लिभिङ टुगेदर

गाेविन्द गिरी प्रेरणा

१९ साउन २०७५, शनिबार

कुमारले मोटर साइकल हुइँक्यायो । कृष्णाले त बानेश्वर चोक, मीनभवनतिर नै देखेकी थिई थकाली रेष्टुँरा । तर कुमारले मोटरसाइकल बानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबारबाट दरवारमार्गमा पुर्यायो । उसले खाने गरेको होटेल याक एण्ड यतिको विपरीत दिशातिर रहेछ । दरबार मार्गको त्यति सानो गल्ली र त्यहाँ थकाली खाना खान आउनेहरूको खचाखच दृश्य कृष्णाले कहिल्यै कल्पना गरेकी थिइन ।

‘भोक लाग्यो कि ?’ कुमारले मोटरसाइकल रोकेर कृष्णालाई सोध्यो ।

‘अलिअलि ।’ कृष्णाले भनी ।

‘थकाली किचेनमा जाऔँ न त ! लोकल कुखुराको मासु र ढिंडो खाऔँ ।’ कुमारले भन्यो ।

त्यसपछि कुमारले मोटर साइकल हुइँक्यायो । कृष्णाले त बानेश्वर चोक, मीनभवनतिर नै देखेकी थिई थकाली रेष्टुँरा । तर कुमारले मोटरसाइकल बानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबारबाट दरवारमार्गमा पुर्यायो । उसले खाने गरेको होटेल याक एण्ड यतिको विपरीत दिशातिर रहेछ । दरबार मार्गको त्यति सानो गल्ली र त्यहाँ थकाली खाना खान आउनेहरूको खचाखच दृश्य कृष्णाले कहिल्यै कल्पना गरेकी थिइन ।

खाना अर्डर गरेपछि कुमारले भन्यो– ‘तपाईंले चिटिक्क परेको सानो कोठा दुई हजारमा पाए हुने भन्नु भाको होइन ?’
‘हो । तर खोई यो काठमाडौँमा यो जुनीमा पाइएला जस्तो छैन ।’ यति भनेर कृष्णा हाँसी । तर यो हाँसो रमाइलो हाँसो नभएर पीडाको हाँसो थियो । वेदनाले भिजेको हाँसो थियो ।

खाना आयो र दुवैले खान थाले ।

‘मिठो छ हगि खाना ?’ कुमारले भन्यो ।

‘मीठो रहेछ । महङ्गो पनि त होला दरबारमार्गको ठाउँ पर्यो ।’ कृष्णाले भनी ।

कुमारले जवाफमा केही भनेन । खाना खाइसकेपछि उनीहरू बबरमहलको एउटा घरको डोरबेल बजाउन पुगे । एउटी अधबैँसे महिलाले ढोका खोली ।

‘म कुमार भट्टराई । शिवराज सापकोटाले पठाउनु भएको तपाईंकहाँ कोठा खाली छ भनेर ।’

‘हो कोठा त खाली छ । शिवराजले त एक्लो केटो भन्थ्यो त ।’

कुमारले त्यो महिलाको अनुहारमा पुलुक्क हेर्यो ।

‘मैले त एक्लो केटा छ भनेर पो हुन्छ भनेको ।’ त्यस महिलाले भनी ।

कुमारले थप इन्टरभ्यु दिन सकेन । त्यो आइमाईले ढोकाको संघारमा उभिएर कुमार र कृष्णालाई पालो पालो हेर्दै भनी, कोठा त खाली हो तर म भाडामा नदिने भएँ ।

हैन हामीहरू…कुमारले बोल्दा बोल्दै उसको बोली नटुङ्गिदै त्यो आइमाईले ढ्याम्म ढोका लगाई । उनीहरू ढोका बाहिरको बाहिरै भए । कुमार र कृष्णा एक अर्कालाई हेर्न थाले ।

के खालकी आइमाई होली यो ? कृष्णा पर्नुसम्म छक्क परी । त्यहाँबाट अर्काे ठाउँमा जान कुमारले मोटरसाइकल स्टार्ट गरिसकेको थियो र कृष्णा पछाडि बस्नै लागेकी थिई, उसले मोबाइलमा एसएमएस आएको सङ्केत पाई । मोबाइलमा हेरी, सोनुको सन्देश रहेछ– ‘दिदी एउटा खुसीको खबर छ छिटो आउनुहोस् ।’

कृष्णाले जवाफ पठाई– ‘आउँदैछु, आधा घन्टामा आइपुग्छु ।’

कृष्णाले भनी– ‘मलाई डेरा जानुपर्ने भो । बिहानकै ठाउँमा छोडिदिनुहुन्छ कि ?’

‘भैहाल्छ ।’ कुमारले भन्यो र कृष्णा उसको पछाडि बसी ।

बुद्धनगरको ओरालो लाग्ने ठाउँमा पुगेपछि कृष्णाले भनी– ‘हजुर मलाई यहीँ छाडिदिनुहोस् ।’

कुमारले मोटरसाइकल रोक्यो । कृष्णा ओर्लिई ।

‘भोलि एक दुई ठाउँमा अरु हेर्ने प्लान छ, कति बेला जान सक्नुहुन्छ एसएमएस गर्नु होला ।’ कुमारले यत्ति भन्यो र मोटरसाइकल हुइँक्यायो ।

त्यसपछि कृष्णाले डेरातिर पाइला लतार्न थाली ।

०००

कृष्णा कोठामा आइपुग्दा डेराको ढोका बन्द थियो । ढोका ढक्ढकाऊँ कि के गरौँ दोधारमा परी कृष्णा । सोनु र उसको ब्वाइफ्रेण्डको रमाइलोमा बाधा पुग्ला भन्ने सोच्दै थिई, ढोका उघ्रियो ।

‘दिदी आइपुग्नु भो होला भनेर अन्दाज गरेको कस्तो ठ्याक्कै मिलेको ।’ सोनुले हाँस्दै भनी ।

त्यसपछि सोनुले भनी– ‘दिदीलाई छिटो कोठा खोज्नुस् कि यो कोठा सकार्नुस् भन्नुपर्दा मलाई कस्तो ननिको लागेको थियो ।’

अनि के त भन्ने भावले कृष्णाले पुलुक्क सोनुको अनुहारमा हेरी ।

‘दिदी हामी एक हप्ताको लागि पोखरा जाने भयौँ । तपाईंले एक हप्तासम्म मज्जाले सोच्नु भए हुन्छ । कोठा खोज्न पनि समय भो नि ।’ सोनुले भनी ।

कृष्णाले आफैँसँग सोधी– ‘के यो साँच्चैको खुसीको खबर हो त ? दुःखको खबर पनि त होइन । समस्या केही पर सर्नु समाधान त होइन । तर अलिकति होलो हुनु त पक्कै हो । खुसी नै मान्दिए के भो र ?’

‘अनि कहिले जाने त ?’ कृष्णाले सोधी ।

‘अहिले जाने । ऊ आइपुग्ने बेला भो ।’ सोनुले भनी ।

‘लौ ऊ त बाहिर पो रहेछ । म चाहिँ यिनीहरू ढोकामा चुक्कुल लाएर बसेका भन्ठानेकी ।’ कृष्णाले आफैँसँग भनी ।
‘अनि यति साँझमा जाने त ?’ कृष्णाले भनी ।

‘आज कुरिनटार बास बस्ने गरी जान लागेको । भोलि पोखरा पुग्ने प्लान छ ।’ सोनुले भनी ।

‘लौ मोरा मोरी हो, मोज गर जिन्दगी ।’ कृष्णाले मनमनले भनी ।

केही बेरमै मोटरसाइकल आयो । सोनुले सानो हाते ब्याग काँधमा झुण्ड्याई र मोटरसाइकलमा बसी ।

एकछिनमै मोटरसाइकल, मोटरसाइकलको आवाज अनि उनीहरूको उपस्थितिको आभास सबै सबै बेपत्ता भयो । कृष्णा कोठाभित्र पसी अनि ओछ्यानमा धुम्धुम्ती बसी ।

एक हप्तापछि होस् वा अघि, डेरा त खोज्नै छ । यो डेराको कुरा सम्झने बित्तिकै उसलाई रिंगटा लाग्ला झैं भयो ।

०००

‘मैले माग्दै नमागी आफ्नो फोन नम्बर दिने कस्तो मान्छे होला ?’ कुमारको फोनमा एसएमएस आयो ।

‘नभेटेको, नदेखेको, परिचय नभएको मान्छेलाई मैले फोन नम्बर दिने गरेकै छैन, मेरो फोन नम्बर पाउने कुन भाग्यमानी होला ?’ कुमारले एसएमएसमा जवाफ फर्कायो ।

‘हा हा हा ।’ उताबाट एसएमएस आयो ।

कुमारले एसएमएसको साटो फोनै गर्यो ।

‘प्रिया बोल्दैछु ।’

प्रियाको यो आवाजसँगै एक हूल स्वास्नीमानिसहरू हलल्ल हाँसेको आवाज आयो ।

त्यसपछि टेलिफोन डिस्कनेक्ट भयो ।

कुमारले फेरि रिंग गर्यो, तर फोन उठेन ।

एकछिनपछि त्यही नम्बरबाट फोन आयो– ‘अघि बोल्ने प्रिया हो, म चाहिँ सुप्रिया ।’

फेरि एक हूल स्वास्नीमानिस हाँसेको आवाज आयो अनि डिस्कनेक्ट भयो ।

कुमारले रिंग गर्यो । तर, उठेन ।

कुमार कोठामा साथीहरूसँग भोड्का तान्दै थियो । तर भोड्काले भन्दा यो फोनले उसलाई झड्का हानेको थियो ।

‘ए भट्टे, एक हूल नै पट्याइस् कि क्या हो ?’ सुनिलले जिस्क्यायो । कुमार भट्टराई साथीमाझ भट्टे भएको थियो ।

‘चुप लाग् चापे ।’ सुनिल चापागाईंलाई कुमारले हप्कायो । सुनिल चापागाईं पनि चापे भएको थियो मित्र मण्डलीमा ।
खोँडे हाँसिरह्यो । हरि खड्का खोँडे नभए पनि खोँडे भनेर चिनिन्थ्यो ।

‘भट्टेले आज भोड्काको बोतलै ल्याएको त त्यसो पो भएर रछ त ।’ खोँडे बल्ल बोल्यो ।

उसको मोबाइलमा फेरि रिंग आयो– ‘हजुर मेरो नाम जुली हो । नबिर्सिनु होला है मेरो नाम ।’ फोनमा एउटा अर्काे स्त्री स्वर आयो । त्यसपछि पुनः पहिला झैं हलल्ल हाँसो सुनियो ।

‘लौ भट्टे तेरा मैयाँहरूको नाममा ग्याम्वे ।’ चापेले गिलास उठायो र तीनै जनाले ग्याम्वे गरे । बोतल रित्तियो ।

कुमारले एउटा हजारको नोट पर्सबाट निकालेर दिँदै भन्यो– ‘ए चापे एक बोतल अर्काे ल्या त । अनि दुई प्याकेट दालमोठ भुजिया पनि ले है ?’

खुट्टामा चप्पल घुसारेर सुनिल ढोकाबाहिर हुतिँदै निस्कियो ।

‘ए भट्टे प्रियालाई साँच्चै पट्याइस् कि क्याहो ?’ खोँडेले भन्यो ।

कुमार मख्ख परेर मन्द मन्द हाँसिरह्यो ।

‘देख्लाऊ मोराहरू मेरो पछि केटीहरू अब लाइन लाग्छन् ।’ कुमारले भन्न त खोजेको यही थियो तर ओठ खोलेन ।

अर्काे बोतल भोड्का रितिँदा र दालमोठ सकिँदा रातको एक बजिसकेको थियो ।

त्यस लगत्तै कोही खाटमा त कोही भुइँमा पल्टिए ।

०००

बिहान एघार बजे कुमार बिउँझियो । उठ्ने बित्तिकै उसले मोबाइल हेर्यो ।

एउटै नम्बरबाट सात मिस कल र तीनवटा एसएमएस आएको रहेछ । त्यो प्रियाको कल थियो । बाथरुमबाट फ्रेस भएर आएपछि उसले प्रियालाई फोन गर्यो ।

पहिलो रिंगमै प्रियाले फोन उठाई र भनी– ‘मलाई माफ गर्नुस् है । हिजो हामीले राम्रो व्यवहार गरेनौँ ।’

‘त्यो त मैले मेसेजमै देखिसकेँ । नयाँ के छ भन्नुस् ।’ कुमारले भन्यो ।

‘मेरो ड्याडी मम्मीले कति लायकको राम्रो केटो थियो, डेरा दिन पाए हुन्थ्यो भन्नु भाको छ ।’ प्रियाले भनी ।

‘अनि अरु नयाँ ?’ कुमारले फेरि भन्यो ।

‘म तपाईंलाई भेट्न चाहन्छु । भेटेरै माफी माग्न चाहन्छु ।’ प्रियाले भनी ।

‘म भेट्न त भेट्ने भएँ, तर यौटा सर्त छ ।’ कुमारले भन्यो ।

‘के होला ?’ प्रियाले सोधी ।

‘माफी साफी माग्न पाइन्न ।’ कुमारले भन्यो ।

यो सुन्नेबित्तिकै प्रिया मज्जाले हाँसी ।

‘भरे दरबारमार्गमा अन्नपूर्ण होटलको गेट अगाडि है, पाँच बजे ।’ कुमारले भन्यो र फोन राखिदियो ।

कुमारको आँखा अगाडि प्रियाको बेडरुमको गुलाबी तन्ना झल्झली आयो ।

चापे अझै गुँडुल्को परेर घुरिरहेको थियो । खोँडे चाहिँ लामो सास तानेर स्वाँस्वाँ गर्दै बाढी आएको खोला झैं सुसाइरहेको थियो ।
कुमार खुट्टामा चप्पल घुसारेर तामाङनी दिदीको पसलभित्र पस्यो । र, एक कप लेमन टी अर्डर गर्यो ।

कृतिः लिभिङ टुगेदर

लेखकः गाेविन्द गिरी प्रेरणा

मूल्यः ३२५

पृष्ठः २२०

प्रकाशकः बिएन पुस्तक संसार

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार