लर्ड्समा नेपालले एमसीसीलाई नौ विकेटले हरायाे, नेदरल्यान्डसँगकाे खेल रद्द

फरक धार

१४ साउन २०७५, सोमबार

काठमाडौँ- बेलायतको लर्ड्स क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्याे ।

वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार साहले नौ रनको योगदान दिए ।

यसअघि ब्याटिङ गर्दै एमसीसीका लागि कप्तान माहेला जयवद्र्धनेले अविजित २४ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले दुई तथा शक्ति गौचनले एक विकेट लिए ।

लर्ड्समै भएकाे अर्काे नेपाल र नेदरल्याण्ड्सबीचको खेल खराब माैसमका कारण रद्द भएको छ । पटक-पटक पानी परेपछि खेल रद्द भएको हो ।

त्रिकोणीय प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले टस जितेर पहिले पहिले बलिङ राेजेकाे थियाे । तर, खेल सुरु भएपछि बारम्बार पानी परेकाले खेल रद्द गरियाे ।

खेल रद्द हुनुअघि नेदरल्याण्ड्सले १६.४ ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । नेपालका लागि करन केसी, बसन्त रेग्मी र सोमपाल कामीले १-१ विकेट लिएका थिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार