अफगानिस्तानमा अात्मघाती बम बिस्फाेट, २५ जनाकाे मृत्यु, ४० जना घाइते

फरक धार

१८ साउन २०७५, शुक्रबार

अफगानिस्तानको पक्तिआ प्रान्तमा एक सिया मस्जिदमा आत्मघाती बम बिस्फोट र गोलीबारी हुँदा २५ जनाको मृत्यु भएको छ भने ४० जना घाईते भएका छन् ।

पूर्वी प्रान्त पक्तिआको राजधानी गार्जेद शहरमा रहेको ख्वाजा हसन मस्जिदमा स्थानीय समयअनुसार दिउँसो २ बजेतिर आत्मघाति बिस्फोट भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

मस्जिदमा शुक्रबारको प्रार्थना चलिरहेका बेला भित्र पसेर एक आक्रमणकारीले आँफैमाथि बम बिस्फोट गराएको र अर्कोले अन्धाधुन्ध गोली चलाएको पक्तिआ प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।

सुन्नी मुसलमानको बाहुल्यता रहेको अफगानिस्तानमा सियामाथि आक्रमण हुँदै आएको छ ।

बिद्रोही समुह इस्लामिक स्टेट आइएसले सिया समुदायलाई निसाना बनाउँदै आएको छ । तर, यो घटनामा कसको हात छ भन्ने प्रष्ट भएको छैन ।

अफगानिस्तानमा लामो समयदेखि जारी साम्प्रदायिक हिंसाले मुलुकलाई इराकजस्तो बनाउँदै लगेको छ । त्यहाँ सियाको जनसंख्याबारे आधिकारिक तथ्यांक समेत छैन । तर हजारा र ताजिक जातीय समूहका फारसी भाषी १० देखि २० प्रतिशतको हाराहारीमा रहेको अनुमान छ ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानमा जारी हिंसामा २०१८ को पछिल्लो ६ महिनामा मात्रै १६ सय ९२ जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन् । यो सन् २००९ पछिकै ठूलो मानवीय क्षति भएको अलजजिराले लेखेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार