५९ सीमास्तम्भ पुनर्निर्माण

फरक धार

१६ साउन २०७५, बुधबार

तुलसीपुर- दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनर्निर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनर्निर्माणको काम सुरु गरेको हो ।

इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनर्निर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनर्निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

‘अब पाँचवटा सीमास्तम्भ पुनर्निर्माण गर्न बाँकी छ,’ उनले भने । नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनर्निर्माण गरिएको हो । नेपालले १४ वटा मुख्य तथा २१ वटा सहायक सीमास्तम्भ पुनर्निर्माण गरेको हो ।

‘नेपालले अब चारवटा मुख्य र एउटा सहायक सीमास्तम्भ पुनर्निर्माण गर्न बाँकी छ,’ सीमा सुरक्षाबल अर्जुनखोलाका सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले भने । भारतसीत जोडिएको दाङको ८३ किलोमिटर सीमामा ३७ मुख्यसहित ७७ सीमास्तम्भ रहेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार