बहकिने मन : एउटा ‘रिजेक्टेड’ कार्यक्रम (ब्लग )

महावीर विश्वकर्मा

२० फागुन २०७४, आइतबार

यतिबेला मेरो टेबलको घडीमा रातको ११ बजेर ६ मिनेट गएको छ । भर्खरै मेरो डेराको माथीतिर बाट एउटा हवाईजहाज पछाडी ठु…लो आवाज छाडेर आफु अगाडी उडि गयो । घडीले यति बजाइरहँदा यो शहरका कति जोडी आँखाहरु सपना देख्नमा मस्त होलान् । तर ठीक यति नै बेला केही सपनाहरुलाई खाँदेर उडि गएको छ हवाईजहाज, अलि परको देशमा ।

मलाई सानै देखी सपना देख्न खुब मनपथ्र्यो, नसुतीकनै देखिने वाला सपना । एक्लै बस्दा म प्राय एउटै सपना देख्न मन पराउँथेँ, सुनसान बाटोमा पैसाको मुठो भेटिएको । त्यसपछि, हामी नउठ्दै हाम्रो घरमा उधारो रासनको पैसा माग्न आउने साहुलाई तिरिदिन्थेँ । अनि बडो आनन्द लाग्थ्यो ।

म अहिले पनि सपना देख्छु । अहिले त झन् सपना देखेर यसै छाड्दिनँ, पछ्याउँछु÷पछ्याउँदैछु । यो पछ्याउँदै गरेको सपनाको विषयमा मौका मिले कुनै अर्को लेखाइमा कुरा उप्काउँला । अहिले चाहीँ मलाई अरु नै केही भन्नु छ ।

म कहिलेकाहीँ आफ्नो नाममा यसो घोरिन्छु । कतै पढेथेँ, मान्छेलाई सबैभन्दा प्रिय आफ्नै नाम हुन्छ रे । मलाई लाग्छ, नामको पनि तौल हुन्छ । र, यसको तौल निर्माणमा समयको लगानीले मात्रै पुग्दैन, संघर्ष र क्षमताको पनि उत्तिकै अपरिहार्यता पर्छ । नामको तौल कसरी मापन गर्ने भन्ने कुरा जटिल नै हो तर मापनको एउटा सजिलो उपाय चाहीँ नामको प्रभाव पनि होला कि ! नहुन पनि सक्छ । मलाई यहाँ विषय जोड्न सजिलो हुने भएर पनि मेरो मनमा यस्तो तर्क आएको हुनसक्छ । यसरी आएको तर्क ठीक हुन नसक्ने सम्भावना अत्यधिक नै हुन्छ ।

म कुरा घुमाई घुमाई आफ्नै नामको तौलको बारेमा केही भन्न खोज्दैथेँ । मेरो नामको तौलले जे जति ढकहरु उचाल्छ त्यसको प्रमुख कारण भनेको ‘बहकिने मन’ हो । मैले काठमाण्डौबाट ‘बहकिने मन’ रेडियो कार्यक्रम चलाउन थालेको पुग–नपुग ६ वर्ष भयो ।

कार्यक्रमको पहिलो श्रृंखला वि.सं. २०६९ साल जेठ १ गते सामुदायिक सूचना नेटवर्क (सि.आइ.एन.) मार्फत रेडियो जागरण बुटवलमा मात्रै प्रसारण भएको थियो । पछि हरेक हप्ता कार्यक्रम प्रसारण गर्ने रेडियोको संख्या बढ्दै गयो । आज ‘बहकिने मन’ थाहा सञ्चार नेटवर्क मार्फत १०० भन्दा बढी रेडियोहरुबाट एकैसाथ प्रसारण हुन्छ, सोमबार राती ९ः१८ बजे । यो मुलतः प्रेम विषयमा केन्द्रित कार्यक्रम हो । र, साहित्यको मुक्तक विधालाई यसले समेटेको छ । कार्यक्रम कति लोकप्रिय छ वा छैन भन्ने त म यकिन साथ भन्न सक्दिनँ । तर कार्यक्रम १०० भन्दा बढी रेडियोले निशुल्क बजाउनु, कार्यक्रमको फेसबुक पेजमा १ लाख ४३ हजार भन्दा बढी लाइक हुनु, साताको उत्कृष्ट ६ मुक्तकका लागि हरेक हप्ता लगभग ४०० जनाको सहभागिता हुनु आदिले पनि म अनुमान लगाउन चाहीँ सक्छु, नेपालमा अहिले प्रसारणमा रहेका रेडियो कार्यक्रमहरुमा यो पनि चाख दिएर सुनिने कार्यक्रम रहेछ ।

बीचमा कार्यक्रम बन्द हुने अवस्थामा पुग्दा केही रेडियोहरुमा पुगेर श्रोताले नै “कार्यक्रम जसरी पनि चल्नुपर्छ” भनेर आग्रह गरेको घटनाले पनि म यो कार्यक्रमको लोकप्रियता केही त अनुमान लगाउन सक्छु । कसैले बाईकमा नै ‘बहकिने मन’ लेखेको, मेरो मुक्तक लेखेको, कसैले गाडीमा बहकिने मन लेखेको फोटोहरु मलाई बेलाबखत प्राप्त हुन्छन् । औधी खुशी लाग्छ । अब त यस्तो लाग्न थालिसक्यो कि, कसैले कतै ‘बहकिने’ शब्द भन्यो भने त्यो मेरै नाम हो जस्तो लाग्छ ।

तर ‘बहकिने मन’ त्यही कार्यक्रम हो, जुन कार्यक्रमको कन्सेप्ट कुनै दिन ‘रिजेक्ट’ भएको थियो । यो २०६८ माघको कुरा हो । सपनाको उडान भर्ने जोश बोकेर म काठमाण्डौं झरेको थिएँ । उमेर २२ वर्ष । गोजीमा थोरै पैसा, मनमा धेरै आँट । काठमाण्डौं बाहिर राम्रो पकड रहेको रेडियो नेटवर्कबाट ‘बहकिने मन’ चलाउने धोको । सो नेटवर्कको कार्यक्रम संयोजकलाई ‘बहकिने मन’को कन्सेप्ट र डमी कार्यक्रम केही हप्ता अघि नै (काठमाण्डौ आउनु अघि) इमेल गरिसकेको थिएँ । रिप्लाई आएको थिएन ।

कार्यक्रमको प्रकृति अनुसार मलाई राती विविसि नेपाली सेवा पछिको समय चाहिएको थियो । एक हप्ता हरेक रात सो रेडियो सुनेँ । बेलुकाको कार्यक्रम तालिका थाहा भयो । अनि कार्यक्रम संयोजकलाई फोन गरेँ । ईमेल बारे सम्झाउँदै आफ्नो कुरा भनेँ । रेडियोमा समय खाली नभएको जवाफ पाएँ ।

“बिहिबार रातीको समय खाली रहेछ नि त, गीत मात्रै बज्दो रहेछ”, न उनीलाई समय खाली भएको थाहा नभएको हो कि भन्ठानेर जानकारी दिए झैँ गरि भनेँ ।

“त्यो समयमा गीत बजेकै ठीक छ, तपाईँको जस्तो कार्यक्रमको लागि चाहीँ समय छैन भनेको”, उनको अलि ठाडो जवाफ आयो । लगत्तै बिदा मागे । फोन राखे । मेरो ठुलो आशा गर्लम्मै ढल्यो । एक्कासी कान तातो भयो । उनले भनेको कुरा फेरी फेरी पनि कानैमा ठोक्किरह्यो, “तपाईँको जस्तो कार्यक्रमको लागि चाहीँ समय छैन भनेको” । समय नदिनु उनीहरुको कुरा तर “तपाईँको जस्तो कार्यक्रम” भनेर नखसालेको भए हुने भन्ने लागिरह्यो । किनकी ‘बहकिने मन’ मेरो असाध्यै प्रिय चिज थियो । असाध्यै । यति प्रिय थियो कि, म बरु आफ्नो अपमान सहिदिन्थेँ तर यसको अपमान सहन निक्कै कठिन भयो ।

त्यति नै बेला घरबाट आमाले फोन गर्नुभयो । हिजो विदेश उडेको भाई पुग्यो कि पुगेन भन्ने सोध्नलाई । “पुगेको भए त घरमै फोन गरिहाल्थ्यो नि” भन्दै झर्किदिएँ म । अनि ‘फोन ग¥यो भने भन्छु’ भन्दै फोन राखेँ । ‘भालुको रिस खन्यु माथी’ भने जस्तै भयो । फोन राखेपछि महसुस गरेँ, मैले आमासँग बेक्कारमा झर्किएँ । तर के गर्ने, त्यतिबेला मेरो हालत नै त्यस्तै थियो ।

“तपाईँको जस्तो कार्यक्रमको लागि चाहीँ समय छैन भनेको” भन्ने वाक्य ती दिनहरुमा मलाई घोच्न आइरहन्थे लगातार । अनि त झनै मलाई ‘बहकिने मन’ धेरैलाई सुनाउने हुटहुटी बढ्न थाल्यो । भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले भनेका रहेछन्, “सपने वो नहीँ होते जो रातको सोने पर आते है, सपने वो होते है जो रातो मे सोने नही देते” । ‘बहकिने मन’ त्यस्तै सपना भइदियो मेरो लागि, जसले धेरै रात अबेरसम्म निदाउनै दिँदैनथ्यो मलाई । “निन्द्रा नलागेपछि नै रहेछ मान्छेले कोल्टे फेर्ने” भन्ने तिनै रातहरुमा महसुस गरेँ मैलै । जगजीत सिंहले गाएको राणा सहरीको गजल खुब सुन्थेँ तिन ताका,

कोई दोस्त है, न रकीब है
तेरा शहर कितना अजीब है ।

त्यो सपना, त्यो छटपटी, त्यो आँट, अनि त्यो लगाव…सबैको गठजोडले मलाई घचेटिरह्यो अघि बढ्न । अन्ततः मित्र भोजराज विश्वकर्माको सल्लाह, रेडियो जागरण बुटवलका तत्कालीन स्टेशन म्यानेजर एवम् अकोराबका तत्कालीन उपाध्यक्ष शिवजी गायकको पहल र सामुदायिक सूचना नेटवर्क (सि.आइ.एन.) का संयोजक सोहम सुवेदीको निर्णयमा शुरु भयो ‘बहकिने मन’ । बहकिने मनको कन्सेप्ट श्रोताले रुचाउँछन् भन्नेमा म यति विश्वस्त थिएँ कि, सोहम सरलाई पनि विश्वास दिलाउन, भनेको थिएँ – “यदि कार्यक्रम शुरु भएको ३ महिनामा कार्यक्रम प्रसारण गर्ने रेडियोको संख्या ३० कटेन भने अर्को हप्ताबाट म आफै कार्यक्रम चलाउन आउँदिनँ” । तर ३ महिना पुग्न २ हप्ता बाँकी छँदैमा ३० भन्दा बढी रेडियोले कार्यक्रम बजाउन थालिसकेका थिए । अहिले त यो संख्या १०० नाघेको छ ।

आज ती पुराना दिनका केस्रा केस्रा सम्झिएँ मैले । यसरी विगत सम्झिनु पनि पर्छ मान्छेले । यसले व्यक्तिलाई ठीक बाटोमा हिँड्न घच्घच्याइरहन्छ पनि । म सानोमा पनि सपना देख्थेँ, सुनसान बाटोमा पैसाको मुठो भेटिएको सपना । तर म त्यो सपनाको पछि लागिनँ । ठुलो भएपछि चाहीँ सपना देखेपछि त्यसलाई पछ्याउन पनि थालेँ । ‘बहकिने मन’को आजको स्थान त्यसैको परिणाम हो भन्ने लाग्छ ।
म अचेल फेरी अर्को सपनाको पछि लाग्न थालेको छु । खैर, यो विषयमा कुनै अर्को दिन कुरा गरौँला ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार