मन्त्रालयको योजनाः यो वर्ष १२ लाख र पाँच वर्षपछि २५ लाख पर्यटक

फरक धार

१७ साउन २०७५, बिहीबार

काठमाडाैं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एकवर्षे र पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रममा चालू आर्थिक वर्ष २०७५/७६ मा १२ लाख पर्यटकले नेपालको भित्र्याउने बताइएको छ । यस्तै पाँच वर्षपछि २५ लाख पर्यटकले नेपालको भ्रमण गर्ने बताइएको छ ।

आगामी पाँच वर्षमा नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतले हुनेछ । तर, अहिले नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान जम्मा २ प्रतिशत रहेको छ ।

यस्तै, आगामी आर्थिक वर्षमा नेपालका सय प्रमुख पर्यटन गन्तव्य विकास गर्ने योजना पनि रहेको छ । मन्त्रालयले आगामी वर्षभित्रै गौतम बुद्ध विमानस्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा आउनेछ ।

यस्तै, पाँच वर्षमा भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउने योजना रहेको छ भने त्रिभुवन विमानस्थल पनि विस्तार र सुधार हुनेछ । त्यस्तै, आगामी पाँच वर्षमा नेपाल वायु सेवा निगमका १० ‘न्यारो बडी’ र ‘वाइड बडी’ले अन्तर्राष्ट्रिय उडान गर्ने पनि बताइएको छ ।

यस्तै, चालू आर्थिक वर्षमा भूकम्पले क्षतिग्रस्त सम्पदाहरूको ८० प्रतिशत पुनर्निर्माण गरिसक्ने योजना छ । र, तीन वर्षमा सबै क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गरिसक्ने योजना मन्त्रालयको रहेको छ ।

यसै वर्ष मन्त्रालयले लुम्बिनी केन्जोटांगेको योजना, पशुपतिको बृहत् गुरुयोजना, मुक्तिनाथ गुरुयोजना र जनकपुर गुरुयोजना पनि कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।

त्यसैगरी, पाँच वर्षमा भने नारायणहिटी संग्रहालयको गुरुयोजना पनि कार्यान्वयनमा आउने मन्त्रालयले जानकारी दिएको छ । पाँच वर्षमा राष्ट्रिय जातीय संग्रहालयलाई सांस्कृतिक संग्रहालयमा रूपान्तरण गर्ने मन्त्रालयको योजना छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार