त्यो मन भन्छ- ‘पढ्न पाऊँ’

महावीर विश्वकर्मा

१४ साउन २०७५, सोमबार

केहीबेरमा ब्युँझिएँ । छेउमा भाइ पनि निदाएका थिए । मलाई झ्वाट्ट लिखेको याद आयो । शरद पौडेलको ‘लिखे’ उपन्यासको प्रमुख पात्र लिखे । गाउँबाट काम गर्न भनी दिल्ली लाउरेको पछि लागेर दिल्ली हिँड्दा लिखेले गाडीमा बान्ता गरेको, दिल्ली लाउरे एकैछिन गाडी बाहिर जाँदा नि लिखे छट्पटाएको, लाउरेले जेरी किनेर खुवाएको, रेल कुरेर बस्दा लिखे बेन्चमै निदाएको...सबै सबै सम्झिएँ ।

गत शनिबार मलाई चितवनबाट काठमाडौं फर्किनुपर्ने थियो । शुक्रबार नै बसामाडी (हेटौंडा नजिक)बाट मामाले फोन गर्नुभयो ।

‘तिमी कहिले फर्किने हो काठमान्डु ?’

‘म भोलि हो मामा ।’

‘ए, उसो भए तिमी फर्किंदा यहाँबाट भाइलाई सँगै लिएर जाऊ ।’

‘को भाइ हो र मामा ?’

‘पारिको मायाको छोरा, अब उतै काममा लगाइदिनुप¥यो ।’

मैले ‘हुन्छ’ भनेँ ।

फोन राखेपछि ती भाइको विषयमा घरमा केही कुरा भयो ।

‘काठमाडौंमा हुँदा उनीहरूको परिवार स्ट्यान्डर्डसँग बसेको, भाइको पढाइ पनि राम्रो भएको तर पछि बुबाले बेवास्ता गरेपछि दुःख पाएको, अहिले ती भाइ मावलीमा बस्दा जंगलमा पाइने निगुरो पनि काँचै खाने गरेको’ यस्तै यस्तै कुरा थाहा पाएँ ।

भोलिपल्ट मामाघर पुगेँ ।

‘के गर्ने, अब दुई वर्ष हुन लागिसक्यो बाउचाहिँ कहाँ हो भन्ने ठेगान छैन, आमाचाहिँ खाली रक्सी खाएर हिँड्छ’ मामाले ती भाइबारे मलाई बताउन थाल्नुभयो, ‘यहाँ खाने–बस्ने ठेगान पनि भएन यसको । अस्ति म गा’को, भात खानका लागि अर्काको घरमा मल बोक्न गाको रैछ यो, मेरो आँखाबाट आँसु झ¥यो ।’

मामाले सुनाएको कुराले मलाई पनि मनमा च्वास्स छोयो । यो गरिबी भन्ने चिज किन यति कठोर हुन्छ होला ? ती भाइपट्टि पुलुक्क हेरेँ । उनी मसँगै हिँड्नका लागि झोलामा लुगा खाँद्दै थिए ।

मामा बोल्दै हुनुहुन्थ्यो, ‘त्यै भएर यसलाई काम सिक्न काठमाडौं पठाइदिन लाग्या, शोभा भान्जीको बुढाकोमा तामाको काम सिक्न । सीप सिक्यो भने आफ्नो ज्यान त पाल्छ नि ।’

‘ए….’ मैले यत्ति मात्रै भनेँ । अरू के भन्ने थाहै भएन ।

अनि मामाले खल्तीबाट ५०० रुपैयाँ झिकेर मलाई दिँदै ‘भाइको भाडा लेऊ’ भन्नुभयो ।

‘पर्दैन मामा, मसँग छ म दिइहाल्छु नि भाडा’ मैले पैसा नलिन खोजेँ ।

‘घर आ’को यत्रो दिन भइसक्यो, खर्चै खर्च छ तिमीलाई पनि, लेऊ लेऊ’ पछाडिबाट माइजू बोल्नुभयो ।

यसो सोचेँ, ‘साँच्चि मेरो बगलीको पर्समा कति पैसा छ ?’ त्यसपछि माइजूको कुरा ठीक लाग्यो र हात थापेँ ।

अर्को सय रुपैयाँ झिकेर ती भाइको हातमा राखिदिनुभयो मामाले, ‘केही खान हुन्छ’ भन्दै ।

त्यसपछि हामी हेटौंडा पुग्यौं र काठमाडौं आउन सुमोको टिकट काट्यौँ । टिकट काउन्टरतिर जाँदै गर्दा भाइलाई यसो हेरेँ ।

लुगा धेरै कोचेकाले फुटुँलाझैं गरिरहेको कालो स्कुले ब्याग, लुगाको भारीले च्यातिँदै गएको ब्यागको फित्ता । भविष्यप्रति बेखबर एउटा मलीन अनुहार । अनि लुरुलुरु मलाई पछ्याउँदै गरेका एक जोडी कलिला पैताला ।

सोचें, ‘यो दृश्य निकै महत्वपूर्ण छ उनको जीवनमा । यहीँबाट त मोडिँदै छ उनको जिन्दगीको यात्रा । ब्याग बोकेर मलाई पछ्याइरहेकै अवस्थामा उनको फोटो खिचौँ कि भन्ने पनि लागेथ्यो । फेरि सोचेँ, भैगो दुःखको प्रमाण पनि के सँगाली राख्नु ।’

दिउँसोको १२ बजेको थियो । दुईजनाको भाडा कटाउनु भनेर काउन्टरमा एक हजार रुपैयाँ दिएँ । एक सय ५० रुपैयाँ फिर्ता आयो । त्यो फिर्ता भाइलाई दिएँ । अनि आफ्नो पर्सबाट दुई सय रुपैयाँ झिकेर त्यो पनि दिएँ । भनें, ‘तिमीलाई कहिलेकाहीँ खान मन लागेको कुरा खानु है !’

उनी बोलेनन् । ‘हुन्छ’ भन्ने भावमा टाउको हल्लाए मात्रै ।

टिकट काटेपछि यसै बसिरहँदा मलाई एक्कासि यस्तो लाग्यो– ‘यो भाइलाई पढाउन पाए…’ । भाइले थाहा नपाउने गरी एकजना साथीलाई फोन गरेँ । भाइको अवस्थाबारे बताएँ र उनलाई पढाउन पाए हुने भन्दै कतै बुझिदिन अनुरोध गरेँ ।

आधा घण्टामा गाडी हिँड्छ भनेका थिए । कुरिरह्यौँ । एक घण्टा भयो । गाडीले अरू यात्रु पाएन । अनि हामी दुईजनालाई अर्को सुमोमा सारिदिए । त्यसपछि पनि अर्को एक घण्टा बित्न लागिसकेथ्यो तर अझै सबै सिट भरिएन ।

म केहीपटक हेटौंडाबाट काठमाडौं फर्किंदा टिकटमा चार ससय लेखे पनि ५०० भाडा तिरेर आएको छु । गाडी नै नपाएपछि के गर्नु त ! तर योपटक अचम्मै भयो, सधैं यात्रुले सुमो पाउँथेनन् तर यसपटक सुमोले यात्रु पाइरहेको थिएन ।

‘यस्तो दिन पनि आउँदो रे छ’ भन्ने लाग्यो ।

साउने दिन भए पनि बाहिर घाम चर्किएर बस्नै गाह्रो । भित्र पनि गर्मी त थियो नै, तर बाहिरजस्तो घाम थिएन । त्यसैले सुमोभित्रै बस्यौँ । गाडीको ड्राइभर अरू यात्रु खोज्नमा व्यस्त देखिन्थे ।

‘के गरेर बस्ने होला त खै !’ भन्ने लाग्यो ।

तत्काल लुँडो खेल सम्झिएँ अनि मोबाइल झिकें । भाइतिर मोबाइल तेस्र्याउँर्दै भनें, ‘लौ खेलौं’ । भाइको ३ वटा गोटी निस्किसक्दा मेरो एउटा मात्रै निस्किएको थियो । उनको गोटीले मेरो त्यै एउटा गोटीलाई पनि लघारिरहेको थियो । उनको तीनवटा गोटी निस्किएकोमा अघि नै देखि कता–कता खुसी लागिरहेको थियो मलाई, अब त झन् ‘उनको यो गोटीले मेरो गोटी काटिदिए नि हुने’ भन्ने लाग्न थाल्यो । सायद मलाई उनको अनुहारमा खुसी हेर्नु थियो । ‘हारेर पनि जित्नु’ भनेको यही त होला नि ।

‘ल..ल..तपाईंहरू पछाडिको सिटमा बस्नु अब हिँडिहाल्ने हो’ यति नै बेला सुमो चालकले बाँकी यात्रु खोजेर ल्याए र गाडी अघि बढाए । मेरो हार्ने रहर अधुरै रह्यो ।

बाटोमा भाइ निदाउँदा उनको टाउको मेरो पाखुरामा आएर ढल्किन्थ्यो । त्यतित्यतिबेला उनको सहारा आफू बन्न पाएझैं महसुस हुन्थ्यो मलाई । क्षणिक थियो त्यो, र पनि त्यस्तो महसुस भने भइरह्यो बेलाबेलामा ।

फाखेल आइपुग्दा पहिरोले बाटो अवरुद्ध रहेछ । हामी गाडीभित्रै बसिरह्यौं । म एअरफोन कानमा लगाएर पुराना हिन्दी गजल सुन्दै थिएँ ।
जगजित सिंह गाउँदै थिए:

हमसफर बन के हम साथ है आज भी
फिर भी हे ए सफर अजनवी अजनवी ।
राह भी अजनवी, मोड भी अजनवी
जाएँगे हम किधर, अजनवी अजनवी ।

म जगजितलाई सुन्दासुन्दै निदाएछु ।

केहीबेरमा ब्युँझिएँ । छेउमा भाइ पनि निदाएका थिए । मलाई झ्वाट्ट लिखेको याद आयो । शरद पौडेलको ‘लिखे’ उपन्यासको प्रमुख पात्र लिखे । गाउँबाट काम गर्न भनी दिल्ली लाउरेको पछि लागेर दिल्ली हिँड्दा लिखेले गाडीमा बान्ता गरेको, दिल्ली लाउरे एकैछिन गाडी बाहिर जाँदा नि लिखे छट्पटाएको, लाउरेले जेरी किनेर खुवाएको, रेल कुरेर बस्दा लिखे बेन्चमै निदाएको…सबै सबै सम्झिएँ ।

‘ओहो ! भाइलाई पनि त भोक लाग्यो होला नि’ भन्ने सोचेँ । हुन त दुई घण्टाजति अघि देउरालीमा खाजा खाएका थियौँ तर उनलाई भोक लाग्यो कि भन्ने लाग्यो । अनि उठाएँ ।

‘केही खान जाऊँ है त्यहाँ’ अलि परको होटलमा देखाउँदै भनें ।

उनले साउती मारेको आवाजमा ‘हुन्छ’ भने । होटलमा चाउचाउ मात्रै रहेछ ।

‘जाम खुलेन भने त यो जंगलमै बास पर्छ’ भन्ने सोचेर पाँच प्याकेट किनेँ । एक–एक प्याकेट खाएर अरू झोलामा राख्यौं । तर केहीबेरमा जाम खुल्यो ।

कोठामा आइपुगेपछि खाना बनाउँदै गर्दा मैले उनको पढाइप्रतिको रुचि बुझ्न खोजें ।

‘कति वर्षको भयौ ?’

‘१२ ।’

‘कति पढेर छोडेको तिमीले ?’

‘पाँच कक्षा ।’

‘कति भो नि छोडेको ?’

‘खै दुई वर्ष त भयो होला,’ उनले अनुमान लगाए ।

‘पढाइ कत्तिको राम्रो थियो नि तिम्रो ?’ मेरो अर्को प्रश्न ।

‘म थर्ड हुन्थें’ उनको जवाफ ।

फेरि सोधेँ, ‘किन नपढेको नि ?’

उनी केही बोलेनन् ।

‘धत्… के सोधेको होला मैले पनि ।’ आफ्नै प्रश्नप्रति आफैंलाई अप्ठ्यारो लाग्यो । अनि हत्तपत्त सोधें–‘पढ्न पाए पढ्छौ ?’

‘अँ..पढ्छु’ उनी खुसी हुँदै बोले, थोरै हाँसो मिसाएर ।

मलाई खासमा यो अन्तिम जवाफ मात्रै चाहिएको थियो, अरू त उनको विद्यार्थी पृष्ठभूमि बुझ्नका लागि मात्रै सोधेको थिएँ ।

हिजो आइतबार उनलाई काम सिक्ने ठाउँमा छोडेर फर्किएँ म । उनीसँग छुट्टिँदै गर्दा मैले भनेको छु– ‘मैले आफैंले चिनेको संस्था त छैन तर म कुनै संस्थाले पढाइदिन्छ कि बुझ्छु है, केही दिन काम सिक्दै गर’ ।

मैले एउटा आशा त जगाएको छु उनको मनमा । तर म आफैंलाई भने शंका छ, कतै उनले काम सिक्दासिक्दै दिनहरू महिना र वर्ष हुँदै बितिजाने त होइन ?

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार