#farakक्षमताः अपांगता भौतिक संरचनाले बनाएको हो

साेनिका ढकाल

१५ साउन २०७५, मंगलवार

जीवन सपनाको शृंखला रहेछ । उमेरअनुसार सपना र रहरले रूप फेर्दै जाने । केही टुट्छन्, फेरि जुट्छन्, र केही समयसँगै छुटेर जान्छन् । म त्यस्तै एक पात्र हुँ । जसको केही सपनाहरू दसैंको पिङको मच्चाइबाट छुटेर गयो ।

मेरुदण्डमा गम्भीर चोट लागेर अस्पतालमा थलिँदा लाग्थ्यो सपनाहरू क्षणिक हुन् । यी आइलाएपछि मौलाउँदैनन् । यस्तै लाग्थ्यो जब आफ्नै सहारामा हिँड्दाहिँड्दै अस्पताल पुगेको शरीर ह्विलचियरको भरमा बाहिर आउँदा ।

भौतिक र सामाजिक अवरोधका पर्खालहरूमा ह्विलचियर ठोकिएर अगाडि बढ्ने बाटो नभेट्टाउँदा ।

तर अहिले मैले पन्छाइसकें बाटोमा आएका तमाम अवरोध । आफ्नो बाटो आफैं बनाएर यात्रा अघि बढाउन सक्षम भएकी छु म । र बाँकी रहेका केही थान सपना पूरा गर्ने कोसिसमा लागिरहेकी छु अनवरत ।

अचानक होइन । यसका लागि मैले हजार हन्डर तथा ठक्कर खाएकी छु । हाँसोको पात्र बन्नुपर्यो । आँसुको सारथि पनि बन्नुपर्यो । जसको कुनै हिसाब छैन ।

००००

सिन्धुली जिल्ला कमलामाई नगरपालिकाको काउछे भन्ने ठाउँमा पर्छ मेरो घर । पहाडले घेरिएको सानो खोँच हो काउछे । प्रकृतिक सौन्दर्यको अनुपम नमुना । त्यहीँ जन्मिए–हुर्किएकाले पनि होला, आफ्नो ठाउँ आफूलाई राम्रो नलाग्ने कुरै भएन । गाउँकै स्थानीय स्कुल राविबासबाट एसएलसी उत्तीर्ण गरें । प्लस टुका लागि भिमानस्थित जनजागृति कलेजमा भर्ना भएँ । समयसँगै परीक्षा पनि सकियो । नतिजाको पर्खाइमा बसेकी थिएँ ।

शरद ऋतुको आगमनसँगै दसैंको चहलपहल सुरु भइसकेको थियो । ०६१ सालको दसैलाई स्वागत गरिँदै थियो । काक्तिकको ७ गते विजयादशमी परेको थियो । नेपालीहरूको विशेष पर्व दसैं । यसको आफ्नै विशेषता छ । कारणवश गाउँबाहिर भएकाहरू पनि दसैंको छेको पारेर घर आउने मौका पाउँथे ।

उनीहरूले बोकेको ठूलाठूला झोलाले पनि दसैं बोकिरहेझैं लाग्थ्यो । चङ्गा, लट्टाई र पिङका लट्ठाले पनि दसैं डाकिरहेका थिए । केटाकेटीलाई उस्तै रमाइलो थियो । म आफैंलाई पनि दसैंको रौनकले छपक्कै छोपेको थियो । माटाको घर । लिपपोत गरेर चिटिक्क पारेकी थिएँ । बाहिरतिर निस्कने खासै फुर्सद थिएन ।

नवमीको दिन शक्तिकी प्रतिमा दुर्गा मातालाई बोका बलि दिने प्रचलन रहिआएको छ । त्यो दिन विधिवत् रूपमा बोकाको बलि दिइयो । बुबा, दाइलगायत मासु तयार गर्न लागे । पकाउने जिम्मा मेरो भयो ।

त्यसो त खेल्ने कुद्ने कुरामा म बच्चैदेखि अगाडि थिएँ । त्यसैमाथि दसैंको बेला । पिङ खेल्न मलाई असाध्यै रुचि थियो । सानै छँदा दसैंमा अरू केही नभए पनि पिङ नभइ हुन्थेन । बुबाले बाबियोको डोरी बाटेर दलिनमा सानो पिङ बनाइदिनुहुन्थ्यो । ठूली भइसक्दा पिङको रहर बसिरह्यो । लिंगेपिङ खेल्न थालियो ।

नवमीको दिन कामैकामले हैरान भएकी थिएँ । अघिल्ला दिनहरूमा बाहिर ननिस्किए पनि त्यो दिन साँझपख डाँडातिर चढेर हावा खाने मन भयो । भाइबहिनीको साथ लिएर उकालो लागें ।

स्कुलको चौरमा पिङ बनाइएको थियो । म निकै राम्रो खेल्थें । धेरै माथिसम्म मच्चाउन मन लाग्थ्यो । हेर्नेहरूले आँखा ठूल्ठूला पार्थे । जो पायो उहीसँग दोहोरो खेल्दैनथे म । आफू होइन सँगै खेल्दा अरूचाहिँ खस्छन् कि भन्ने पीर लाग्थ्यो ।

पिङमा खासै कोही थिएनन् । पालो मेरै आयो । ससाना भाइबहिनी म–म भन्दै आएका थिए । तर मैले नै पिङ अग्लो छ, तिमीहरू बलियोसँग खेल्दैनौ, खस्छन् भनेर खेल्न दिइनँ । गाउँकै उमा बहिनी अलि ठूली थिइन् । उसैलाई बोलाएँ । हामी पिङमा बस्यौँ । मच्चाउँदा मच्चाउदै निकै माथि पुग्यौँ । दुवैको हातखुट्टा गलेर शिथिल भयो । अब सकिन्न भन्ने अवस्थामा मैले उभिएर हावाको मजा लिँदै केही राहत महसुर गरें ।

झमक्क साँझ परिसकेको थियो । हामी करिब दस मिटर उचाइसम्म मच्चिरहेका थियौं । अचानक मेरो हात फुस्कियो । खुट्टाले मात्रै भर दिएन । पिङ आफ्नै गतिमा थियो । म हावामा उड्दै भुइँमा खसे । पिङ चुँडियोजस्तो लागेको थियो तर होइन रहेछ ।

खस्दा खस्दै सोचे मेरो जीवनलीला सकियो । त्यसपछि त्यहाँका कुरा मलाई स्मरण नै छैन । पछि थाहा पाएँ, खसेपछि सबै अत्ताल्लिएछन् । के भयो कसो भयो भन्ने वरिपरि भएकालाई सामान्य कुरा थियो । कसैले पानी छम्किए । कसैले हाते पंखाले हावा लगाउने कोसिस गरे । कसैले अस्पताल लैजाऊ भने । यता म बेहोस भएर लडिरहेकी थिए । चरम पीडाले छट्पटाएर मैले केही बोलेको थिएँ । तर के बोलें याद भएन ।

रात परिसकेकाले के निर्णय गर्ने भन्ने उपस्थित कसैले सोच्न सकेनन् । यसरी राखेर हुँदैन, अस्पताल लानुपर्छ भन्ने कुरा भएछ । गाउँमा मोटरबाटो पुगिसकेको थिएन । स्टेचरमा राखेर भिमान ल्याएछन् । स्वास्थ्य चौकी त्यसैमाथि दसैंका बेला डाक्टरहरू कोही रहेनछन् । नर्सले दुखाइ कम गर्ने सुई लगाइदिइन् रे । त्यसपछि जनकपुर अञ्चल अस्पताल लगेछन् रातारात ।

कम्मरमा जोड परेर पिसाब बन्द भएको रहेछ । अञ्चल अस्पतालमा पिसाब जम्मा हुने थैली लगाइदिएको अलिअलि मात्र याद आउँछ अहिले । दसैं सकिएर पनि तीन दिन भयो । दुखाइ जस्ताको तस्तै छ । अस्पतालको भिड उस्तै थियो । डाक्टरहरू प्रायः बिदामा थिए । अस्पतालले नै त्यहाँ नसकिने, काठमाडौं लानुुपर्ने जानकारी गरायो ।

मलाई काठमाडौं लैजाने तयारी भएको रहेछ । तर भनेको समयमा प्लेन र एम्बुलेन्स दुवैको व्यवस्था हुन नसक्दा म त्यहीँ बस्नुपरेको थियो । तीन दिनको प्रयासमा बल्लतल्ल एम्बुलेन्सको व्यवस्था भयो र मलाई काठमाडाैं शिक्षण अस्पतालमा ल्याएर राखियो ।

शिक्षण अस्पतालमा पनि बेड पाइने अवस्था थिएन । चिनेकै एकजना डाक्टर भएकाले धेरै समस्या भएन । तीन घण्टापछि मैले ठाउँ पाएँ । ढाडको हड्डी भाँचिएर सुत्न पनि नसक्ने भएकी थिएँ ।

बिरामीको अवस्था जटिल देखेर उनीहरू आफैंमा मुखामुख गर्थे । त्यतिबेला मेरो उपचारमा डा. गोविन्द केसी पनि संलग्न थिए ।

मलाई पनि बर्बाद नै भएछ जस्तो लाग्थ्यो ।

नसाहरू धेरैजसो चुँडिइसकेका रहेछन् । ढाडको मुख्य नसा चुँडिएको भनेर रिपोर्ट प्रमाणित गरेका थिए । जुन निश्चित समयभित्र मात्रै जोड्न सकिन्थ्यो । हड्डीहरू जति ससाना टुक्रामा विभाजित भएको भए पनि जोड्न सकिने तर नसाको सवालमा असम्भवप्रायः हुने कुरा तब मात्र मैले थाहा पाएँ ।

मलाई कताकता लागिरहेको थियो म अब पहिलाको अवस्थामा फर्कन सक्दिन । तैपनि आशा मारेकी थिइनँ । दसैंको माहोल निख्रिएको थिएन । तिहारको रमझम सुरु भइहाल्यो । आफन्त अरू भेट्न आइरहन्थे । मेरा लागि दसैं र तिहार दुवै फिका थियो । मेरो मात्र होइन, परिवारकै स्थिति त्यस्तै थियो । परिवारमा कसैले पनि त्यसयताका धेरै चाडपर्व खुसीले मनाउन पाएनन् ।

अस्पतालमा बस्दा मलाई हरेक कुरामा सहयोगीको आवश्यकता पर्न थाल्यो । त्यतिबेला म धेरै रोएँ । के खानु, कोसँग के भनेर बोल्नु आफंैलाई थाहा थिएन । त्यसैले कसैसँग बोलिनँ । प्रायः झोक्राएर आफ्नै सुरमा बस्ने भएकी थिएँ ।

शल्यक्रिया गर्दा सुधार नहुने कुरा डाक्टरहरूलाई थाहा थियो । उनीहरूले आमा र आफन्तलाई जानकारी गराइसकेका रहेछन् । डाक्टरले भनेछन्, ‘अब सोनिकाको जीवन ह्विलचियरमा नै बित्नेछ । उसलाई पहिलेकोे अवस्थामा फर्काउन सकिँदैन ।’

आमालाई यो कुराले निकै पीडा दियो । आफन्त पनि चिन्तित भए ।

हड्डीलाई मात्र जोड्ने कोसिस गरे डाक्टरले । अस्पतालमा बस्दाबस्दै बेड सोल भएको थियो । त्यसले पनि निकै समय दुःख दियो । हड्डी बिस्तारै जोडिँदै गयो ।

विस्तारै कम्मरसम्मको भाग त चलाउन सकें तर खुट्टातिरको भने हल्लाउनै सकिनँ । त्यसभन्दा पहिले कहिल्यै स्पाइनल कड इन्जुरीको बारेमा सुनेकै थिइनँ । त्यसैले पनि आफूलाई भएको समस्या अन्दाज गर्न मलाई गाह्रो भयो ।

सुरुमा मलाई पुनःस्थापना केन्द्रमा गएर नियमित अभ्यास गरेपछि मात्रै हिँड्न सकिन्छ भनियो । अस्पतालका डाक्टरहरूले नै सिफारिस गरेका थिए । त्यसैले होलाजस्तो पनि लागेको थियो ।

तीन महिनाको अस्पताल बसाइ सकेर ह्विलचियरको सहारामा पुनःस्थापना केन्द्रसम्म आएँ । माघको पहिलो हप्ताबाट म पुनःस्थापना केन्द्रमा बस्न थालेकी थिएँ । बसेको दुई हप्तासम्म पनि मलाई अरूसँग घुलमिल हुन गाह्रो भइरहेको थियो ।

बस्दै जाँदा त्यहाँका अरू ह्विलचियर प्रयोगकर्ताहरूसँग सामीप्य बढ्दै गयो । अरूको अनुभव पनि सुन्दै गएँ । दिन–प्रतिदिन म खुल्दै जान थालें । आफ्नो काम आफैं कसरी गर्न सकिन्छ भनेर प्रयास गर्दै गएँ ।

दुई महिनाको बसाइपछि ममा अतुलनीय परिवर्तन आयो । आफूमा भएको समस्या, समस्यासँगको जुधाइ आगामी दिनमा गर्नुपर्ने संघर्ष आदिका बाारेमा राम्ररी बुझें ।

मैले काम गर्नुपर्छ आफ्ना लागि आफंैले केही न केही व्यवस्था मिलाउनुपर्छ भन्ने चेतना आइसकेको थियो । म त्यतिबेला प्लस टु पास भइसकेको थिएँ । तीन महिना पुनःस्थापना केन्द्रमा बसेर म सिन्धुली फर्किएँ ।

समयले गति लियो ।

मध्य असारको दिन । पुनःस्थापना केन्द्रबाट पठाइएको चिठी मेरो हातमा पर्यो । परामर्शदाताको पदमा जागिर खानका निम्ति खबर पठाइएको रहेछ ।

त्यतिबेला आफैंलाई निकै खुसी लाग्यो । आखिर अपांगता भए पनि मभित्र पनि केही न केही क्षमता त पक्कै रहेछ भन्ने बोध भयो । पहिले नै अपांगता र त्यसका विभिन्न आयामका बारेमा बुझिसकेकी थिएँ । केन्द्रमा गएर दुई हप्ता परामर्शसम्बन्धी तालिम लिए ।

अपांगता भएपछि कसरी सामान्य अवस्थामा फर्कने भन्नेबारेमा राम्रो ज्ञान हासिल गरें । जसले गर्दा पेसाप्रति मर्यादित र जिम्मेवार भएर लाग्न सफल भएँ । सिकाइरहँदा आफूलाई पनि धेरै कुरा जान्ने–बुझ्ने मौका मिल्यो । आफू अझ संयमित भएर काममा लाग्न थालें ।

आफंैले पनि विभिन्न खेलहरूप्रति रुचि बढाउँदै गएँ । औपचारीक र अनौपचारिक कार्यक्रममा आफ्ना कुरा राख्दै र उनीहरूका कुरा सुन्दै जान थालें । केन्द्रमा कार्यरत रहँदा पोल्यान्डका नागरिक टोमाजसँग भेट भयो । उनको खुट्टा मात्र होइन, हात पनि राम्रोसँग काम गर्ने अवस्थामा थिएन ।

त्यसका बाबजुद पनि टोमाज बास्केटबल, क्रिकेट, टेबलटेनिस, पौडीजस्ता क्रियाकलापमा सधैं अग्रसर हुन्थे । उनी अदम्य सहास र आत्मविश्वासले भरिएका थिए । उनको काम र साहसका अगाडी मैले आफूलाई उनीभन्दा धेरै क्षमतावान् महसुस गरें । मैले उनीसँग एकहप्ते पौडी र बास्केटवल तालिम पनि सिकें । त्यसपछि संस्थागत रूपमा खेल्ने योजना बनाएर अगाडि बढेँ ।

खेललाई पनि सँगै लिएर जाँदा मनमा उत्साह थपिँदै गयो । मानसिक रूपमा ऊर्जा प्राप्त भयो । म अपांगता भएको व्यक्ति हुँ भन्ने नै भुल्दै गएँ । खेलले नै मलाई चीनको गोन्जाओ र दक्षिण कोरियासम्म पुर्यायो ।

अनेक समस्यासँग जुध्नु परे पनि आफूजस्तै व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा आफ्नो जीवन सार्थक भएको महसुस हुन्छ ।

आममानिसले अपांगता भएका व्यक्तिलाई जे–जसरी बुझे पनि अपांगता भौतिक संरचनाका कारण मात्र असहज भएको हो । अव्यावहारिक भएको हो । अन्यथा हामी सांगले भन्दा उत्कृष्ट काम गर्न सक्छौँ । अपांगता भएकाले पनि यस्तो गर्न सक्छन् र भनेर पनि बीचमा नजोडौँ । मलगायत अरू अपांगता भएका व्यक्तिमा आफ्नै क्षमता हुन्छन् ।

हामीले गरेको उदाहरणीय कार्यलाई अचम्म मान्नु पर्दैन । पाठ सिके हुन्छ । आफ्नो कर्तव्य र दायित्वबोध गरेर सँगै हातेमालो गरे पुग्छ ।

 

(फरक धारका लागि समिक्षा अधिकारीले गरेकाे कुराकानीमा अाधारित )

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार