बढ्दो वाकयुद्धबीच इरानका नेतासँग वार्तामा बस्न ट्रम्प तयार

फरक धार

१५ साउन २०७५, मंगलवार

एजेन्सी– बढ्दो वाकयुद्धबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनसुकै बेला इरानका नेताहरूसँग भेट्न तयार रहेको बताएका छन् । भेटवार्ता विनाकुनै पूर्वसर्त र जुनसुकै बेला हुनसक्ने ट्रम्पको भनाइ छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले आपूm भेटवार्तामा विश्वास गर्ने व्यक्ति भएको बताउँदै जोसुकैलाई भेट्न सक्ने बताए । भेटवार्ताको प्रस्ताव गर्दै ट्रम्पले भने, ‘यदि उहाँहरू भेट्न चाहनुहुन्छ भने हामी भेट्न सक्छौं ।’

ट्रम्पको प्रस्तावपछि इरानी राष्ट्रपति हसन रुहानीका एक सल्लाहकारले ‘पारमाणविक सम्झौतामा फर्केमा’ र ‘इरान राष्ट्रका अधिकारको सम्मान गरेमा’ त्यसले वार्ताका लागि बाटो खोल्ने भन्दै ट्वीट गरेका छन् । यदि भइहाले सन् १९७९ को इरानी क्रान्तिपछि अमेरिकी र इरानी नेताहरूबीच पहिलोपटक भेटवार्ता हुनेछ ।

इरानको परमाणु कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच तनाव रहँदै आएको छ । जुलाईको सुरुवाततिर अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपनि रुहानी वाकयुद्धमा उत्रिएका थिए । आरोप–प्रत्यारोप देख्दा रुहानीसँग वार्ता गर्न ट्रम्प तयार होलान् भन्ने कसैको अनुमान थिएन । तर, उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखरवार्ताले ट्रम्प संवादका लागि लचिलो छन् भन्ने पुष्टि गर्छ ।

बढ्दो वाकयुद्धबीच ट्रम्पको अभिव्यक्तिमा अचानक परिवर्तन आउँदा किमसँगको भेटका लागि उनले गरेका प्रयासको झझल्को दिन्छ । ऐतिहासिक भेटवार्ताअघि ट्रम्प र किम एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने र धम्की दिने गर्थे ।

गत मेमा अमेरिका सन् २०१५ मा भएको इरानसँगको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट अलग भएको थियो । सम्झौताअनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएपछि इरानले आफ्नो परमाणु कार्यक्रम नियन्त्रण गरेको थियो । उक्त सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधका बाबजुद अमेरिकाले केही दिनभित्र इरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको बिबिसीले जनाएको छ ।

मध्यपूर्वमा इरानका गतिविधिलाई लिएर अमेरिकाले निकै शंका गर्दै आएको छ । इरानका दुई प्रतिद्वन्द्वी मुलुक इजरायल र साउदी अरेबियासँग अमेरिकाको निकट सम्बन्ध छ । गत मेमा ट्रम्पले इरानसँगको परमाणु सम्झौतालाई भयंकर र एकपक्षीय भएको टिप्पणी गरेका थिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार