एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित, नेदरल्याण्ड्ससँगको श्रृंखला बराबरी

फरक धार

१९ साउन २०७५, शनिबार

काठमाडौं– नेपालले आफ्नो ऐतिहासिक पहिलो एकदिवसीय क्रिकेट श्रृंखला बराबरी गरेको छ । नेदरल्याण्ड्ससँग पहिलो खेल ५५ रनले हारेको नेपालले गएराति सकिएको दोस्रो खेलमा भने एक रनको रोमाञ्चक जित हात पार्यो ।

नेपालको यो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा पहिलो जित हो । २ सय १७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २ सय १५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दिप लामिछाने ३, ललित भण्डारीले २, सोमपाल कामी, कप्तान पारस खड्का, वसन्त रेगमी र दिपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल तयार पारेको थियो ।  नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रनको योगदान गरे भने कप्तान पारस खड्काले ५१ रन जोडे । जितसँगै २ खेलको श्रृंखला एक–एकको बराबरीमा सकिएको छ ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लीग डिभिजन-२ को उपविजेता बन्दै एकदिवसीय मान्यता पाएको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार