एप्पल बन्यो एक खर्ब डलरको विश्वकै पहिलो कम्पनी

फरक धार

१८ साउन २०७५, शुक्रबार

एजेन्सी– विश्वप्रख्यात कम्पनी एप्पल विश्वकै सबभन्दा धेरै पुँजी भएको कम्पनी बनेको छ । एप्पलको कुल पुँजी १ खर्ब डलर पुगेको हो । सन् २००७ मा चीनको ईन्धन उत्पादक कम्पनी पेट्रोचाइना एक खर्ब डलरको कम्पनी बनेको थियो । तर एक दिनमै तल झरेको पेट्रोचाइना अहिले अलीबाबा भन्दा पनि तल छ ।

लोकप्रिय डिभाईस आई–फोनको निर्माता कम्पनी एप्पलको एक शेयरको मुल्य शुक्रबार बिहान २०७.०५ डलर पुगेको हो । त्यसो त विगत ७ बर्षदेखि एप्पल विश्वकै नम्बर १ कम्पनीका रुपमा छ ।

मंगलबारदेखि नै एप्पलको शेयरको मुल्य बढिरहेको थियो । जनवरीदेखि एप्पलको शेयर मुल्य १९ प्रतिशत र १२ महिनामा ३४ प्रतिशतले उकालो लागेको देखिन्छ । एप्पलले आफ्ना प्रतिस्पर्धी कम्पनी एमाजोन, माइक्रोसफ्ट र फेसबुकलाई पछि पार्दै कुल पूँजी ‘एक ट्रिलिएन डलर ‘ पुर्याउन सफल भयो ।

सन् २००७ मा एप्पलको आई–फोन बजारमा आएको थियो र त्यसपछि कम्पनीको शेयरमा ११०० प्रतिशतको बढोत्तरी देखिएको थियो । पछिल्लो बर्ष एप्पलको शेयरको मुल्य एक तिहाइँले बढेको थियो ।

त्यसो त कम्पनीको स्थापनाकालतर्फ फर्केर हेर्ने हो भने अझ रोचक हुन्छ । सन् १९८० मा स्थापित कम्पनीको शेयर मुल्य अहिलेसम्म ५० हजार प्रतिशतसम्म बढेको छ । एप्पलको सुरुवात सन् १९७६ मा यसका सह–संस्थापक स्टीभ जब्सले गरेका थिए ।

सुरुमा म्याक कम्प्युटरका लागि प्रख्यात एप्पलले पछि आई–फोन लञ्च गरेको थियो । सन् २००६ मा एप्पलका उत्पादनको बिक्रि २० अर्ब डलर र मुनाफा २ अर्ब डलर थियो ।

गत बर्ष एप्पलले २२९ अर्ब डलरको बिक्रिबाट करिब ४८ अर्ब डलर मुनाफा कमाएको थियो । सन् २०११ मा एप्पलका सह–संस्थापक स्टिभ जब्सको निधनपछि टीम कुकले कम्पनीको नेतृत्व गरिरहेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार