सभामुखको निर्वाचन २६ गते

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं/ प्रतिनिधिसभाले आगामी २६ गते शनिबार सभामुखको निर्वाचन गर्ने भएको छ । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका पाँच दलको आइतबार बसेको बैठकले सभामुख र राष्ट्रियसभा अध्यक्षको चुनावका साथै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका तय गरेको हो ।

२६ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुने तय भएको एमालेका सांसद भानुभक्त ढकालले जानकारी दिए । त्यसको भोलिपल्ट २७ गते प्रधानमन्त्रीको विश्वासको मत लिनेछन् भने ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन हुनेछ ।

यसअघि नै निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन २९ फागुनमा गर्ने मिति तय गरिसकेको छ । राष्ट्रपति निर्वाचनका लागि मनोनय दर्ता गर्नका लागि २३ फागुनको मिति तोकिएको छ । आयोगले संसद भवन बानेश्वरमा नै राष्ट्रपति निर्वाचन प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिसकेको छ । निर्वाचन अधिकृतमा पाटन उच्च अदालतका न्यायाधिश बालमुकुन्द दवाडीलाई तोकेको छ ।

संघीय संसदको पहिलो बैठक भोलि बोलाइएको छ । संघीय सांसदहरुले आइतबार सपथ लिँदैछन् । संघीय संसदको पहिलो बैठक बसेको १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

त्यसैगरी सरकार गठन भएको मितिले १ महिना भित्र संसदमा प्रधानमन्त्रीले विश्वासको लिइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सर्वदलीय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिलाई अन्तरिम रुप पनि दिएको छ । अन्तरिम कार्यविधि पहिलो बैठकलदे नै पारित गर्ने माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनता पार्टीनेपालले नेता महेन्द्र राय यादवको उमेर विवादमा परेका कारण प्रतिनिधिसभाका दोस्रो जेष्ठ सदस्य महन्थ ठाकुरलाई प्रतिनिधिसभाका सांसदहरुलाई सपथ गराउन उपयुक्त हुने सुझाव दिएको थियो ।

त्यसैगरी बैठकमा पार्टीका प्रतिनिधिसभाका सदस्य रेशमलाल चौधरीलाई सुरक्षित ढंगले सपथग्रहण र संसदको कारबाहीमा भाग लिने व्यवस्था गर्न पनि आग्रह गरेको नेता वृशेषचन्द्र लालले जानकारी दिए । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचन चौधरी टीकापुर घटनामा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार