कार्यकर्ता रिहाइपछि नुवाकोट बन्द फिर्ता

फरक धार

१२ साउन २०७५, शनिबार

नुवाकोट – प्रहरीले शुक्रबार पक्राउ गरेका आफ्ना कार्यकर्तालाई गएराति नै रिहाइ गरेपछि नेपाली कांग्रेसले शनिबार गर्ने भनेको नुवाकोट बन्द फिर्ता लिएको छ ।

विदुर नगरले बढाएको एकीकृत सम्पत्ति कर घटाउन माग गर्दै विहीबार नेपाली कांग्रेसले नगरपालिका घेराउ कार्यक्रम गरेको थियो । सो क्रममा नगरपालिका कार्यालयमा भएको तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघमा आबद्ध नमराज सुवेदी, उत्सव श्रेष्ठ र नीरज चित्रकारलाई रिहाइ गरेपछि जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।

जिल्ला बन्दको कार्यक्रम फिर्ता भए पनि कर नघटाएसम्म विरोधका अन्य कार्यक्रम जारी रहने सचिव अधिकारीले बताए ।

विदुर नगरपालिकाले चालू आर्थिक वर्षदेखि नगरक्षेत्रको जग्गाको मूल्यांकन बढाएर एकीकृत सम्पत्ति कर लगाएपछि साविकमा कर तिर्दै आएको करभन्दा १५ देखि २० गुणासम्म वृद्धि भएको छ । उक्त बढेको कर फिर्ता गर्न नगरवासीले माग गरेका छन् ।

विदुर नगरपालिकाका उपमेयर गीता दाहालले २०७१ सालको निर्णयअनुसार नै कर लगाएको बताइन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार