ढुंगाले मुहार फेर्यो तर जीवनको आकार फेरिएन

पुष्पराज चाैलागार्इं

१५ साउन २०७५, मंगलवार

ढुंगाका मसिना कण उछिट्टिएर कहिलेकाहीँ आँखामा पर्ने र कहिले छिना र घनले हातको औँला च्याप्ने गरेको उनको गुनासो छ । ‘यही चोटले हामीलाई केही कुरा सिकाएको छ,’ उनले भने, ‘पहिले औँलामा बढी चोट लाग्थ्यो, अहिले ढुंगालाई बढी चोट लाग्छ ।’

चाबहिल चोकबाट चक्रपथतर्फको व्यस्त सडक, मानिसको ओहोर–दोहोर बाक्लै देखिन्थ्यो । सबै आ–आफ्नै धुनमा थिए । गोपिकृष्ण हल नपुग्दैको सडक किनारामा बसेका केही मानिसको पनि आफ्नै व्यस्तता छ । जो बिहानदेखि बेलुकासम्म ढुंगा खोपेर गुजारा चलाउँछन् ।
मध्याह्नको समय, घाम अत्यन्तै चर्को लागिरहेको छ । सडक किनारामा सिलौटो खोप्ने काम गर्दै थिए, बिरु पथरकट्टा ।

कडा चट्टानलाई छिनोको सहारामा हम्मरले खोपेर भनेजस्तो आकार दिनु सजिलो काम पक्कै पनि होइन ।

उनको वरिपरि सातवटा सिलौटा, पाँचवटा खल र केही लोहोरो सजाएर राखिएका छन् । बिहानदेखि साँझ नपरुन्जेलसम्म ढुंगालाई छिनोले खोप्नु उनको दैनिकी हो ।

बिरुसँगै वरपरका केही मानिस पनि सिलौटो र खल खोपिरहेका थिए । छिनोको धारले खल र सिलौटामा धर्सा कोरिरहेका थिए । या भनौँ, तिनमा आकार भरिरहेका थिए ।

यही सडक किनारामा निरन्तर रूपमा ४ वर्षदेखि धेरै वर्षात् र चर्को घाम खेप्दै आएका छन्, बिरु । उनी भन्छन्, ‘अहिलेसम्म यही ढुंगा कुँदेर आफ्नो जीवन चलाइरहेको छु ।’

भारतको नौतनवा घर भएका बिरुले पच्चीस हिउँद खेपिसके । गाउँघरमा जीवन चलाउन कठिन भएपछि काम खोज्दै काकाको साथमा उनी काठमाडौँ भित्रिएका थिए ।

घरमा खेतीपाती नभएकै कारण पनि जीवन चलाउन धेरै कठिन रहेको उनी बताउँछन् । घर–परिवारका अन्य सदस्य पनि भारतमै सिलौटो बनाउने काम गर्दै आएका छन् । तर, त्यहाँ राम्रो बजार नभएका कारण नेपाल आएर दुःख गर्नुपरेको उनको भनाइ छ ।

श्रीमती, तीन बालबच्चा र बाबुआमासहित सातजनाको परिवार यही पेसाबाट पालिइरहेका छन् । बुढाबुढी भए पनि बिरुका बा–आमा पनि यही पेसालाई निरन्तरता दिँदै आएका छन् । बजारमा सिलौटो, जाँतो व्यवसायको विस्तार नभएकाले उनीहरू सबै गाउँ–गाउँमा गएर सिलौटो, खल, जाँतो बेच्ने गर्छन् ।

करिब ४ वर्षदेखि उनी धुँवा, धुलो, रात, दिन नभनी दुःखका साथ जीवन व्यतीत गरिरहेका छन् ।

सानैदेखि ढुंगा खेलाएर हुर्किएका बिरु आज पनि ढुंगा खोपेर घरबार धानिरहेका छन् । ढुंगा खोप्दै गरेका उनी भन्छन्, ‘पुख्र्यौली काम यही हो, गर्नैपर्योे ।

मानिसका लागि मसला, खुर्सानी पिस्ने सिलौटोले उनीहरूको परिकार स्वादिष्ट बनाए पनि आफ्नो जीवन भने खल्लो नै रहेको बताउँछन्, बिरु ।
जो–कोहीले पनि यस्तो काम गर्न सक्दैन । यो दुःखको काम हो, जस्तो पायो त्यस्तै ढुंगाबाट सिलौटा बनाउन सकिँदैन, यसका लागि कडा चट्टान चाहिन्छ । त्यसलाई आकार दिनका लागि घनले ढुंगा फुटाउनुपर्ने हुन्छ ।

दर्सनढुंगा, मिजापुरी ढुंगा, दखनैया ढुंगा, उतरैया ठूलो ढुंगाजस्ता विभिन्न ढुंगाबाट सिलौटा बन्छन् । यही ढुंगालाई मूर्त रूप दिई केही पसलमा पनि बिक्री गर्छन्, बिरु ।

उनी भन्छन्, ‘अहिलेसम्म कति धेरै ढुंगा फुुटाएँ भनेर गनेको छैन । तर, आफ्नो पुख्र्यौली पेसा भएकाले यही काम गरेर हुर्केको हुँ ।’ उनका बुबा–आमा र श्रीमतीले यही काम गर्दै आएका छन् । घरमा कत्ति पनि खेतीपाती नभएका कारण आफूले यस्तो दुःख गर्नुपरेको बताउँछन् ।

भन्छन्, ‘कहिलेकाहीँ त लाग्छ, यो पेसा छोडिदिँऊ, तर घर परिवार पनि सम्झन्छु, मैले काम गर्न छाडेँ भने मेरो छोरा–छोरीको जीवन कसरी चल्छ ?’

ढुंगाका मसिना कण उछिट्टिएर कहिलेकाहीँ आँखामा पर्ने र कहिले छिना र घनले हातको औँला च्याप्ने गरेको उनको गुनासो छ । ‘यही चोटले हामीलाई केही कुरा सिकाएको छ,’ उनले भने ‘पहिले औँलामा बढी चोट लाग्थ्यो, अहिले ढुंगालाई बढी चोट लाग्छ ।’

बिरुसँगको कुराकानी गरिरहेका सुनिरहेका उनका सहकर्मी भन्छन्, ‘जति दुःख गरे पनि भनेजस्तो कमाइ हुँदैन, मात्र खान पुगेको छ ।’ यही सिलौटो बेचेर छोरा–छोरीलाई पढाउन थालेको र अहिले आफूसँग सम्पत्तिको नाममा छिनो र घन मात्र रहेको उनले बताए ।

‘दिनमा मुस्किलले दुई–तीनवटा सिलौटो बनाउन सकिन्छ । तर, अहिले सबैले यो पेसा गर्न लागेपछि मनपरी चलेको छ । जसलाई जति मन लाग्यो, त्यति नै मूल्यमा बेचिदिन्छन्,’ उनी भन्छन्, ‘एउटा सिलौटोको चार सयदेखि १२ सयसम्म पर्छ । तर, सबैले मनपरी रूपमा बेच्न थालेपछि कहिलेकाहीँ घाटा खाएर र नै बेच्नुपर्ने हुन्छ ।’ महिनामा १५ देखि २० हजारसम्म मुस्किलले कमाइने, तर त्यसले काठमाडौँमा जीवन चलाउन धेरै कठिन पर्ने उनले बताए ।

कसै–कसैले बिरुलाई पुरानै सिलौटो खोप्न लगाउँछन् । उनी पनि खोपिदिन्छन्, दुई–चार पैसाको मोहमा । भन्छन्, ‘सिलौटाको कामले जीवन धान्नै छाड्यो अब ।’ एउटा सानो कोठाको चार हजार तिर्दै आएको बिरु बताउँछन् । उनीहरू सिलौटो बनाउन आवश्यक पर्ने ढुंगा वीरगन्जबाट ल्याउने गर्छन् । यस्ता ढुंगा ठुल्ठूला खोलानालाबाट ल्याउनुपर्ने हुन्छ ।

‘ढुंगालाई आकार दिएर सिलौटो, जाँतो, ओखल बनाउँछौँ तर, हाम्रो जीवनमा आकार जस्ताको त्यस्तै रहेको छ,’ बिरु दुखेसो पोख्छन् ।

यसरी दुःख सहेर बनाएको सिलौटा व्यापारका लागि राख्दा बेला–बेलामा महानगपालिका दुःख दिएर भाग्नुपर्ने उनको गुनासो छ । सिलौटा व्यापारी बिरु पथरकट्टा भन्छन्, ‘महानगरपालिकाका कर्मचारीले कति छिना र घन खोसे, त्यसको लेखाजोखा उनीहरूसँगै छैन । यसरी महानगपालिकाले आफूसँग भएको सीपको हतियार नै खोसिदिएपछि के गरी खाने ?’ भन्छन्, ‘एकै ठाउँमा बसेर व्यापार गर्न नपाएपछि ग्राहकलाई कहाँ पाइन्छ भनेर थाहा हुन्छ ?’

सडकको किरानामा बसेर बेच्दा महानपालिकाले उनीहरूलाई धेरै दुःख दिइरहेको छ । कतै पसल राखेर बस्न पनि आर्थिक स्थिति छैन । श्रमको उचित मूल्य पाइयोस् भन्ने उनीहरूको आशय थियो ।

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार