उत्तर कोरियाले अझै परमाणु कार्यक्रम रोकेन, विदेशमा हतियार बेच्ने प्रयत्न

फरक धार

१९ साउन २०७५, शनिबार

उत्तर कोरियाले अझै परमाणु र क्षेप्यास्त्र कार्यक्रम नरोकेको पाईएको छ । स्वतन्त्र विशेषज्ञहरूले राष्ट्रसंघीय सुरक्षा परिषद्मा पेस गरेको प्रतिवेदन अनुसार प्रतिबन्धको उल्लघंन गर्दै उत्तर कोरियाले अहिले पनि परमाणु कार्यक्रमलाइ अघि बढाइरहेको पाइएको हो ।

प्योङयाङले गैरकानुनी तरिकाले जहाजबाट पेट्रोलियम पदार्थ र कोइलाको स्थानान्तरण भारी मात्रामा बढाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन तयार पारेका विशेषज्ञले उत्तर कोरियामाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धको कार्यान्वयनको निगरानी गर्दै आएका छन् ।

प्रतिबन्धका बाबजुद उत्तर कोरियाले विदेशमा हतियार बेच्ने प्रयत्न गरिरहेको दाबी गरिएको छ । विदेशी मध्यस्थकर्ताको सहयोगमा उत्तर कोरियाले लिबिया, यमन, सुडानमा साना हतियार बेच्न कोसिस गरिरहेको प्रतिवेदनमा उल्लेख छ । तर उत्तर कोरियाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

गत हप्तामात्रै अमेरिकी अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखरवार्तामा गरेको प्रतिबद्धता विपरित उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल निर्माण गरिरहेको बताएका थिए । वासिंग्टन पोष्टसँग कुरा गर्दै एक अमेरिकी उच्च अधिकारीले उत्तर कोरियाले पहिले ब्यालेस्टिक मिसाइल बनाइएको स्थलमा अहिले पनि निरन्तर त्यस्ता गतिविधि देखिएको जासुसी उपग्रहले पत्ता लगाएको दाबी गरेका थिए ।

गएको जुन १२ मा सिंगापुरमा ट्रम्पसँग भएको शिखरवार्तामा उत्तर कोरियाली नेता किमले परमाणु निशस्त्रीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर, किमले प्रतिबद्धता कार्यान्यवन गर्नेमा अमेरिकीहरूले आशंका जनाउँदै आएका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार