११ भाषामा शपथ लिँदैछन् सांसद्

फरक धार

२० फागुन २०७४, आइतबार

निर्वाचन सम्पन्न भएको तीन महिनापछि आज (आइतबार) संघीय संसद्का ३३१ सांसदले शपथ लिँदै छन् । प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५६ सांसदले शपथ लिने लागेका हुन् । राष्ट्रिय सभामा मनोनित तीन जनाको सपथ कार्यक्रम अदालतले रोकेको छ ।
यो शपथमा सांसदहरूले नेपाली भाषासहित ११ भाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयले आइतबार साँझ ५ बजे राष्ट्रिय सभाका सांसद र ४ बजे प्रतिनिधिसभाका सांसदका लागि शपथ कार्यक्रम राखेको छ ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने सदस्यहरूले नेपालीबाहेक भाषामा शपथ लिन शुक्रबारसम्म आफूले शपथ लिने बेहोरासहित निवदेन दिएका छन् । निवेदन दिने सांसदको संख्या ४२ रहेको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा राष्ट्रिय जनता पार्टीका महेन्द्र राय यादवले शपथ खुवाउने छन् । उनले राष्ट्रपतिबाट मातृभाषा बाज्जिका भाषामा शपथ लिन निवेदन दिएका छन् । राष्ट्रिय सभामा ६९ वर्षकी तारादेवी भट्टले शपथ खुवाउनेछिन् । उनले पनि राष्ट्रपतिबाट ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिनेछिन् ।

राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश सांसदले हिन्दी भाषा रोजेका छन् भने राजपाका महन्थ ठाकुरले भने मैथिली भाषामा शपथ लिने भएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सांसद पदको शपथ मैथिलीमा लिने भएका छन् । माओवादी केन्द्रका सांसद एवं पूर्वसभामुख ओनसरी घर्ती र नेता वर्षमान पुनले मगर भाषामा शपथ लिन निवेदन दिएका छन् ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाका ६ सांसदले आफ्नो फरक भाषामा शपथ लिन निवेदन दिएका छन् । जसमा मैथिली भाषामा वृषेशचन्द्र लाल, डा. सुरेन्द्रकुमार यादव, प्रमिला कुमारी र सूर्यनारायण यादवले शपथ लिनेछन् । यस्तै, राष्ट्रिय सभामा रमेश यादवले हिन्दी र रामप्रीत पासवानले बज्जिका भाषामा शपथ लिनेछन् । उनीहरूले आफ्नो शपथको भाषासमेत सचिवालयमा बुझाइसकेका छन् ।

संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार संघीय संसद्का सदस्यहरूले आफ्नो रोजाइको भाषामा शपथ लिन निवेदन दिने समय शुक्रबार सकिएको छ । शुक्रबारसम्ममा ४२ जना सांसदले आफूले छुट्टै भाषामा शपथ लिने निवदेन दिएको र उनीहरूको भाषाको बेहोरासमेत सचिवालयमा दर्ता भइसकेको उनले जानकारी दिए ।

‘शपथको बेहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद् सचिवालयलाई बुझाउनुभएको छ,’ प्रवक्ता डा. गौतमले भने, ‘नेपालीपछि सबैभन्दा धेरै मैथिली भाषामा शपथ लिने सांसदहरू देखिनुभएको छ ।’

यसैगरी, संघीय संसद्को प्रतिनिधिसभातर्फ नेपालीपछि सबैभन्दा बढी मैथिली भाषामा शपथ हुने भएको छ । मैथिली भाषामा शपथ लिनेहरूमा उपेन्द्र यादव, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, महन्थ ठाकुर, रेणुकुमारी यादव, दिल कुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झा रहेका छन् । यस्तै, हिन्दीमा शपथ लिनेहरूमा अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल, सरिता गिरी र चन्दा चौधरी रहेका छन् ।

यसैगरी, प्रतिनिधिसभामा भोजपुरी भाषामा शपथ लिनेहरूमा प्रदीप यादव, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, हरिनारायणप्रसाद रौनियार र अकवाल मियाँ रहेका छन् । यस्तै, थारू भाषामा शपथ लिनेहरूमा गंगा चौधरी सत्गौवा, शान्ता चौधरी र रेशमलाल चौधरी छन् । यस्तै, मगर भाषामा वर्षमान पुन र ओनसरी घर्ती शपथ लिँदै छन् । नेपाल भाषामा संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले शपथ लिने भएका छन् । यस्तै, अवधी भाषामा मोहम्मद इस्तियाक राई, तामाङ भाषामा हितबहादुर तमाङ, बज्जिका भाषामा महिन्द्रराय यादव र उर्दू भाषामा रोहिनाजले शपथ लिने भएका छन् ।

 

ज्येष्ठ सदस्यले मातृभाषामा शपथ लिने
नागरिकतामा भएको गल्तीले राजपा अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आइतबार जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने भएका छन् । सांसदलाई शपथ खुवाउनुअघि उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् ।

यादवले राष्ट्रपतिसमक्ष मातृभाषा बज्जिकामा शपथ लिँदै छन् । उनले शपथको बेहोरा संसद् सचिवालयलाई उपलब्ध गराइसकेका छन् । १५ असार २०११ मा जन्मिएका यादवको नागरिकतामा जन्ममिति १९९४ साल लेखिएको छ । उमेरले ६३ वर्ष मात्र पुगेका उनले संसद्मा ८० वर्षको हैसियतमा शपथ खुवाउन लागेका हुन् । उनले नागरिकताको जन्ममितिअनुसार शपथ खुवाउन लागेको प्रतिक्रिया दिए । उनले आफूले आफ्नो सांस्कृतिक पहिरन प्रयोग गर्ने बताए । ‘संविधानले दिएको अधिकारको कुरा हो, सबैको वेशभूषा र भाषालाई समान अधिकार कानुनले दिएको छ,’ उनले भने भने, ‘संसद् सचिवालयमा भाषाको कुरा लेखेर पठाएको छु ।’

शपथका लागि रेशम चौधरीको निवेदन
प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ बाट निर्वाचित भएका रेशमलाल चौधरीले पनि आफूले शपथ लिने भाषा रोजेर संसद् सचिवालयमा निवेदन दर्ता गराएका छन् । टीकापुर घटनाका अभियुक्तका रूपमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले गत १४ फागुनमा अदालतसामु आत्मसमर्पण गरेर बयान दिएका थिए । उनको बयानपछि भएको थुनछेक बहसमा उनलाई थुनामा राख्न आदेश भएको थियो ।

फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । तर, उनले चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । चुनाव जितेको प्रमाणपत्र नै नपाईकन उनले शपथका लागि सचिवालयमा आफूले थारू भाषामा शपथ लिने भन्दै शपथको बेहोरोसमेत बुझाएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।
७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो ।

घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारू नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार