सरकारका कामबारे डटेर कुरा राख्न पार्टीका सांसद्लाई प्रमको निर्देशन

फरक धार

११ साउन २०७५, शुक्रबार

काठमाडौं/ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिएका छन् ।

नेकपा संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने– ‘शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्छ । यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।’

संसदमा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै उनले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै भने– ‘कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस् । म अनुहार नहेरी कारबाही गर्छु ।’

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न आग्रह गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पुर्याउने उल्लेख गरे ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार