प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे आज निर्णय हुने सम्भावना

फरक धार

१६ साउन २०७५, बुधबार

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे बुधबार टुंगो लाग्ने सम्भावना छ । सोमबार स्थगित भएको संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो साढे ३ बजे बस्दै छ । जोशीको संसदीय सुनुवाइ सकिएको ६ दिन बित्दासमेत समितिबाट निर्णय हुन सकेको छैन । सुनुवाइ सकेर अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बुधबार समितिको बैठक बस्न लागेको हो । समितिभित्र अन्याेल हुँदा पटकपटक बैठक सरेको थियो ।

शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण गर्नेलगायत विषयमा विवादित बनेका जोशीका विषयमा सत्तापक्ष र प्रतिपक्षबिच ध्रुवीकरण देखिन थालेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रस्तावमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले असहमति जनाएपछि समितिमा अन्याेल बढेको छ ।

सत्तापक्ष समितिबाट जोशीलाई अनुमोदन नगर्ने अडानमा छ भने कांग्रेसले अनुमोदन गरेर गाँठो फुकाउनुपर्ने बताउँदै आएको छ । जोशीबारे सार्वजनिक रूपमा सत्तापक्षका नेताहरूको अभिव्यक्ति नआएपनि मंगलबारको प्रदर्शनमा कांग्रेसका शीर्ष नेताहरुले खुलेर बोलेका छन् । बुधबार कांग्रेसले तनहुँमा गरेको प्रदर्शनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र विराटनगरमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले जोशीको नाम अनुमोदन गर्नुपर्ने बताएका थिए ।

जोशीको फरक फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाको उजुरीबारे समितिमा चित्तबुझ्दो जवाफ नदिएको र सोधेका धेरै प्रश्नकाे जवाफ नै नदिएएकाले अनुमोदन गर्न नहुने नेकपाका नेताहरुको भनाइ छ ।  तर कांग्रेसका नेताहरुले यी यावत् विवादित विषयमा जिल्ला, उच्च, सर्वोच्चसम्म आईपुग्दा किन छानबिन नगरेको भन्ने तर्क गरेका छन् ।

०७४ चैत्र १ गते गोपाल पराजुलीले उमेर हदका कारण राजीनामा दिएपछि जोशी सर्वोच्चको कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार