संगीतमा सङ्लिँदै दीपक

संगिता गिरी

१२ साउन २०७५, शनिबार

काठमाडाैं/ दीपकराज विश्वकर्मा । व्यक्ति एउटा । तर, फरक छन् उनका ‘आइडेन्टिटी’ । उनी संगीतकार पनि हुन् । संगीतकार सँगसँगै प्रहरी जवान, गायक र मोडलसमेत हुन् ।

उनको दैनिकी व्यस्तताकै किनार भएर गुज्रिरहन्छ । उनलाई मान्छे भेट्नु पनि छ, गीत–संगीतको काम गर्नु पनि छ । ‘सत्य सेवा सुरक्षणम्’को मन्त्र पालना गर्ने नेपाल प्रहरीको जागिर पनि भ्याउनु छ ।

दीपकलाई जागिर प्लस संगीत नै हुन् व्यस्त बनाउने । त्यसमाथि उनी मोडलिङ गर्छन् । गाउँछन् । समयको सही सदुपयोग गर्न जानेका दीपक समयलाई चिन्नुपर्ने मान्यता राख्दै निरन्तर सेवा–साधनामा तल्लीन छन् ।

‘प्रहरी मेरो जागिर हो,’ संगीतलाई भोकका रूपमा लिने दीपक भन्छन्– ‘तर म संगीतको विद्यार्थी हुँ । जसकारण यो सधंै मेरा लागि शिक्षा लिने मात्र ठाउँ हो ।’

दीपकको दिन संगीतबाट सुरु हुन्छ । र, अन्त्य पनि । तर, बिहान १० बजेदेखि ५ बजेसम्म उनलाई जागिरले व्यस्त बनाउँछ । चाहेर पनि १०–५ को समय संगीतमा लगानी गर्न सक्दैनन्, दीपक । यद्यपि उनी दुःखी भने छैनन् किनभने उनी स्वेच्छाले संगीतमा लागे । तर, प्रहरी जवान चाहिँ समयको खेलले बनायो ।

गीत गाउन सानैदेखि मन पराउने दीपक ‘हुने बिरुवाको चिल्लो पात थिए’ । उनमा बाल्यकालदेखि नै संगीतप्रतिको सोख थियो । जब उनी कक्षा तीन–चार मा पढ्दै थिए, त्यति बेलै सांगीतिक क्षेत्रमा अगाडि बढ्ने लक्षण देखाइसकेका थिए ।

एउटा सानो बच्चाले आफैं गीत लेखेर, संगीत दिएर, गीत गाउनु भनेको भविष्यमा अझ राम्रो गर्न सक्छु भन्ने कुरालाई देखाउनु हो । यही कुरालाई उनको परिवारले मनन गर्दै सांगीतिक क्षेत्रमा अगाडि बढोस् भनेर संगीत कक्षामा भर्ना गरिदिए ।

उनको तारिफ चारैतिर फैलिँदै थियो । उनलाई सबैले राजु परियार र शिव परियारजस्तै बन्ने क्षमता छ भन्थे । तर, यस्तो कुरामा उनको त्यति ध्यान गएन । त्यो पल अहिले सम्झँदा उनलाई लाग्छ, त्यति बेला उनमा संगीतको भोक कति रहेछ भन्ने ।

बाल्यकालमै कस्तो गीत रचें होला, त्यो गीत के थियो भनेर याद गर्न कोसिस गर्छन् उनी । तर, याद गर्न सकेका छैनन् ।

भनिन्छ, बच्चा भनेको काँचो माटो हो । त्यसैले बच्चालाई जस्तो आकारमा ढालिन्छ, ऊ त्यस्तो बन्छ । दीपकले अाफू भविष्यमा के बन्छु भने बच्चामै संकेत दिइसकेका थिए । यदि यो संकेतलाई उनको परिवारले नबुझिदिएको भए, सायद उनी आज यो स्थानमा हुँदैनथे ।

उनी परिवारको साथ–सहयोग पाएकोमा निकै खुसी छन् । स्कुलमा हुने कुनै पनि सांगीतिक कार्यक्रममा उनी प्रथम हुने अवसर अरूलाई दिँदैनथे । कला क्षेत्रमा पाउने हरेक पुरस्कार आफ्नो नाममा पार्थे । शिक्षक–शिक्षिका र साथीभाइले दिने प्रतिक्रियाले झन् हौसला थप्ने काम गरिदिएको थियो ।

उनको परिवारलाई बोलाएर शिक्षक–शिक्षिकाले ‘तपार्इंको छोरा प्रतिभाशील छ, पढाइ पनि राम्रो छ, भविष्यमा गएर राम्रो काम गर्छ’ भनिदिँदा उनीहरूको छाती गर्वले फुल्थ्यो । दीपकको परिवार उनीप्रति निकै खुसी थियो । उनलाई कामका लागि कहिल्यै दबाब दिएन ।

चितवनको सिनर्जी एफएमबाट प्रसारण हुने हास्य कार्यक्रम ‘सिनर्जी हास्यमेला’मा जसले जित्छ त्यसले रेडियोमा काम गर्न पाउने भन्ने थियो । एसएलसी दिएर आएका दीपकले त्यो कार्यक्रममा सहभागिता जनाए । उनी प्रथम भए र रेडियोमा काम गर्न थाले ।

उनले त्यहाँ कार्यक्रम सञ्चालन गर्नुका साथै टेक्निसियनको काम पनि गरे । आम्दानी पनि राम्रै थियो । यसै क्रममा प्रहरी जवानको भर्ना खुलेको कुरा विदेशमा रहेको दाइबाट सुने । घरमा थाहा नदिई उनले फाराम भरे । नाम पनि निक्लियो ।

त्यतिबेलासम्म उनीसँग नागरिकता थिएन । घरमा नागरिकता बनाइदिनू भन्दा त्यति वास्ता भएन । रेडियोतिर नै चाहिएको होला भनेर केही नभनी नागरिकता बनाइदिएको कुरा सुनाउँछन् दीपक । उनी भन्छन्– ‘प्रहरी जवानमा नाम निक्लिएको कुरा घरमा सुनाउँदा विश्वास गर्नुभएन, नामको लिस्ट नै देखाएपछि मात्र पत्याउनुभयो ।’

सानैदेखि संगीतमा रुचि भएका उनलाई प्रहरी जवान बन्न भाग्यले जुराएको थियो । तर उनी आफूलाई सिक्ने चरणमा रहेको बताउँछन् । उनी भन्छन्– ‘संगीतमा रुचि भएको मान्छे नै संगीतमा लाग्ने हो । संगीतलाई जसले पछ्याउँछ त्यसमा निखार आउँछ । म सिक्दै छु, भोलिको दिनमा सफल हुन्छु भन्ने आशा छ ।’

संगीतलाई साधनाको रूपमा लिने दीपक जागिर र पारिवारिक कामले गर्दा संगीतमा धेरै समय दिन सक्दैनन् । उनले संगीत सिक्नकै लागि समय भने छुट्याएका छैनन्, तर उनको मनमस्तिकमा संगीत बसेको हुनाले समय मिलेको बताउँछन् ।

दीपक आफूलाई संगीतकर्मी भन्दा पनि ‘संगीतको भूत भएको मान्छे’ भन्छन् । एफएममा काम गर्दा उनलाई गायक–गायिकासँग नजिक हुने वातावरण मिलेको थियो । उनी भन्छन्– ‘संगीतकार दीपक शर्माले जन्मस्थान एउटै रहेछ, राम्रोसँग काम गर्नुपर्छ भन्नुभयो ।’

दीपकले २०७० सालमा दीपक शर्माको संगीत र गोकुल विष्टको शब्दमा पहिलो गीत ‘तिमी राम्ररी’ बोलको गीतमा स्वर भरेर संगीतिक क्षेत्रमा अगाडि बढेका थिए । छोटै समयमा उनले सयभन्दा बढी गीतमा संगीत भरिसकेका छन् भने २० वटा गीत रचना गरेका छन् । उनले सातवटा गीतमा आवाज दिएका छन् भने मोडलिङमा पनि हात हालिसकेका छन् ।

दीपकले नेपाल आइडलकी मेनुका पौडेल, दीपक लिम्बू, अन्जु पन्त, राज सिग्देलजस्ता चर्चित कलाकारसँग काम गर्ने अवसर पाएका छन् । आफूलाई संगीतमा भिजाएका दीपकले मोडलिङमा सोख लागेर एउटा गीतमा अभिनय पनि गरे । उनी भन्छन्– ‘मोडलिङको पारखी होइन, सोख लागेर गरेको थिएँ । पछि मोडलिङ गर्न पनि सक्छु तर अहिले पूरै ध्यान संगीतमा छ ।’

संगीत भर्नलाई पे्ररणास्वरूप उनले केही समयअघि राज सिग्देलले स्वर दिएका र सलिना पोखरेलको शब्द रहेको ‘आजै मर्छु’ बोलको गीतमा संगीत भरेर ओएस नेपाल म्युजिक अवार्ड हात पारेका छन् । छिट्टै हिट हुने सोख नभई बिस्तारै आफूमा निखार ल्याउने सोच छ उनमा ।

संगीतमा लाग्दा मात्र नभई आफूलाई इच्छा लागेको हरेक क्षेत्रमा लाग्दा समस्या आउँछ । सांगीतिक क्षेत्रमा लाग्दा सुरुमै पैसा कमाउने वातावरण हँुदैन । संगीतमा पनि साधना चाहिन्छ र नियमित लागिपर्याे भने सफल हुने कुरा हो । दीपक आफ्नो संघर्षको कुरा सुनाउँदै भन्छन्– ‘मलाई टाइम म्यानेज गर्न गाह्रो भयो, कति दिन खाना नखाई पनि अफिस गएको छु, भौतारिँदा भौतारिँदै यहाँसम्म आएको छु, हेराैं बाँकी दिनमा के हुन्छ ।’

दीपक आफूले रोजेको बाटोप्रति सन्तुष्ट भए पनि आफूले गरेको कामप्रति असन्तुष्टि जनाउँछन् । सन्तुष्टि नै अन्तिम बिन्दु हुने भएकाले आफूले धेरै मेहनत गर्न बाँकी भएको भन्दै असन्तुष्टि जनाउँछन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार