संविधानको रक्षा गर्न नेपाली कांग्रेसको विरोध प्रदर्शन

फरक धार

१५ साउन २०७५, मंगलवार

विराटनगर – नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न कांग्रेसले मंगलबार विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनिक अंगमा हस्तक्षेप गरेको आरोपसमेत लगाए । उनले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख र उपसभामुख अलग–अलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्थामा भएकामा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको धारणा व्यक्त गरे ।

वर्तमान कामु प्रधानन्यायाधीशले ३० वर्ष न्याय क्षेत्रमा काम गर्दा उनको शैक्षिक प्रमाणपत्र छानबिन नहुने, तर अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको बताउँदै गच्छादारले कसैबाट पनि स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप हुन नहुने बताए ।

एक फरक प्रसंगमा नेता गच्छदारले आगामी महासमिति बैठक अगाडि मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र कांग्रेसबीच केन्द्रदेखि वडासम्म नेता र कार्यकर्ताको समायोजन हुने बताए ।

उनले यस सम्बन्धमा सोमबार नै कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच सहमति कायम भएको जानकारी दिए ।

यसैबीच, संसदीय सुनवाइ विशेष समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिस गर्न बसेकोे विशेष समितिको बैठक सहमतिको आधारमा नै सारिएको बताए।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा ठोस निर्णय लिनका लागि सबै सदस्यको सहमतिका आधारमा बैठकको मिति सारिएको स्पष्ट पारे । सदस्य कार्कीले आगामी बैठकमा हुने छलफलबाट नै सार्थक निष्कर्ष लिने विश्वास व्यक्त गरे ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार