जवान कविता

सुदर्शन पौडेल

१९ साउन २०७५, शनिबार

हर दिन
बुढा बाउको चाउरिएको छाला
बगाउँछ गाउका खेतहरूमा
पसिनाका नौला थोपाहरू !

हर दिन
आमाका पुराना परेलाहरू,
नियाल्दै मूलबाटो चुहाइरहन्छन्
आँसुका नयाँ–नयाँ आयामहरू !

हर दिन
पात्रो नियाल्ने अधबैँसे छोरीलाई
गिज्याउँदै गिज्याउँदै जान्छन्
बिहेका नौला साइतहरू !

हर दिन
पुरानो तमसुक देखाएर
फलाकिरहन्छ साहु
नयाँ–नयाँ धम्कीहरू !

र हर दिन
सहरको पुरानो भट्टीभित्र
पिउँदै गरेको भेटिन्छ जवान छोरो
– बाउका पसिनाहरू
– आमाका आँसुहरू
– दिदीको जवानी
– साहुका चेतावनीहरू !

र छेउमै देखिन्छ
पुरानो रक्सीको बोतल

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार