निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङको संस्मरणः अधुरै रह्यो सपना मेरो…

फरक धार

१७ साउन २०७५, बिहीबार

शेरबहादुर तामाङ । एउटा भाषणमा होस नपुर्याउँदा कानुनमन्त्रीको पद गुमाएका तामाङलाई नेपाली राजनीतिमा सायद लामो समय सम्झिइएला । एमबिबिएस अध्ययन गर्न बंगलादेश जाने नेपाली छात्राहरुबारे अशोभनीय अभिव्यक्ति दिएपछि पार्टी नेतृत्वको दबाबमा तामाङले मन्त्री पदबाट राजिनामा दिए । उनले दिएको अभिव्यक्ति केही क्षणमै सामाजिक सन्जालमा भाइरल भयो र अधिकांशले उनको चर्को आलोचना गरे । नगरुन् पनि किन उनले दिएका अभिव्यक्ति क्षम्य थिएनन् ।

राजिनामा दिन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा तामाङले आँसु झारे । तर, उनको गल्तीलाई पनि त्यो आँसुले पुछ्न सकेन । अपवादमा केहीले उनले नैतिकताको आधारमा राजिनामा दिएको तर्क गरे ।

तामाङसँग फरकधारका संवाददाता रुपक चौलागाईंले भेटेका थिए । तामाङले त्यो भेटमा सम्झिएः

 

कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मैले आफूलाई कानुन बनाउन नै केन्द्रित गरेँ । मौलिक हक कार्यान्वयनको कानुन असोज ३ गतेभित्र लागु गर्नु पर्ने अवस्था छ । त्यसमा मैले निकै समय दिएँ । कानुनहरुको ड्राफ्ट पनि बनिसकेको छ । अहिले त्यो विधेयक संसदमा जाने प्रक्रियामा छ । असोज ३ गतेभित्र सम्भवत सबै विधेयक संसदले पारित पनि गर्नेछ ।

हामी संघीयतामा त गएका थियौँ तर हामीसँग प्रदेशका लागि आवश्यक सबै कानुनहरु बनिसकेका थिएनन् । मैले आफ्नो कार्यकालमा त्यसमा पनि फोकस गरेँ । हामीले १७ वटा कानुनसम्बन्धी विधेयक बनाएर प्रदेश र स्थानीय तहमा पठाएका थियौँ । त्यसैको आधारमा अहिले प्रदेश र स्थानीय तहले काम गरिरहेका छन् ।

हो, अहिले पनि प्रदेशको केन्द्रसँग ठूलो गुनासो छ । तर, त्यो प्राकृतिक स्रोतको बाँडफाँडमा हो । खासमा बजेटमा आफ्नो माग सम्बोधन नभएको गुनासो अधिकांशले गर्नु भएको छ । वास्तवमा भन्ने हो भने संघीय ढाँचामा त्यस्तो हुन्छ पनि । राज्यको कुल ग्राहस्थ उत्पादन कम छ, त्यसैले प्रदेशहरुमा केन्द्रीय बजेटमा धेरै रकम विनियोजन गरिएको छैन । यसले उहाँहरुलाई असन्तुष्ट बनाएको हुनुपर्छ । तर, मेरो मन्त्रालयले गर्नु पर्ने प्रदेश र स्थानीय तहका काम खासै केही बाँकी थिएनन् । हामीले क्रमशः काम गर्दै अगाडि बढिरहेका थियौँ । संघीय सरकारले नबनाई प्रदेश वा स्थानीय सरकारले बनाउन नमिल्ने कानुनहरु छन्, साझा अधिकारका सुचीहरु छन् । तीमाथि हामीले काम सुरु गरिसकेका थियौँ ।

पछिल्ला वर्षमा पूर्वाधार विकासमा हामी ढिला सुस्ती गरिरहेका छौँ भन्ने थियो । यो सबै सार्वजनिक खरिद ऐनमार्फत् अगाडि बढ्ने भएकाले सार्वजनिक खरिद ऐनमा पनि हामी सुधार गर्ने र पूर्वाधार विकासका काम फास्ट ट्«याकमा ल्याउने योजनामा हामी काम गरिरहेका थियौँ ।
मलाई पूर्णरुपमा विश्वास थियो, हामीले समृद्ध नेपालको अभियानमा सहयोग गर्न सक्ने छौँ । बलिया कानुन बनाउने मेरो मन थियो किनकि कानुन बलियो भएमात्रै देश विकास हुनसक्थ्यो ।

यसका लागि मलाई सबैको साथ पनि थियो । मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि काममा अवरोध वा असुविधाको महसुस गर्नु परेको थिएन ।

मेरो टिममा हुने साथीहरु सकारात्मक हुनुहुन्थ्यो । प्रधानमन्त्री, मन्त्रीपरिषद्का अन्य सदस्य, मन्त्रालयका कर्मचारी, स्वकीय तथा नीजि सचिवालय सबैले सहयोग गर्नुभएको थियो । मैले सबैको सल्लाहमा नै काम गरिरहेको थिएँ, त्यसैले पनि अगाडि बढिरहेको थिएँ ।

हो, त्यति बेला पनि बाहिर केही नकारात्मक टिप्पणीहरु आएका थिए । मैले जब पारदर्शीताको कुरा उठाउँथे तब केही व्यक्तिहरु निकै आत्तिनुहुन्थ्यो । अहिले मैले बुझिरहेको छु, त्यो खासमा उहाँहरुको समस्या रहेछ । उहाँहरु भ्रष्टाचारविरुद्ध लाग्नै सक्नुहुन्न । उहाँहरुलाई पारदर्शी नभए आफूले फाइदा लिन पाउने कुराले लोभ्याउँथ्यो होला । त्यसैले उहाँहरु मलाई असहज बनाउन खोज्नुहुन्थ्यो तर एउटा राम्रो टिमको साथ र सहयोग पाएकाले म विचलित भइनँ, म वरपर हुनुभएका सबैले मलाई राम्रो काम गर्न नै हौसला दिनुभयो ।

त्यही साथ र सहयोग अनि हिजोको इतिहासले म अझै पनि राजनीतिमा अनवरत रुपमा लागिरहनेछु । हिजो पनि म ग्राउन्ड लेभलबाट राजनीतिमा आएको मान्छे हुँ । अब पनि मलाई ग्राउन्डमा नै टेकेर जनताको काम गर्न मन छ, गरिरहनेछु ।

हुनसक्छ, मविरुद्ध केही मानिसहरु अहिले पनि लागिरहेका छन् । तर, म अनवरत रुपमा मेरो राजनीतिक यात्रामा लागिरहनेछु ।

यही विश्वासकै कारण मैले नैतिकताको आधारमा राजिनामा दिएको हुँ । पार्टीको नेतृत्वलाई मध्यनजर गर्दै मैले राजिनामा दिँदा म निश्चिन्त थिएँ– मैले नैतिकताले मन्त्री पद छोडेको हुँ । हो, एउटा आशयमा भनेको कुरा अर्को आशयमा हेरिँदा र गलत अर्थ लगाइँदा मलाई निकै नरमाइलो लाग्यो । फेरि के पनि हो भने मैले बोलेको कुराले कसैलाई चोट पुग्दा त्यसको जिम्मेवारी मैले नै लिनुपर्छ । त्यही जिम्मेवारी मैले लिएको हुँ । त्यही अनुसार मैले राजिनामा गरेको हुँ ।

खासमा सुरुमा मेरो कुरा बाहिर बङ्ग्याएर प्रचार गर्न थालेपछि मैले एउटा विज्ञप्ति निकालेको थिएँ । त्यसबाट मैले माफी पनि मागेको थिएँ । माफी मागिसकेकाले विषय सेलाएको थियो । तर, केही मान्छेहरुलाई लाग्यो– यो अझै जिम्मेवारीमा बस्यो भने भोलि हामीलाई अप्ठ्यारो पार्छ । उनीहरु गलत काम गरिरहेका थिए र आफूलाई अप्ठ्यारो पर्ने अनुमान गरेका थिए ।

तिनै व्यक्तिहरुले मेरो गलत प्रचार गरे । योजनाबद्ध रुपमा मलाई पछार्न थाले । यो मेरो अनुभूति हो, मैले गरेको महसुस हो । अनि मैले यी सब कुराहरु तन्काउनु भन्दा अन्त्य गर्नु ठिक हो भन्ने सोचेँ र राजिनामा दिएँ ।

मैले निकै ठूलो आक्षेप लगाएँ भन्ने कुराहरु बाहिर आए । मैले त्यसपछि बारम्बार त्यो भिडियो हेरेँ । त्यहाँ मैले एउटा प्रतिनिधिमुलक घटनाको कुरा गरेको थिएँ । मैले बोल्दा सुरुवातमै भनेको थिएँ– मैले सुनेको छु । त्यसको अर्थ यसमा मेरो कुरा होइन, मैले सुनेको कुरा छानबिनमा आउनु पर्छ भन्ने थियो । मैले नेपाली छोरीहरु विदेश पढ्न जाँदा सुरक्षित फर्किउन् भन्ने चाहेको थिएँ । मेरो त्यति बेलाको कामना यही थियो र अहिले पनि यही कामना छ ।

 

पूरा नभएका मेरा दुई सपना

कानुनमन्त्रीको जिम्मेवारी सम्हाली सकेपछि मैले केही सपना बनाएको थिएँ । हो, सबैका सपना पूरा हुन्छन् भन्ने नै छैन र सबै सपना पूरा हुनैपर्छ भन्ने छैन ।

तर, केही त्यस्ता सपना हुन्छन् जुन पूरा नहुँदा निकै नमीठो लाग्छ । तर, कानुनमन्त्री हुँदा मैले बनाएका सपना पूरा अबको नेतृत्वले पनि पक्कै गर्नेछ भन्नेमा विश्वस्त छु । किनकि कुनै सपना हुन्छन् जसलाई सामूहिक कार्यबाट पनि पूरा गर्न सकिन्छ ।

हो, मानुनमन्त्री हुँदा बनाएका दुई सपना पूरा गर्न नसकेकाले चाहिँ म दुखी भएको छु ।

एउटा, सम्पत्ति सार्वजनिकबारे कानुन बनाएर आफ्नै नेतृत्वमा पारित गर्ने सपना बनाएको थिएँ मैले । तर, यो पूरा हुन सकेन ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति सार्वजनिक गर्नु पर्ने कानुन बनाउन लागेको थिएँ म । यसले गर्दा भ्रष्टाचार न्युनिकरणमा ठूलो सहयोग पुग्नेमा म विश्वस्त छु । सरकारले भ्रष्टाचार शून्यको लक्ष्य लिएको छ र त्यसका लागि यो कानुन बनाउन पाएको भए सबैभन्दा ठूलो सहयोग हुन्थ्यो । यसबारे मन्त्रीपरिषद्मा छलफल पनि भइसकेको थियो । सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखदेखि लिएर सार्वजनिक पद धारण गर्ने सबैले सम्पत्ति सार्वजनिक गर्दा भ्रष्टाचार अन्त्य गर्न सहज हुने विश्वास मेरो थियो, अहिले पनि छ । यो विषय कानुन बनेर छिट्टै आउनेमा अझै पनि मलाई विश्वास छ ।

कानुनमन्त्री हुँदा मैले बनाएको अर्को सपना थियो– कानुनी सहायतासम्बन्धी कानुन । जो मान्छेहरु एकदमै पीडित छन् र न्याय पाउन न्यायको ढोकासम्म पनि पुग्न सकेका छैनन्, उनीहरुलाई सरकारले निःशुल्क कानुनी सहायता दिने एउटा कार्यक्रम मैले अगाडी बढाएको थिएँ । त्यसलाई पनि मैले पूरा गर्न पाइनँ । त्यसमा पनि दुखी छु ।

तर, यसको अर्थ के होइन भने मैले यसलाई अब चटक्कै छोडेँ । अब त झन् बाहिरबाट मैले यसका लागि काम गर्नेछु, र पूरा नभएका यी सपना पूरा गरेरै छाड्नेछु ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार