि नजिकै गएर हेरेँ । बिस्तारै त्यो स्केचले मूर्त रूप पायो । स्केच अरू कसैको नभएर अनशनरत डा. गोविन्द केसीको थियो ।

त्यो तस्बिरले मेरो मन तान्यो, त्यसलाई मैले आफ्नो मोबाइलमा पनि कैद समेत गरँे । स्केच बनाइसकेपछि उनले त्यसलाई भित्तामा टासेँ ।
मनमनै सोचेँ, यति राम्रो स्केच बनाउने मानिससँग केही कुराकानी गरौँ ।

नजिक बसिरहेका उनीतिर फर्किएर मैले सोधेँ, ‘तपार्इंसँग कुरा गर्न सक्छु ?’

सामान्य ढंगबाट प्रस्तुत हुँदै उनले भने, ‘भन्नुहोस् न !’

तपाईंको पेन्टिङले मलाई आकर्षित गर्यो । एनी वे म मिडियाबाट !

हो र ! तपाईंलाई मन पर्यो ? उनी फिस्स हाँसे ।

भेटघाटको केही समयमा नै उनीसँगको मेरो परिचयात्मक कराकानी सकियो ।

उनी रहेछन्, त्रिवि शिक्षण अस्पतालबाट इन्टर्न सकेका डा. सन्तोष उपाध्याय । सामूहिक अनशनमा बस्दा आफ्नो प्रतिभा देखाउने क्रममा सो स्केच तयार पारेको उनले बताए ।

उनको पेन्टिङले मलाई अघि नै प्रभावित पारिसकेको थियो । उनको पेन्टिङबारेमा उनीसँगै सोध्न मन लाग्यो । ‘यति राम्रो पेन्टिङलाई अस्पतालको भित्तामा किन त ?’ उनले सहज उत्तर फर्काए– ‘आज डाक्टरहरू डा.केसीको समर्थनमा सामूहिक अनशनमा बसिरहँदा मेरो पनि समर्थन जाहेर गर्दै आफ्नो प्रतिभा सबैलाई देखाउन मन लागेर ।’

उनी थप्छन्– ‘डा. केसीको जुन शालीन स्वाभाव र जीवनशैली छ, त्यसैलाई मध्यनजर गरेर मैले यो स्केच बनाएको हुँ ।’ उनले यस्तै स्केच बनाएर यसअघि नै डा. केसीलाई नै उपहार दिएका रहेछन् । जुन स्केचलाई डा.केसीले आफ्नो कोठामा सजाएर राखेको उपाध्यायले बताए ।

को हुन् डा. सन्तोष उपाध्याय ?

२०४७ सालमा अछाममा जन्मिएका उनी बाल्यवस्थादेखि नै चित्रकलामा रुचि राख्थे । गाउँमा पढ्ने वातावरण थिएन । त्यसकारण उनी घरभन्दा धेरै पर, कैलाली सदरमुकाम टीकापुरको खड्ग मेमोलियल बोर्डिङ स्कुल गएर पढे । त्यहीँबाट एसएलसी उत्तीर्ण गरे ।

मिहिनेती र परिश्रमी भएकै कारण उनी एसएलसीमा विद्यालयकै दोस्रो भए । परिवारले उनलाई विज्ञान संकाय पढ्न आग्रह गरे । काठमाडौं गएर प्लस टुमा भर्ना पनि गरिदिए । बिस्तारै मिहिनेत र परिश्रम गर्दै जाँदा राम्रै पोजिसन ल्याएर उनले प्लस टु उत्तीर्ण गरे ।

‘यो स्केचमार्फत सरकारलाई एक खालको दबाब सिर्जना हुन्छ भन्ने पनि मलाई लागेको छ । हरेक क्षेत्रका मानिस डा. गोविन्द केसीको सर्मथनमा छन् । जो जनताको हक र अधिकारका लागि आफ्नो ज्यानै दिन पनि तत्पर छन् । त्यसैअनुरूप डा. केसीको सुतेकै अवस्थाको फोटो बनाएको हुँ ,’ उनले भने ।

उनले प्रोफेसन रूपमा नै तस्बिर कोर्ने गरेका भने छैनन् । तर, फुर्सदमा आफ्नो मन लोभ्याउने तस्बिरहरू कोर्ने गर्दछन् । यस अर्थमा पेन्टिङ उनको सोख हो ।

स्केच बनाउँदा आफ्नो भोक–तिर्खाको पत्तो नगरी एकाग्र भएर रातैभरि बसेर स्केच बनाएको पनि अनुभव सुनाउँछन् । उनी वस्तुको गहिराइमा डुबेर स्केच बनाउने गर्दछन् । ४१ दिन लगाएर उनले ताज महलको चित्र बनाएका थिए । पेन्टिङ गर्दा आफूलाई आनन्दको अनुभूति हुने उनी बताउँछन् ।

सानैदेखि तस्बिर बनाउने रुचि भएका उनी डाक्टरी पेसासँगै आफ्नो सोखलाई पनि अघि बढाउँदै छन् । सानैमा मानिस, घर तथा वातावरणसम्बन्धी स्केच बनाउँदा स्कुलबाट पुरस्कृत भएको अनुभव सुनाउँछन्, उनी ।

डा. गोविन्द केसीको आन्दोलनमा उनी पहिलो अनशनदेखि नै साथमा रहे । केसीको दोस्रो अनशनका बेला नै उनले बनाएको पहिलो स्केचले मिडियामा स्थान पाएको थियो । उनी भन्छन्– ‘विडम्वना ! कसले बनाएको हो भनेरचाहिँ कसैलाई थाहा भएन ।’

त्रि–चन्द्र कलेजको पर्खालमा उनले डा. गोविन्द केसीको ‘स्प्रे आर्ट’ पनि बनाए । दरबार हत्याकाण्ड भएको २ वर्षपछि उनले राजा वीरेन्द्रको पनि स्केच बनाएका थिए । त्यो स्केचले पनि मिडियामा स्थान पाएको थियो । त्यसैगरी, उनले विश्वेश्वरप्रसाद कोइराला, पारस खड्कालगायतको पनि स्केच बनाएका छन् । यसैगरी, उनी कहिलकाहीँे भिडियो माध्यम र फोटोग्राफीबाट पनि आफ्नो प्रतिभा देखाउने गर्दछन् ।

नर्मल स्केच बनाउँदा आफ्नो रुचिको हिसाबले बनाउने गरिन्छ । डा. केसीको स्केचलाई एउटा सिम्बोलजस्तो मान्छन्, उनी ।

डा. केसीको मागको औचित्य पुष्टि गर्दै उनी भन्छन्, ‘डा. केसी १५औँ अनशनसम्म आइपुग्दा उनका माग पनि फरक–फरक किसिमका छन् । देशमा सुशासन आउनुपर्छ, जनताले सर्वसुलभ रूपमा स्वास्थ्य उपचार पाउनुपर्छ, कुनै पनि क्षेत्रमा जनताको अधिकार सुनिश्चित हुनुपर्छ, गल्ती गर्नेलाई कारबाही हुनुपर्छ भन्ने कुरा एउटा डा. गोविन्द केसीको मात्र माग नभएर राष्ट्रको हरेक जनताको माग भएकोे उनको भनाइ छ । अधिकार सुनिश्चित नभएसम्म चिकित्सक मात्रै होइन, सबै जनताले आवाज उठाउनुपर्ने उनको आग्रह छ ।

डा. सन्तोषसँगको लामो भलाकुसारीपछि म त्यही भवनको माथि उक्लिएँ, जहाँ डा. केसी अनशनमा थिए । माथि पुग्दा बाहिर एकजना प्रहरी उभिइरहेका रहेछन् । डा. केसीलाई भेट गर्न आउने केही मानिसहरू पनि ।

आफ्नो नाम टिपाएर म भित्र छिरेँ । भित्र हेर्दा डा. गोविन्द केसीको उपचारमा केही डाक्टर तल्लीन थिए । त्यही बेला अनुमति लिएर मैले अनशनरत डा. केसीको फोटो आफ्नो मोबाइलमा कैद गरेँ । डा. केसी बोल्न नसक्ने अवस्थामा थिए । हेर्दा लाग्थ्यो, उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर ।

डा. केसीका सहयोगीले धेरैबेर त्यहाँ बस्न नमिल्ने बताएसँगै म त्यहाँबाट बाहिर निस्किएँ, डा. केसीको स्वास्थ्यलाभ र वार्ताको सार्थकताको कामना गर्दै ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार