अमर गिरीकाे ‘पुनः नारायणहिटी’

मीनराज बसन्त

१९ साउन २०७५, शनिबार

काठमाडाैं/ कवि डा. अमर गिरी पैदल हिँड्न खुबै मन पराउँछन् ।

एकदिन लाजिम्पाटबाट उनी हिँड्दै हिँड्दै आइरहेका थिए । नारायणहिटीको पश्चिमी गेट अगाडि ठूलो भीड गतिशील थियो । भीडमा गएर उनका आँखा ठोकिए । बिस्तारै भीडका फरकफरक मान्छेहरूसँग पनि आँखा ठोकिँदै गए ।

कवि अमरले देखेको भीड कुनै जात्रा वा जादूको थिएन । थियो त भीड, पासपोर्ट बनाउनेहरूको थियो ।

‘पासपोर्ट त पढ्न वा घुम्न जानेले पनि बनाउनुपर्छ, बनाउँछन् । त्यो भीडमा पनि कति त्यस्ता मान्छे होलान्’ अमर सम्झन्छन्– ‘तर, उक्त भीडमा देखिएका अधिकांश युवा भने वैदेशिक रोजगार अन्तर्गत खाडी मुलुक जानका लागि पासपोर्ट बनाउनेहरू थिए । जो, उनीहरूलाई हेरेरै पनि भन्न सकिन्थ्यो ।’

त्यसो त अघिपछि पनि उनले यस्तो उराठ लाग्दो परिदृश्य नदेखेका होइनन् । तर, त्यतिबेलाको खास क्षणले भने उनलाई छोएछ ।

अमर भन्छन्– ‘हामीहरू परिवर्तनका लागि लड्यौं । ती युवाहरू, जो आज पासपोर्ट बनाउनका लागि लामबद्ध उभिइरहेका छन्, उनीहरू पनि लडे । हामीले राजतन्त्र फाल्यौँ । गणतन्त्र ल्यायौँ । तर, परिवर्तनपछि पनि आज त्यही नारायणहिटीको अगाडिपट्टि लामबद्ध भएर वैदेशिक रोजगारीका लागि विदेश जान पासपोर्ट लिनु परिराखेको छ ।’

६२/०६३ को आन्दोलनसँग स्वप्न गाँसिएको छ भन्छन्, अमर । उनका अनुसार, मान्छेले परिवर्तनको स्वप्न सँगालेर आन्दोलनमा आफूलाई सहभागी गराए । बलिदानी पनि दिए । नाराणहिटी गयो, राजा फालियो । तरपनि हाम्रा अप्ठ्यारा र हाम्रा समस्याको सही सम्बोधन भएन । समाधान गर्ने ठोस हिसाबले काम पनि हुन सकेन ।

‘जुन उद्देश्यसहित हामीले संघर्ष गर्यौं, परिवर्तन ल्यायौं । त्यसलाई हामीले गम्भीरतापूर्वक लिनै सकेनौं’ अमरको गुनासो छ– ‘परिवर्तनको जुन सपना हो, गणतन्त्र स्थापना भइसकेपछि मुलुक त्यही रुपले अगाडि बढ्न सकेन । हाम्रा दुःखहरू, हाम्रा समस्याहरू उस्तै रहे, फेरिएनन् ।’

खासमा परिवर्तन आइसकेपछि जनतालाई आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक परिवर्तनको अनुभूति गराउने दिशातिर राज्य जानुपर्थ्यो भन्ने लाग्छ उनलाई ।

‘नारायणहिटी राजतन्त्रको प्रतीक हो । त्यो त हामीले परिवर्तन ल्याउने भनेर फाल्यौँ’ अमरको बुझाइ छ– ‘आखिर, नारायणहिटी फालेर नै के भो ? नारायणहिटी संग्राहलयमा बदलिएरै पो के भो ? घुमिफिरि त फेरि नारायणहिटी नै रहेछ । त्यहीँ नै जानुपर्ने रहेछ ।’

अमरलाई त्यो स्थितिले संवेदनशील बनायो । जति परिवर्तन भयो वा आयो भनेपनि खासमा परिवर्तन त भएकै रहेनछ भन्ने उनले महसुस गरे । अनि त्यसैलाई आधार बनाएर कविता लेखे– ‘पुनः नारायणहिटी’ ।

गणतन्त्र आइसकेपछि र नारायणहिटी ‘संग्रहालय’ बनिसकेपछि लेखिएको यो कविता सिर्जनाको खास पृष्ठभूमि भनेको यही हो ।

 

पुनः नारायणहिटी

कुनै बेला
महेन्द्रको सालिक फोड्न
अगाडि बढेको समूहमा
म पनि सामेल थिएँ
गोली लागेर
ढलेका साथीहरूमाझ
संयोगले बचेको थिएँ म ।

नारायणहिटीको दक्षिण गेटभन्दा
पाँचसय मिटर परबाट
धेरैपटक थुकेको थिएँ मैले त्यतातिर
धेरै पटक हानेको थिएँ ढुंगा
धेरै पटक हात उठाएको थिएँ आकासतिर
र भनेको थिएँ– मुर्दाबाद ।

आज फेरिएको छ तस्बिर
संग्राहलयमा परिणत भएको छ नारायणहिटी
अब मैले नारा लगाउनु छैन
फर्किएर त्यतापट्टि
ढुंगा हान्नु छैन
र मुर्दाबाद भन्नु छैन
तर पनि
नारायणहिटीकै अगाडि छु म
पश्चिमतिर ओरालो झरिरहेछ सूर्य
म कुरिरहेछु पासपोर्ट
तीन महिनापछि
मलाई उड्नुछ अरबतिर
र ऊँट चराउन जानु छ
कुनै दूरवर्ती गाउँमा ।

लोकतन्त्रको घाममा
अरबको तातो सम्झँदै
र कोट्याउँदै
आफ्नो विगतलाई
यतिबेला
उभिएको छु म
नारायणहिटीको पश्चिमी गेटमा ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार