सुर्खेतमा २८ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन

फरक धार

१४ साउन २०७५, सोमबार

सुर्खेत – जिल्ला मालपोत कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४/७५ मा आफ्नो प्रक्षेपित लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

आव २०७४/७५ मा जिल्ला मालपोत कार्यालय सुर्खेतले २८ करोड ५४ लाख ५१ हजार ६ सय ५१ रुपैयाँ राजश्व संकलन गरेको हो । जग्गा रजिष्ट्रेसनमा मात्रै ११ करोड ४२ लाख २८ हजार राजश्व उठाउने लक्ष्य राखेको मालपोत कार्यालय सुर्खेतले २७ करोड ८७ लाख ४७ हजार ६ सय ९५ राजश्व संकलन गरेको जिल्ला मालपोत अधिकृत कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

जग्गा राजीनामा, अंशबण्डा, सट्टापट्टा, छोडपत्र, संगोलमा, दर्ताफारी, अंश भरपाइ, दृष्टिबन्धक, नाताभित्र तथा बाहिरको बकसपत्र, पतिपत्नीको संगोलनामा, बण्डाफारी र दानपत्रजस्ता लिखत पारितबाट २७ करोड ८७ लाख ४७ हजार र अन्य शीर्षकबाट ६७ लाख तीन हजार ८ सय ५६ गरी जम्मा २८ करोड ५४ लाख ५१ हजार ६ सय ५१ राजश्व संकलन भएको हो ।

मालपोत अधिकृत पोखेरलका अनुसार सबैभन्दा बढी जग्गा राजीनामाबाट २३ करोड ३४ लाख ९१ हजार ९ सय २५ राजश्व उठेको छ । धितो बन्धकबाट दुई करोड १४ लाख ५३ हजार र नाताभित्रको बकसपत्र पारितबाट एक करोड १७ लाख ७१ हजार ७ सय ८५ राजश्व संकलन भएको छ । महिलालगायत विभिन्न वर्गलाई राज्यले दिएको सुविधाअनुसार गएको वर्ष ४ करोड नौ हजार १ सय ९६ राजश्व छुट दिइएको छ ।

कार्यालयका नायब सुब्बा दुर्गाप्रसाद आचार्यले लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजश्व उठेको बताए ।

‘राजश्व संकलन लक्ष्यभन्दा उठ्नुको प्रमुख कारण पहिलो सुर्खेत राजधानी तोकिनु त्यसप्रतिको आकर्षण नै हो,’ नायब सुब्बा आचार्यले भने । गत वर्षभन्दा २०–२५ प्रतिशत जग्गाको मूल्यांकन बढ्नु र बैंकिङ सेवामा ऋण प्रवाह हुनुले लक्ष्यभन्दा बढी राजश्व संकलन भएको बताइएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार