संघीय संसदले बोलायो राष्ट्रिय दलको बैठक

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं/ संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ५ दलको बैठक आइतबार बोलाएको छ । सोमबार बस्ने संसदको पहिलो बैठकको कार्यसूची तयार पार्न आइतबार १० बजे राष्ट्रिय मान्यताप्राप्त पाँच दलका नेताहरुसँग सचिवालयले छलफल गर्न लागेको हो ।

प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय दलको मान्यता पाएका छन् । संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार पहिलो बैठकको कार्यसूची तयारीका लागि राष्ट्रिय मान्यताप्राप्त पाँच दलसँग छलफल गर्न लागिएको हो ।

संसदको कार्यसञ्चालन नियमावली नबनुन्जेलका लागि अन्तरिम कार्यविधिको मस्यौदाबारे र बैठकको कार्यसूचीबारे जानकारी दिनका लागि पाँच दलको बैठक बोलाइएको उनले जानकारी दिए ।

मस्यौदा कार्यसूचीमा सर्वप्रथम राष्ट्रपतिले संसद आव्हान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि एक मिने ज्ञातअज्ञात सहितहरुप्रति मौन धारण हुनेछ । मौनधारणपछि राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुलाई बोल्न दिने कार्यसूची रहेको छ ।

यसै गरी बैठक सञ्चालनका लागि आवश्यक पर्ने अन्तरिम कार्यविधिसमेत पारित गर्न कार्यसूचिमा समेटिने छ । त्यसका लागि छलफल गर्न आज संसद भवन बानेश्वरमा बैठक बालाइएको सचिवालयले जनाएको छ ।

बैठकमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष चयनबारे पनि छलफल हुने बताइएको छ । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यक्ष र उपाध्यक्ष तथा सभामुख र उपसभामुख फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार