नेपाली कामदार नपठाउने निर्णय पुनर्विचार गर्न मलेसियन सरकारकाे अाग्रह

फरक धार

१२ साउन २०७५, शनिबार

नेपालले कामदार पठाउन रोक लगाएपछि मलेसियन सरकारले निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसिया सरकारले पहिलोपटक औपचारिक रूपमा यस्तो आग्रह गरेको हो । मलेसिया सरकारका तर्फबाट मानव संसाधनमन्त्री एम कुलासेगरले निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

मलेसिया जान भिसा प्रोसेसिङका लागि वन स्टप सेन्टर र भिएलएन नेपालसहित ५७ देशमा छ। भिसा प्रोसेसिङका लागि मलेसियन सरकारले निजी कम्पनीहरूलाई एउटै प्रक्रियाबाट ल्याउन सहमति गरेका कारण नेपालको हकमा पनि त्यसलाई उल्टाउन नसकिने मन्त्री कुलासेगरले बताएका छन् ।

नेपाली कामदारसहित मलेसिया विदेशी कामदारमै निर्भर रहेको भन्दै उनले कामदार पठाउने देशको यस्तो निर्णयले मलेसियाको प्रगतिमै असर पर्ने बताएका छन् । नेपाली कामदारमा विषयमा देखिएको समस्या समाधानका लागि मलेसियन सरकार उपयुक्त विकल्प खोजी गरिरहेको पनि उनले बताए ।

‘तेस्रो पक्षीय कम्पनीले एकतर्फी रूपमा कामदारलाई अनावश्यक रूपमा रकम असुलेको बारे मलेसिया सरकार जानकार छ,’ मन्त्री कुलासेगरले भने, ‘यो निर्णय अघिल्लो सरकारकै पालामा भएको हो।’ त्यसका लागि दुई हप्तादेखि नेपाली पक्षसँग कुराकानी भइरहेको मलेसिया सरकारले जनाएको छ।

समस्या समाधान गर्न दुई देशका सरकारबीच सम्झौता गरेर अर्थात् जी टु जी प्रणालीमार्फत् कामदार ल्याउने व्यवस्था गर्न सकिने उनले बताए । मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानूनी रूपमा रकम लिएर ठगी गरेको भन्दै सरकारले मलेसिया जान रोक लगाएको छ । जेठ २ गतेसम्म प्रक्रिया पूरा गरेका कामदार भने मलेसिया जान सक्नेछन्।

मलेसियामा नेपाली कामदार प्राथमिकतामा छन् । फिलिपिन्सपछि मलेसियामा धेरै नेपाली कामदार छन् । मलेसियाभन्दा अन्य खाडी मुलुकको सेवा–सुविधा राम्रो भएका कारण नेपाली कामदार अन्य मुलुकतिरै आकर्षित हुन थालेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार