नेपालद्वारा नेदरल्यान्डलार्इ २ सय १७ काे लक्ष्य

फरक धार

१८ साउन २०७५, शुक्रबार

काठमाडाैं/ नेदरल्यान्डमा चलिरहेको पहिलो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डस्लाई २ सय १७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकसहित २ सय १६ रन जोडेको थियो । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान खड्काले ६९ बलको सामना गर्दै २ छक्का र ६ चौकाको सहयोगमा ५१ रन बनाए । उनलाई नेदरल्यान्डस्का कप्तान पिटर सिलारले ३१ औं ओभरको अन्तिम बलमा आउट गरेका थिए ।

यस्तै आठौं नम्बरमा ब्याटिङ गर्न आएका कामीले ४६ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ६१ रन बनाएका थिए । यो कुनैपनि नेपाली खेलाडीले ओडिआईमा जोडेको उच्च स्कोर हो ।

ओपनर आएका उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा १३ रन बनाए भने अर्का ओपनर सुबास खकुरेलले ३३ बलमा ३ चौकासहित १९ रन जोडेर आउट भए ।

मध्यक्रममा आएका दिपेन्द्रसिंह ऐरीले कप्तान खड्कालाई केही सघाउने कोसिस गरेपनि १७ बलमा ३ चौकासहित १९ रन जोड्दा आउट भए ।

यस्तै नेपालका लागि अरिफ शेखले ४६ बलमा १६ र अनिल कुमार साहले ३ बलमा ४, रोहित कुमार पौडेलले ६ तथा बसन्त रेग्मीले १ र सन्दिप लामिछानेले ८ रन बनाए । यस्तै ललित भन्डारीले ४ रन बनाउँदै नटआउट रहे ।

नेपाललाई अल आउट गर्ने क्रममा नेदरल्यान्डस्का बलर फ्रेड क्लासनले ३ विकेट लिए । यस्तै कप्तान पिटर सिलार र मिचेल रिप्पोनले २–२ विकेट लिएका हुन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार